युवा बाध्यताले सहर पस्ने समय थियो त्यो। गाउँघर रित्तिँदै थिए। माओवादीहरू बस्ती छिर्नुअघि नै तीर्थ तामाङले पनि जिरी, दोलखा छाडे। २०५९ सालमा काठमाडौं आउने बेला उनी जम्मा १५ वर्षका थिए।
पाँच कक्षा समेत पास नगरेका उनीसँग सीप के हुँदो हो! कामको सिलसिलामा थुप्रै ठाउँ चहारेपछि अन्ततः ज्यालादारी मजदुरी थाले।
झन्डै दुई वर्ष यसमै बिताए। बाध्यताले काठमाडौं आएर दुई छाक खान र बस्न आफूले निकै संघर्ष गर्नुपरेको तीर्थ बताउँछन्।
'खानै धौधौ पर्थ्यो। घर फर्कने वातावरण थिएन,' ३३ वर्षीय तीर्थले भने, 'जीवन कसरी सहज बनाउने नै मुख्य चुनौती थियो।'
एक समय यात्राविहीन जस्तै भएका तीर्थ अहिले अब्बल ट्रेकिङ गाइड बनिसकेका छन्। विगत एक दशकदेखि 'अब्बे इन्टरनेशनल टुर एन्ड एक्पिडिसन'सँग आबद्ध छन्।
उनको यो यात्रा रहरको होइन, अकस्मात मोडिएको हो।
काठमाडौंमा टिक्न के काम गर्ने भन्ने चिन्तामा भएका बेला उनलाई चिनजानका काकाले 'पोर्टर' काम गर्न सुझाएछन्।
'तिम्रो त ज्यान छ। बल छ भने भरिया काम गर्दा राम्रो कमाइ हुन्छ भन्नुभयो। हुन्छ भनेर काकालाई पछ्याएँ। पहिलो पटक झन्डै ४५ किलो भारीसँगै लाङटाङ पुगेको थिएँ,' उनी भन्छन्।
त्यतिबेला तीर्थ १७ वर्षका थिए। उनी सम्झन्छन्, 'सुरूसुरूमा गाह्रो हुन्थ्यो। कतिचोटि रोएँ पनि। दुःखै भए पनि काम पाइयो भनेर चित्त बुझाउन थालेँ।'
ट्रेकिङ भरिया भएपछि दुई-चार पैसा कमाएर जसोतसो एक्लो ज्यान धान्न सक्ने भए। यसका लागि बर्सेनि आउने दसैं-तिहार र अरू चाडपर्व माया नमारी हुन्थेन। भन्छन्, 'काम यही सिजनमा हुनाले कति वर्ष टीका नथापी बित्यो।'
झन्डै पाँच वर्ष भरिया काम गरेपछि उनी 'कुक हेल्पर' मा बढुवा भए। उनका अनुसार ट्रेकिङ क्षेत्रमा काम, योग्यता र तालिमका आधारमा बढुवा हुँदै जान्छ। कुक हेल्परले खाना पकाइ-तुल्याइको व्यवस्था सम्हाल्न कुकलाई सघाउँछन्।
उनी विभिन्न ट्रेकिङ रुट घुमे। प्रायः जर्मनी, नेदरल्याण्ड्स, फ्रान्सलगायत युरोपेली देशका पर्यटक टोलीमा हिँड्थे। २०६४ सालतिर नेदरल्याण्ड्सका ११ यात्रुसँग ट्रेकिङ गएका थिए। त्यसपछि उनको जीवनले नयाँ बाटो लियो।
'कुक हेल्पर भए पनि भारी उस्तै हुन्थ्यो। त्यो बेला एक जना विदेशीले माया देखाएर मलाई सहयोग गर्ने इच्छा देखाए,' त्यही समयबाट आफ्नो भाग्य केही फेरिएको महशुस गरेका उनी भन्छन्, 'उनले तिमीलाई के गर्न मन छ भन, म स्पोन्सर गरिदिन्छु भने।'
