सन्तोष पौडेलकी ६ वर्षीया छोरीले प्राय: हिन्दी कार्टुन हेर्थिन्। छोरीकै उमेरका धेरै बालबालिका विदेशी कार्टुनमा भुलेको उनलाई चित्त बुझ्थेन।
त्यसपछि उनी युट्युबमा नेपाली भाषाका बाल सामग्री खोज्न थाले। हिन्दी र अंग्रेजी बालगीत र राइम प्रशस्तै भेटिए पनि नेपालीमा त्यस्ता सामग्री फेला पार्न उनलाई हम्मे पर्यो।
यो तीन वर्षअघिको कुरा हो। उनले यो अनुभव आफ्ना साथी पवित्ररत्न शाक्यलाई सुनाए। तीनवर्षे छोराका बुवा पवित्रको भोगाइ पनि सन्तोषको भन्दा फरक थिएन।
दुवैको विचार मिल्यो।
नेपाली भाषाका बाल सामग्रीहरूको अभाव महशुस गरेपछि झन्डै दुई दशकदेखिका साथीहरू सन्तोष र पवित्रले एउटा युट्युब च्यानलको परिकल्पना गरे- पुकुलुकु।
यसमा सन्तोष क्रियटिभ डाइरेक्टर छन् भने पवित्र प्राविधिक डाइरेक्टर। उनीहरूले आफ्नो च्यानलमा ६ वर्षमुनिका बालबालिकालाई लक्ष्य गरेर पुराना बाल लोकगीत, राइम तथा कथाहरूको 'एनिमेटेड भिडिओ' बनाएका छन्। केही भिडिओ पढाइसम्बन्धी छन् भने केही मनोरञ्जनात्मक सामग्री छन्।
उदाहरणका लागि, ‘ए फर एप्पल’, ‘बच्चालाई के भन्छ’ जस्ता भिडिओ पढाइसँग सम्बन्धित छन्। ‘कुखुरी काँ’, ‘म्याउँ म्याउँ बिरालो’, ‘काग दाजै’ जस्ता भिडिओ नेपाली मौलिकता जोगाउने खालका छन्। यसबाहेक ‘लोभी कुकुर’, ‘ढुकुर, कमिलो र शिकारी’ लगायत लोककथाहरूको एनिमिटेड भिडिओ पनि पुकुलुकुमा हेर्न पाइन्छ।
‘पुकु’ शब्द सुन्दै मीठो सुनिन्छ। हामी धेरैले बच्चालाई यही नामले बोलाइरहेका हुन्छौं। साना नानीबाबुलाई आकर्षित गर्ने खालको नाम छान्ने क्रममा ‘पुकुलुकु’ राखिएको सन्तोष बताउँछन्।
सन् २०१७ जुलाईमा सुरू यो च्यानलले तीन वर्ष अवधिमा १ लाख ३० हजार 'सब्सक्राइबर' कमाएको छ। सन्तोष र पवित्र दुवै जना मिडिया प्रोडक्सनमा आबद्ध छन्। आठ वर्षअघि ‘आर्को आइरिस प्राइभेट लिमिटेड’ सञ्चालनमा ल्याएका उनीहरू प्रोडक्सन, पोस्ट प्रोडक्सन र एनिमेसनका काम आफैं गर्छन्।
करिब दुई दशकअघि ‘बिजनेस एड्भान्टेज एजेन्सी’ मा उनीहरूको भेट भएको थियो। सन्तोष कपिराइटर थिए, पवित्र ग्राफिक डिजाइनर। दुवै सिर्जनशील क्षेत्रको भएकाले राम्रो साथी बने।
‘आफैं कम्पनी चलाउने आँट आएपछि हामीले आर्को आइरिस सञ्चालनमा ल्यायौं,’ सन्तोष भन्छन्, ‘हामी दुवैलाई एनिमेसनको ज्ञान छ। पुकुलुकु एनिमेसनलाई पनि यसले सहायता पुर्यायो। कन्सेप्ट मात्र नभई प्राविधिक पाटोमा पनि हामी नै लाग्यौं।’
