प्रादेशिक अस्पतालमा उपचार अभावमा १६ वर्षीय किशोर राजु सदाको मृत्यु भएको घटनाको विषयमा छानविन गर्न अध्ययन विशेष समिति गठन भएको छ।
आइतबार प्रदेश २ को प्रदेशसभा बैठकले घटनाबारे छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरेको हो। प्रादेशिक अस्पतालमा सहज उपचार नपाएकै कारण सदाको मृत्यु भएको विषयमा समितिले अध्ययन गर्नेछ।
उक्त अध्ययन विशेष समितिमा प्रदेशसभा सदस्यहरु रविन्द्र बैठा, चमेलीदेवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य छन्।
सभामुखको निर्देशनमा आवश्यक्ता अनुसार विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्ने, अनुगमन वा निरीक्षण गर्न सक्ने, विभिन्न मन्त्रालय वा कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने र पदाधिकारीहरुसँग छलफल गर्न सक्ने समितिको कार्यविधि बनाइएको सभामुख सरोज यादवले बताए।
समितिले ५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ। गत जेठ २७ गते कोरोना लागेको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १६ वर्षीय राजु सदाको उपचार अभावमा असार ८ गते मृत्यु भएको थियो।
सदाको मृत्यु भएपछि उनका परिवारजनले अनुसन्धानको माग गर्दै आइरहेको छ। भारतबाट आएर हंसपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सदालाई प्रादेशिक अस्पतालमा जेठ २८ गते भर्ना गरिएको थियो। भारतको मदरासमा मजदुरी गर्दै आएका १६ वर्षीय किशोर राजु कोरोनाका कारण लकडाउन भएपछि स्वदेश फर्केका थिए।
यसअघि प्रदेश दुईको सरकारले घटनाको छानविन गर्नका लागि तीन सदस्यीय छानविन समिति गठन गरिसकेको छ।