गौर नगरपालिका-२ महादेवपट्टीका ५० वर्षीय नन्दकिशोर पासवान घर छोडेर जाँदै छन्। मनसुन नजिकियो। गौर हुँदै भारततर्फ बगेको लालबकैया नदीको बहाव बढ्दै छ।
घर छोडेर जानुअघि नन्दकिशोरको परिवार खाद्यान्नलगायत उपभोग्य सामग्री मिलाउन व्यस्त छन्।
झरी परेसँगै लालबकैया नदी बस्तिमा पस्ने छ। बस्ती डुबानमा पर्ने छ। उनका छोराले बनाएको पक्की घरले डुबानबाट जोगाउन सक्दैन।
रौतहटको गौर हुँदै भारततर्फ बगेको लालबकैया नदीले दशगजामा रहेको बाँध गत वर्ष भत्काइदियो।
बाँध पुनर्निर्माण गर्न नेपाल र भारतका स्थानीय अधिकारीले पटक-पटक छलफल गरे। भारत सहमत भएन। दशगजामा बाँध बनाउँदा भारततर्फ डुबान हुने भन्दै उनीहरूले बाँध पुनर्निर्माण गर्न असहमति जनाएको रौतहटका अधिकारीहरू बताउँछन्।
रौतहट प्रशासन, गौर नगरपालिकाका मेयर, सशस्त्र प्रहरी प्रमुखलगायतले भारतको नदी नियन्त्रण कार्यालय सिमरा सितामढीका डिएमलगायतको उपस्थितिमा छलफल भए पनि बाँध पुनर्निर्माण गर्न भारत पक्षले नमानेको बैठकमा सहभागी एक अधिकारीले बताए।
दशगजाको बाँध पुनर्निर्माण नहुँदा गौरको महादेवपट्टीका बासिन्दा डुबानको मार भोग्नु परेको छ। भारतीय पक्षले माटो भर्नसमेत नदिएको गौर-२ का वडाध्यक्ष राकेशकुमार झाले बताए।
बाँध हुँदा पानी थुनिने र महादेवपट्टीका बासिन्दा सुरक्षित हुने भए पनि अहिले नदीमा बाढी आउँदा सोझै बस्तीमा पस्ने गरेको उनले बताए।
जसका कारण स्थानीयले बसिरहेको घर छाडेर डुबान छल्न अन्यत्रै जानु पर्ने अवस्था आएको छ।
डुबानबाट जोगिन नरेन्द्रको परिवार घर छोडेर सुरक्षित ठाउँतिर जान लागेका हुन्। कहाँ जाने भन्ने अहिल्यै थाहा छैन। वडाअध्यक्षले सुरक्षित ठाउँ खोजिदिने भनेका छन्।
असार लागेसँगै हरेक साल नेपालमा मनसुनी वायु आउँछ। वर्षाले पोहोरभन्दा झन् कम क्षति होस् भन्ने सोचका साथ अहिल्यैदेखि तयारी थालेका हुन्।
परिवारमा रहेका छोरा–बुहारी, नाति–नातिनीलगायत गोठका गाईभैंसी पनि उनीहरूले लैजान्छन्। यसरी घरबाट निस्केपछि जाने ठाउँमा खाद्यान्न, लत्ताकपडाको खाँचो नहोस् भनेर लैजाने सरसमान अहिल्यैदेखि मिलाउन थालेका छन्।
'खानेकुरा छुट्यो भने त भोक–भोकै बस्नुपर्छ,' पासवानले भने, 'हामी त दुई-चार दिन धान्न सकौंला, नाति–नातिनीहरू त मान्दैनन् नि,' परिवारमा रहेका अढाइदेखि १० वर्षसम्मका ६ जना नाति–नातिनी छन्।
पोहोर साल घर छोड्नुअघि भन्दा यसपालि उनको परिवारलाई दु:ख छ।
नरेन्द्र र उनका छोरा डाँफे (टुकटुक, इरिक्सा) चलाएर गुजारा चलाउँछन्। उनीहरूको परिवारको आम्दानीको मुख्य स्रोत नै डाँफे हो। त्यसबाट उनीहरू दैनिक ४ हजारसम्म कमाउँथे। यसैले घर जेनतेन धानिएको थियो।
