मधेसी समुदायका एक महिला र पुरूष अनुहार। दुवै अनुहारको एक पाटो मात्र देखिएको छ। चम्किला ठूला आँखाले एक साथ भनिरहेका छन्- कोरोना भाइरसले त भेदभाव गर्दैन, तपाईंले किन गर्नुहुन्छ?
दुई मधेसी प्रतिनिधि आफूलाई समान व्यवहार गर्न भनिरहेका छन्। 'माया फैलाऔं' भन्दै यो चित्रले भेदभाव नगर्ने सन्देश दिन्छ।
पात्रको अनुहार बान्की, आँखा, रङ संयोजन हेर्दा, यो चित्र मिथिला शैलीमा बनेको अड्कल सहजै लाउन सकिन्छ। यसका विषय भने प्राचीन कलासँग मिल्दैन। यसको विशेषता नै परम्परागत शैलीमा आधुनिक समाजको समसामयिक सन्देश हुनु हो।
चित्रकार सपना सञ्जीवनी र पल्लवी पायलले बनाएका अरू चित्र पनि यस्तै छन्- पुरानो जगमा बनाइएका नयाँ घरजस्ता।
यी दुई कलाकारले आफ्नो चित्रमा देखाउने छवि र तिनको अर्थ पुराना मिथिला समूहको चलनभन्दा बेग्लै छन्।
जस्तो, एउटा चित्र छ मधेसी समुदायका समलिंगी महिलाको। यी महिला एकअर्कालाई चुम्बन गरिरहेका छन्। अर्को चित्रमा दुई समलिंगी पुरुष छन्।
अर्कोमा एक मधेसी महिला समलिंगी समूहको सांकेतिक झन्डा समाएर उभिएकी छन्। त्यसमा लेखिएको छ- मधेसका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा समर्पित।
गत महिना भएको 'प्राइड मन्थ' अवसरमा सपना र पल्लवीले मधेसका समलिंगी समूहलाई समर्पित गरेर यी चित्र बनाएका हुन्।
'अहिलेसम्म हामीले मिथिला कलामा मधेसी महिलाको घर-व्यवहारिक र धार्मिक चित्र मात्र देख्दै आएका छौं। तिनमा महिलालाई सारी र घुम्टो ओडाएर घरका चारकोठा भित्रको विषय देखाइन्छ,' पल्लवी भन्छिन्, 'बाहिरका मानिसले ती चित्र देखेर मधेसलाई त्यही घेरामा सीमित गरेका छन्। घरबाट निस्किएर हेर्ने हो भने थुप्रै कुरा छन्। ओझेलमा परेका कुरा फुकेकै छैनन्।'
उनीहरूले आफ्ना चित्रमा यस्तै पाटा उजागर गर्ने प्रयास गरेका छन्- कुनै चित्रमा महिला वाइन खाँदैछन्, कुनैमा पढिरहेका। कुनैमा निर्वस्त्र भएर महिनावारीबारे बोल्दैछन्, त कुनैमा आफ्नो शरीरको आकार जस्तो भए पनि स्वीकार्ने कुरा गरिरहेका छन्। अनि मधेसी महिला आफूले दिने भोटको क्षमता देखाउँदै पनि छिन्।
मिथिला कलामा यी विषय पहिले कहाँ देखिन्थे र!
मधेसको धर्म, संस्कृति र जीवनसँग जोडिएको मिथिला कलामा महिलालाई यी स्वरूपमा देखाउनु सपना र पल्लवीलाई सहज छैन। तर उनीहरूले परम्परागत चित्रमा क्रान्ति ल्याउने नयाँ कदम चालिसकेका छन्।
यही कदमको उदाहरण हो, सामाजिक सञ्चालमा रूचाइएका उनीहरूका चित्र।
'म मधेस समुदायमा हुर्केकी हुँ। तर आफ्नो जीवनशैली पुराना मिथिला चित्रका महिलासँग सम्बन्धित गर्न सक्दिनँ,' सपना भन्छिन्, 'त्यसैले हाम्रा चित्रशैली पुरानै भए पनि पात्रको जीवनशैली फरक छ। उनीहरूले गर्ने काम र विषय नयाँ छ। बदलिँदो समय र परिस्थिति अनुसार कलाले झल्काउने विषय पनि परिवर्तन हुनुपर्छ।'
सपना र पल्लवी दुई वर्षदेखि मिलेर मिथिला चित्र बनाइरहेका छन्। 'पायल एन्ड सपना पेन्ट्स' नाममा उनीहरूले इन्स्टाग्राम र फेसबुकमार्फत आफ्ना चित्र सार्वजनिक गरिरहेका छन्।
जनकपुरमा एक गैरनाफामूलक संस्थाका लागि अन्वेषकका रूपमा काम गर्ने क्रममा यी दुईको भेट भएको थियो। एकै समुदाय र संस्कृतिमा हुर्केका उनीहरूको कुरा मिल्थ्यो। आफूहरू दुवैमा मिथिला कलाप्रतिको चासो भएको पनि बुझे।
आफ्ना आमा र हजुरआमाले घरमा बनाउने चित्र हेरेर सिक्दै पुस्ता हस्तान्तरण हुने मिथिला कलाको प्रभाव सपना र पल्लवीमा बढी नै परेको थियो।
'मिथिला कला हेर्दा सहज देखिन्छ र बनाउन धेरै गाह्रो पनि हुँदैन,' पल्लवी भन्छिन्, 'आमाको सिको गर्दै हामी घरका भित्तामा चित्र कोर्थ्यौं। विस्तारै यो कला चित्र मात्र होइन, हाम्रो जीवनशैलीमै प्रभाव पार्न सक्ने माध्यम भनेर बुझ्न थाल्यौं।'
