जितनी महतोले कहिल्यै नसोचेको भयो।
रिसको झोंकमा उनले लुकीछिपी जेठाजुलाई मारेकी थिइन्। सबैले थाहा पाइहाले। प्रहरी आयो, उनलाई हत्कडी बाँधेर लग्यो।
यो घटनाको डेढवर्ष भयो। उनको यो मुद्दामा अदालतले फैसला गरिसकेको छैन।
महोत्तरीको औरही घर भएकी जितनी श्रीमानको घर आउँदा कहिल्यै सोचेकी थिइनन्, कुनैदिन यही घरबाट हत्कडीसहित निस्किनुपर्ला! उनले यस्तो कर्म पनि गर्नुपर्ला!
२०७५ मंसिरदेखि महोत्तरी जिल्ला कारागारमा रहेकी जितनीलाई केही दिनअघि मैले भेट्दा उनी छोरासँग खेलिरहेकी थिइन्।
बेलाबेला बाढी पस्ने जेलको भवनमा अब उनले कति समय गुजार्नु पर्नेछ, उनलाई थाहा छैन।
२०६८ साल फागुन १३ गते विवाह भएर घरबार सम्हाल्न सुरू गरेकी थिइन्। उनी त्यतिखेर १४ वर्षकी थिइन्।
कलिलैमा विहे भयो, कलिलैमा पतिसँग पिरती पनि बस्यो। पतिले पनि उनलाई असाध्यै माया गर्थे रे।
केही वर्षमा छोरा पाइन्। दुबै कति धेरै खुसी भए। मिलेर उनको नाम राखे- सुशान्त।
छोरा पाएपछि उसलाई लिएर दुई जनाले अनेकौं सपना बुने। छोरालाई के बनाउने कस्तो बनाउनेमा उनीहरूको होड चल्थ्यो।
छोरा हुर्किँदै जाँदा उनीहरू पनि हुर्किए, त्यसपछि होस भयो सपना त महंगो हुन्छ।
उनका पति विजय काठमाडौं गए। ड्राइभर बने। जितनीले बच्चा र घर सम्हाल्ने भइन्।
पति सँगै हुँदा उनलाई लाग्थ्यो सारा गाउँ आफ्नै हो। हुन पनि उनलाई गाउँका सबैले सानी भनेर माया गर्थे।
जब उनी एक्लिइन् अनि उनलाई जिन्दगीको अर्को पाटोबारे थाहा हुँदै गयो। जिम्मेवारी काँधमा आयो।
अरू सबैभन्दा बढी गाह्रो उनलाई जेठाजुको बानी व्यहोराले पार्न थाल्यो। पति घरमा हुँदा उनको ध्यान अरू कसले आफूलाई के भन्छन् के गर्छन् भन्नेमा हुँदैनथ्यो। कसका नजर आफूप्रति कस्तो छ भन्नेमा ख्यालै नहुने! उनको ध्यान त पतिमै रहन्थ्यो।
'उहाँ काठमाडौं जानुभयो केही दिनमा त छोरा र म घरमा बस्दा खासै फरक परेन,' उनले भनिन्, 'जब जेठाजुले अचानक मलाई राति राति फोन गर्न सुरू गर्नुभयो। मलाई हेर्ने नजरिया उहाँको अर्कै रहेछ भन्ने जानें। म छक्क परें।’
उनको दाबीअनुसार जेठाजुले त्यति मै सीमित रहेनन्, आफूसँग अनैतिक सम्बन्ध बनाउन धम्की दिन थाले।
सुरूसुरूमा फोन मात्रै गरेर हैरान पार्थे पछि उनले आफूसँग सम्बन्ध नराखे मारी नै दिने भन्न थालेको उनले बताइन्।
'मभन्दा एक-दुई वर्ष साना उनका छोराछोरी छन्। कसरी उनले यति घृणित सोच ल्याएका होलान् भनेर मलाई अहिले पनि ताज्जुब लाग्छ,' जितनीले भनिन्।
सुरूसुरूमा यो कुरा कसैलाई भन्न पनि उनलाई डर लाग्यो। तर मारिदिने नै धम्की दिएपछि उनले केही साथीहरूलाई आफ्नो समस्या सुनाएकी थिइन्।
उनले यो कुरा आफ्ना पतिलाई सुनाउन सकिनन्।
'हिम्मत नै आएन,' उनले भनिन्,'हामीबीच यतिसम्म तालमेल रहन्थ्यो की एकअर्कासँग कुनै कुरा नभनी रह्नै सक्दैनथ्यौं। तर मैले त आफूलाई लागेको सबभन्दा ठूलो डर पनि भन्न सकिनँ।’
उनलाई जेठाजुसँग डर र रिस दुबै उठिरहेको थियो।
त्यही झोंकमा उनले जेठाजुलाई मारिदिइन्। उनले सोचेकी थिइन् यो कुरा कसैलाई थाहा छैन।
घटनाबारे प्रहरीले अनुसन्धान गर्दै गयो। केही दिनपछि उनी पक्राउ परिहालिन्।
पक्राउ पर्दा उनको पेटमा ९ महिना गर्भ थियो।
६ वर्षका छोरा सुशान्त र पति विजयसँग टाढिनु पर्दा उनी निकै रोएकी थिइन्। उनीहरू पनि खुब रोए।
सुरूका केही दिन प्रहरी हिरासतमा हुँदासम्म श्रीमान् विजय भेट्न आइरहन्थे। छोरालाई ल्याउँथे। उनले पति र छोराको मुख हेर्न पाएकी थिइन्।