डाँफे चलाउन नपाएको पनि ३ महिना भइसक्यो । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भएको लकडाउनले उनीहरूले डाँफे चलाउन पाएनन्। आम्दानी पनि भएन।
गत वर्षसम्म डुबान छल्नलाई उनीहरुले डाँफेकै कमाइ जोगाएर राख्थे। यसपालि आम्दानी नै नभएपछि जोगाउने कुरा पनि भएन।
'लकडाउनमा डाँफे चलाउने कुरा भएन,' नरेन्द्रले भने, 'यसपालि साहुसँग ऋण लिन्छु, ज्यान जोगिएछ भने तिरौंला।'
महादेवपट्टीकै अर्का स्थानीय ४८ वर्षीय विन्देश्वर पासवानलाई नरेन्द्रलाई भन्दा धेरै डुबानको चिन्ता छ।
किनकी नरेन्द्रको घर पक्की छ, उनको कच्ची। नरेन्द्रले डुबानबाट सामान जोगाउन सक्छन्। तर विन्देश्वरको घरको छानासम्मै पानी पुग्ने उनले बताए।
विन्देश्वरको घर कच्चा इँटा, माटो र माथि खपडा राखेर बनाइएको छ। उनलाई बाढी अघि र पछि पनि समस्या पर्छ।
डुबानअघि विन्देश्वर छमेकीको घरमा शरण लिनुपर्छ। वर्षा सकिएर जब पानीको सतह घट्छ, त्यतिबेला घर पनि भत्किएको हुन्छ।
'भत्किएको घर एक–एक पाइ जोडेर बनाउँछु,' उनले भने, 'भएजति पैसा यसमै खर्च हुन्छ। अर्को साल फेरि डुबान हुन्छ।'
घर बनाउने लेबर काम गर्दै आएका विन्देश्वरको परिवारमा वृद्ध आमा, श्रीमती, ४ छोरा, २ जना नातिनातिनी गरी ९ जनाको परिवार छ। छोराहरू पनि उनीसँगै मजदुरी गर्छन्। लकडाउनयता मजदुरी गर्नसमेत नपाएको उनीहरूको भनाइ छ।
'यसपालि न पैसा छ, न त उपाय,' विन्देश्वरले भने, '३ महिना कोरोनाले खायो, अब बाढी र डुबानले खान्छ।'
महादेवपट्टीमा करिब ७५ घर दलित समुदायको छ। वर्षामा लालबकैया नदीको पानी सतह बढेर बस्तीमा पसेर ७-८ फिटसम्म पानी हुन्छ। यही कारण, उनीहरु बर्षेनी डुबानको समस्या भोरिहन बाध्य छन् ।
लालबकैया नदीले गत वर्ष नै भत्काएको बाँध अहिलेसम्म निर्माण भएको छैन। जसका कारण गौरको वडा नं. १, २ र ३ का बासिन्दाको जोखिम बढेको छ। बाँध निर्माण गर्न भारत असहमत भएपछि स्थानीय स्तरमा समुदायलाई सुरक्षित बनाउन गौर नगरपालिकाले विपद् समिति गठन गरेर तयारी थालेको गौर २ का वडा अध्यक्ष राकेशकुमार झाले बताए।
समितिले रौतहटको टिकुलियामा रहेको एउटा काठको डुङ्गा, नगरपालिकाको एउटा र रेडक्रसले उपलब्ध गराएको प्लाष्टिकका २ वटा गरी ४ वटा डुङ्गा उद्धारका लगि तयारीमा रखेको छ।
नगरपालिकाले पासवान टोलको छेउमै वडा कार्यालयको भवन निर्माण गरेको छ। यस्तै, गाउँको सामुदायिक भवन, स्वास्थ्य कार्यालयलगायत नवनिर्मित भवनहरुको छत ढलान छन्।
वडाध्यक्ष झाले त्यही ढलान छतमा डुबान पीडितलाई राख्ने तयारी गरेको बताए।
'भवनको ढलान छतमा केही समय बस्नलाई गाह्रो हुँदैन,' उनले भने, 'छतमा आकाशे पानीबाट जोगिन त्रिपाल र प्लाष्टिकको व्यवस्था गरेका छौं।'