संस्थासँगको काम सकिएपछि यी दुईले मिथिला चित्रकलामा अझै ध्यान दिन थालेका हुन्। विस्तारै यसैमार्फत समाजमा जनचेतना फैलाउनुका साथै व्यवसाय गर्ने सोच रहेको बताउँछन्।
'मिथिला कला सबैले रुचाउँछन्, तर यसको राम्रो व्यावसायीकरण भएको छैन,' पल्लवीले भनिन्। उनका अनुसार मिथिला कलाको प्रभाव भारतमा पनि धेरै छ। त्यहाँ यसको राम्रो बजार छ।
'बिहारतिर महिलाले मिथिला चित्र व्यापार गरेर घर-जमिन किनिरहेका छन्,' उनीहरू भन्छन्, 'हामीले पनि त्यसैगरी समाजमा हराएका मधेसी महिलाको उत्थान गर्न सकिन्छ। फेरि चित्र भित्तामा टाँसेर राख्ने कुरा मात्र होइन, यसरी राख्दा यसको सन्देश अर्थहीन हुन्छ।'
मिथिला महिलाको दिनचर्या अवस्था झल्काउने यो कला जति सामान्य छ, यसको विषय उति गहन बनाउँदै जानुपर्ने उनीहरूको भनाइ छ। यो कलाले नयाँ पुस्तालाई सान्दर्भिक विषयमा सचेत बनाउनुपर्ने पनि उनीहरू बताउँछन्।
सपना र पल्लवी समाजका जल्दाबल्दा विषयमा चित्र कोर्छन्। यस्ता विषयमा धेरै मत हुन्छन्, यस्तै मत उनीहरूको चित्रमा पनि आउँछ। कसैलाई चित्रमा असन्तुष्टि भए उनीहरू उक्त विषयमा कला बनाउन जरूरी रहेको बुझाउने प्रयास गर्छन्। महिनावारी स्वास्थ्य, महिला अधिकार र समान नागरिकता बहस यस्तै विषयका चित्र हुन्।
एक चित्रमा निर्वस्त्र महिलाले एउटा हातमा प्याड, ट्याम्पन र महिनावारी कप बोकेकी छन् र अर्को हातमा फलफूल, औषधि, तातोपानी र वाइन। ती महिलाको योनीबाट रगत बगिरहेको छ र उनको प्रश्न छ, 'भन, म र मेरो रगत कहाँ जाने?'
यो सपनाले बनाएकी हुन्। यसमा कसरी व्यापारीले बजारमा आफ्नो फाइदाका लागि महिनावारी 'बिकाइरहेका' छन् भन्ने देखाउन खोजिएको छ।
'महिनावारीमा आफ्नो शरीरका लागि जे राम्रो हुन्छ, त्यही लगाउनुपर्छ। तर यहाँ बजारी चर्चाले महिलाहरूको सोच खलबलिसक्यो,' सपना भन्छिन्, 'प्याड, ट्याम्पन, महिनावारी कप वा कपडा लगाउने फरक-फरक सुझाव दिइन्छ, जसले गर्दा महिलाले आफ्नो स्वास्थ्यबारे आफैं निर्णय लिन सकिरहेका हुँदैनन्।'
कतिपय चित्र सपना र पल्लवी आफैंले देखे-भोगेका विषयमा छन्। अहिलेको नागरिकता बहसमा यी दुवै नजिकबाट जोडिएका छन्।
'मधेसी महिलालाई राज्यविहीनता स्वीकार छैन' एक मधेसी महिलाको चित्रमार्फत् उनीहरूले समान नागरिकता माग गरेका छन्। मधेसी समुदायमा नागरिकता बहस अन्य क्षेत्रभन्दा बढी संवेदनशील बन्ने यी दुईको भनाइ छ।
'विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गर्दा सात वर्ष नागरिकता नपाउने कुराले मधेसी महिलालाई ठूलो धक्का पार्छ। यतातिर बिहेवारी भारतसँग धेरै हुन्छ। हाम्रो आफ्नै परिवारमा पनि आधा सदस्य भारतका हुनुहुन्छ। हाम्री आमाले बिहे गरेको सात वर्षसम्म नागरिकता नपाएको भए, सायद हाम्रो पनि नागरिकता हुन्थेन होला,' उनीहरू भन्छन्।
त्यसैले उनीहरूले अहिले आफ्ना हरेक चित्रमा 'नागरिकता समानता' ट्याग राखेका छन्। यिनै चित्रबाट अरुले पनि आफ्नो समस्याबारे बोल्ने माध्यम पाएका छन्।
सपना र पल्लवी विषयहरूबारे आफ्ना साथीसंगीसँग छलफल गरेर मात्र चित्र बनाउँछन्।
'यस्ता विषयमा थुप्रै लेखिएको र आवाज उठेको छ। अझै पनि कतिपय समुदायसम्म पुगेको हुँदैन,' सपना भन्छिन्, 'कला यस्तो माध्यम हो जसबाट जुनसुकै विषय स्पस्ट बुझाउन सकिन्छ। मिथिला कला सामान्य हुने भएकाले बुझ्न गाह्रो हुँदैन। यसमार्फत सन्देश दिन सजिलो हुन्छ र पिछडिएका मधेसी महिलाको अधिकार खोज्न मिथिला कला राम्रो विकल्प हुनसक्छ।'
तस्बिर सौजन्यः पायल-सपना पेन्ट्स