उनी यता कारागार चलान भएपछि पति आउन छोडे। उनी एक्ली पर्दै गइन्। कतिसम्म भने जितनी सुत्केरी हुँदा पनि उनी आएनन्।
उनी कारागारमै हुँदा बच्चा जन्मिने व्यथा लाग्यो।
कारागार प्रशासनले उनलाई सुत्केरी गराउन जिल्ला अस्पताल जलेश्वर लग्यो। पति अस्पताल त आउलान् भन्ने आश उनले गरेकी थिइन्। आएनन्।
उनले आफ्नो काखको बच्चालाई मुसार्दै भनिन्, ‘यसको मुख हेर्न पनि आएनन्। अस्पतालबाट उसलाई बोकेर कारागार आएँ। यहाँ सबै मिलेर बाबुको नाम राख्यौं।'
पहिलो छोराको नाम पतिपत्नी मिलेर राखेका थिए। छोराको नाम पतिले नै रोजेका थिए।
कान्छो छोराको नाम उनैले रोजिन्- आशिक।
'यहाँ दिन कटाउने मेरो सहारा नै यही हो,' यति भनेर उनी टोलाइन्।
पहिले पहिले जतिखेरै हेरेपनि नपुग्ने पतिलाई हेर्न नपाएको पनि वर्षौं भयोजस्तो लाग्छ उनलाई।
पहिले त टाढा भए पनि उनी आफ्नै हुन् जस्तो लाग्थ्यो। संसारमा आफ्नो कोही छ भनेर मन ढुक्क हुन्थ्यो रे।
अब त उनले आफूलाई एक्लो महसुस गर्न थालेकी छन्।
पति नआए पनि जेलमा उनको खबर त आउँछ। एकदिन यसैगरी उनले खबर पाइन्- तिम्रो लोग्नेले अर्को बिहे गर्यो।
उनको मुटु ढक्कै फूल्यो। आँखा रसाए। ती आँसुमा पतिसँगका रूमानी सम्झनाहरू टल्किँदै खस्दै गरे।
त्यस दिनदेखि उनले पति आउने बाटो कुर्न पनि छोडिन्।
उनको मन अब जेठो छोराको माया र सम्झनाले मात्र हुरूक्क हुन्छ।
जेलबाट निस्केपछि आफू कान्छो छोरालाई लिएर एक्लै बस्ने केही गरेर खाने भन्ने सोचिसकेकी छन्।
आफूमाथि जथाभाबी गर्न खोजेको भएर जेठाजुलाई मारेकोमा उनलाई पछुतो छैन रे।
'इज्जत बचाउनकै लागि मैले उसलाई मार्नुपर्यो। मलाई पछुतो छैन,’ उनले भनिन्, 'मलाई छोराहरूको चिन्ता छ। उनीहरूलाई हत्यारनका बच्चा भनिदेलान् भन्ने सम्झेर अत्यास लाग्छ।'
अत्यास त काखमा हुर्किरहेका डेढ वर्षीय छोराको भविष्य सम्झेर लाग्छ, घरमा बढिरहेका ठूला छोरामा के बितिरहेको होला सम्झेर पनि लाग्छ।
त्योभन्दा पनि उनलाई छोराहरूसँग आँखा जुधाउने कसरी भन्ने पीरले खाइरहन्छ।
'सुशान्तलाई अरूले भनेर पनि थाहा होला। आशिक ठूलो हुँदै गएपछि हामी यहाँ किन बसेको भनेर सोध्यो भने त्यतिबेला मैले के जवाफ दिउँला?' उनले भनिन्।
सामान्य जीवनमा रमाइरहेकी आफू कारागारको छतमुनि ओत लाग्न आइपुग्नु लज्जास्पद कुरा हो भन्ने उनलाई लाग्छ रे।
'मलाई त दुनियाँले अपराधी मान्छन् नै। मेरो छोरोलाई हत्यारिनको बच्चा भन्नेछन्,' उनले भनिन्, 'आज यस्तो केही नभएको भए आशिक आफ्नो बाबासँग हुन्थे र सुशान्तले आमाको माया भेट्थ्यो।’
पति नआए पनि उनका आमाबुवा दाइ र भाइहरू भने आइरहन्छन्। उनलाई सम्झाउँछन्। त्यसैले उनको मन बलियो छ।
उनले चिन्ता लिएजस्तै आशिकको शिक्षादिक्षा र हकअधिकारबारे हामीले जेलर मुकुन्दसेन महासेठसँग कुरा गर्यौं।
‘पाँच वर्षसम्म त बालकलाई आमासँगै रहन नै दिनुपर्छ भन्ने छ,' उनले भने, 'त्यसपछि उनका श्रीमानले बच्चालाई लैजान चाहे लैजान्छन्। आमाले बच्चालाई दिन चाहिनन् वा उनले पनि लगेनन् भने भने हामीले कारागार विभागलाई पत्र काट्छौँ, त्यहाँबाट जवाफ आएअनुसार नै उनको शिक्षा दिक्षाबारे निर्णय हुने हो।’
जितनीका जस्तै अरू तीन महिला कैदीबन्दीका बच्चा पनि यो जेलमा बस्छन्।
डेढदेखि दुई वर्षसम्मका ४ जना आश्रित बालबालिका बस्दै आएकाको जेलर महासेठले जानकारी दिए।
जलेश्वरको महिला कारागारमा कर्तव्य ज्यान मुद्दाका ८ कैदी र ९ थुनुवा गरी १७, लागू औषध मुद्दामा एक कैदी र थुनुवा दुई गरी ३ जना, शरीर मास्ने, बेच्ने मुद्दामा थुनुवा एक र अपहरणमा ५ तथा अन्य विभिन्न मुद्दामा गरी कुल ४६ जना छन्।