तीर्थ अंग्रेजी भाषा सिक्न चाहन्थे। नेदरल्याण्ड्सका पर्यटकको सहयोगमा बागबजारस्थित भाषा केन्द्रबाट ९ महिने अंग्रेजी कक्षा लिए। उनै विदेशीकै सहयोगमा तालिम पनि लिए र ट्रेकिङ गाइड बन्ने आफ्नो रहर पूरा गर्ने आधार बलियो बनाए।
'गाइड कोर्स' र 'क्लाइमेट कोर्स' लिपछि २०६५ सालतिर गाइड लाइसेन्सका लागि निवेदन दिए। तीर्थका अनुसार गाइड लाइसेन्स मान्छेको क्षमताका आधारमा पाइन्छ। 'ए' ग्रेड मा लाइसेन्स पाएपछि उनी २०६५ सालमा 'समिट टुर एन्ड ट्राभल'सँग जोडिए। २०६७ सालदेखि 'अब्बे'मा छन्।
तीर्थका अनुसार ट्रेकिङ यस्तो क्षेत्र हो, जहाँ मिहिनेत गरे राम्रो आम्दानी हुनुका साथै रमाइलो पनि छ। दुई-चार पैसा कमाउने आवश्यकताले रोजेको यो पेसाप्रति कुनै गुनासो नभएको बताउँछन्।
'ट्रेकिङमा लागेका सबैले प्राकृतिक सौन्दर्यमा रमाउन पाउँछन्। पर्यटक यही सुन्दरता हेर्न हजारौं खर्चन्छन्। हामीले जानेदेखि योसँगै कमाइ पनि गर्न सक्छौं,' उनी भन्छन्।
विदेशीहरू नयाँ ठाउँ पुग्दा खुसी हुन्छन्। सुरक्षित गन्तव्यमा पुर्याइदिएकामा पर्यटकले आभारी हुँदै अँगालो मार्छन् रे। उनीहरूको उत्साहले तीर्थलाई पनि खुसी बनाउँछ।
उनी वर्षमा औसत पाँचदेखि छ ट्रेक भ्याउँछन्। गाइडका रूपमा हिमाञ्चल प्रदेश, भारत र तिब्बत सिमानातिर पनि पुगेको बताउँछन्। त्यस्तै ६ हजार ६ सय मिटर उचाइसम्म उक्लेको अनुभव छ।
ट्रेकिङलाई धेरैले '६ महिना काम, ६ महिना आराम' बुझ्ने गरेकामा तीर्थ भन्छन्, 'जम्मा ६ महिना कामले परिवार धान्न मुश्किल पर्छ। मौसममा अनुभवी गाइड भारततिर जान्छौं।'
दैनिक हिसाबमा कमाइ गर्ने उनी २० देखि ३० डलरमा काम गर्छन्। नेपालबाट ट्रेकिङका लागि दुई मौसम निकै अनुकूल मानिन्छ- बसन्त र गृष्म। गृष्म अर्थात 'समर ट्रेक' ३ महिना (सेप्टेम्बर देखि नोभेम्बर) सम्म चल्छ। बसन्त अर्थात 'स्प्रिङ ट्रेक' मार्च र अप्रिलमा पर्छ।
यसपालि भ्रमण वर्ष पनि तोकिएकाले राम्रै कमाइ हुने आश थियो। तर कोरोना यही समयमा फैलिएकाले हाल तीर्थजस्ता धेरैको काम ठप्प छ। अवस्था सामान्य बन्ने संकेत नभएकाले आगामी सिजनमा पनि ट्रेकिङ नहुने चिन्ता उनलाई छ।
'अलिअलि बचाएको पैसा पनि सकिइसक्यो। हाम्रो काम डामाडोल भएको छ,' दुई छोरी र एक छोराका बुबा तीर्थ समस्या सुनाउँछन्, 'यस्तै भए काठमाडौंमा कोठा बहाल कसरी तिर्ने, छोराछोरीको स्कुल फी पनि नतिरी हुँदैन।'
लकडाउन सुरू हुनु एक दिनअघि मात्रै तीर्थ आफ्नो थातथलो जिरी पुगेका थिए। लकडाउनकै बहानामा लामो समय घरमा बिताउन पाए। झन्डै २० वर्षपछि महिनौं दिन घर-परिवारसँग बिताउन पाउँदा उनी खुसी छन्।
तर जीवन त यतिले चल्दैन। जति भए पनि कमाइ हुन्छ भनेर उनी दैनिक ज्यालादारी कृषि काममा खटिरहेका छन्। उनी र उनका बुवा सँगै हलो जोत्न थालेका उनी भन्छन्, 'काम हेरेर दिनको ४ सयदेखि ७ सय आउने रहेछ।'
तीर्थका अनुसार उनी गाउँमा खानेपानी परियोजनाको काममा पनि सक्रिय छन्।
'गाउँमा १ सय ८० घर धुरीका लागि खानेपानीको काम गरिरहेका छौं। एक फ्रान्सेली नागरिकबाट आर्थिक सहयोग पाएकाले यो परियोजना पहल गरिरहेको हुँ। ७५ प्रतिशत काम सकियो,' उनले जानकारी दिए।
कृषि र परियोजनामा लागेर गाउँमा रमाइरहे पनि आफ्नो मुख्य काम के होला भनेर उनी चिन्तामुक्त भने छैनन्।
भन्छन्, 'कामधन्दा छैन। आम्दानीको मुख्य बाटो बन्द छ,' उनी भन्छन्, 'कम्पनीलाई मासिक तलबीलाई नै खर्च दिन गार्हो छ रे। काम सुरू कहिले हुने थाहा छैन।'
ट्रेकिङ क्षेत्रमा १५ वर्ष बढी बिताएका उनलाई सधैं एउटा विषयले पिरोलिराख्छ- यहाँ हुने पक्षपात, भरिया र गाइडबीच गरिने फरक व्यवहार।
२०६३ मा सगरमाथा आधार शिविर जाँदाको कुरा जोड्दै उनले भने, 'त्यतिबेला म पोर्टर थिए। त्यहाँका स्थानीयले हामीलाई भित्र छिर्न पनि दिन्थेनन्। त्यस्तो चिसोमा बाहिरै, आफ्नै पैसाले चिया खान्थ्यौं। गाइडलाई भने सम्मान र चाकरी हुन्थ्यो। जसको ज्याकेट, जुत्ता, चश्मा र टोपी राम्रो, उसलाई सम्मान दिन्थे। बाँकीलाई नगन्ने।'
गाइड र भरियाबीच यसप्रकारको भेदभाव तीर्थलाई कहिल्यै ठीक लागेन। त्यसैले अहिले उनी आफूसँग गएका भरियाको जतिसक्दो राम्रो ख्याल गर्ने बताउँछन्।
अवस्था सामान्य हुँदो हो त, तीर्थ यतिबेला जर्मनी भ्रमणमा हुन्थे। यो क्षेत्रमा के गर्न सकिन्छ भन्ने बुझिरहेका हुन्थे। उनलाई यो क्षेत्र आफैं केही गर्ने सपना छ। त्यसैका लागि उनी जर्मनी जाँदै थिए।
केही समययता तीर्थलाई एक फ्रान्सेली पर्यटकले पनि पछ्याउँदै छन् रे।
तीर्थ भन्छन्, 'मेरो जीवनबारे ती फ्रेन्च नागरिकले वृत्तचित्र बनाउँदै हुनुहुन्छ। ट्रेकिङ क्षेत्रमा लाग्नुको उपलब्धि नै यही पो हो कि जस्तो लागिरहेछ।'