पुकुलुकुमा देखिने पात्र (क्यारेक्टर) सन्तोष र पवित्रले नै तयार पारेका हुन्। उनीहरूसँग १० जनाको टोली छ।
नेपाली समाजमा अझै पनि एनिमेसनलाई कार्टुन भन्ने चलन छ। तर एनिमेसन र कार्टुन एकै नभएको पवित्र बताउँछन्। उनी भन्छन्, ‘हामी एनिमेसन गर्छौं। कार्टुनभन्दा यो फरक छ। तर नेपालमा अझै पनि धेरैले एनिमेसनलाई कार्टुन सम्झनुहुन्छ।’
उनका अनुसार कुनै पनि जटिल विषयलाई श्रव्यदृश्यका माध्यमबाट सहज ढंगले बुझाउन एनिमेसन गर्न सकिन्छ। कार्टुनलाई एनिमेसन भन्न मिल्दैन। पुकुलुकुमा अहिले थ्रिडी एनिमेसन तयार हुन्छ। सन्तोष र पवित्रले भोलिका दिनमा पुकुलुकुलाई ब्रान्डझैं विकास गर्ने सोच बनाएका छन्।
‘एनिमेटेड भिडिओ बनाएरै पहिले हामी राजनीतिक व्यंग्य तयार पार्थ्यौं। तर एनिमेसनलाई समय लाग्ने हुनाले समय सान्दर्भिक बनाउन चुनौतीपूर्ण थियो,’ पवित्रले च्यानल खोल्नुको कारण खुलाउँदै भने, ‘दुई जनाको छलफलपछि राजनीतिकभन्दा बालबालिका केन्द्रित सामग्री बनाउन थाल्यौं।’
पुकुलुकुको भिडिओ सुरू हुनुअघि ‘इन्ट्रो’ आउँछ। स्वर मात्र सुनिने यी दुई सन्तोषकी छोरी र पवित्रका छोरा हुन्। सन्तोषकी छोरी सराना र पवित्रका छोरा प्रान्सुले नै अहिलेसम्मका भिडिओमा आवाज दिएका छन्।
सरनालाई गाउन मनपर्छ। प्रायः सबै राइम उनकै स्वरमा छ। प्रान्सु भने चित्र कोर्न बढ्ता रूचाउँछन्। त्यसैले उनको आवाज संवाद भिडिओमा मात्रै छ। यीबाहेक केही भिडिओमा सन्तोषको समेत स्वर छ।
सराना अहिले १० वर्ष पुग्न लागिन्। उनले पहिलोपटक कक्षा २ मा हुँदा ‘म्याउँ म्याउँ बिरालो’ गाएकी थिइन्। उनी सेन्ट मेरिज स्कुलमा अहिले कक्षा ५ मा पढ्छिन्। प्रान्सु भने सृष्टि एकेडेमीमा कक्षा २ मा अध्ययनरत छन्।
२०१७ जुलाई ३१ बाट पुकुलुकु युट्युब च्यानलमार्फत् भिडिओ अपलोड सुरू भए पनि यसको तयारीमा सन्तोष र पवित्रले महिनौं लगाएको बताउँछन्। भिडिओको ‘मात्रा’ भन्दा ‘गुणस्तर’ मा बढी ध्यान दिएको उनीहरूको भनाइ छ। यसमा हालसम्म १८ भिडिओ अपलोड भएका छन्। भिडिओ सार्वजनिक गर्नुअघि उनीहरू सराना र प्रान्सुलाई देखाउँछन्। केटाकेटीको चित्त नबुझे त्यसैका आधारमा काँटछाँट गर्छन्।
कथालाई राइम बनाउने मात्र नभई पुकुलुकुले अरू भाषाका राइमलाई नेपाली अनुवाद पनि गरेको छ। ‘तर यस्तो धेरै गर्न आवश्यक ठानेनौं। हामीसँगै प्रशस्त सामग्री छन्। अरूको सिको गर्नु जरुरी नलागेर अनुवाद गर्न छाड्यौं,’ सन्तोष भन्छन्।
पुकुलुकुमा पुराना राइम तयार पार्दा उनीहरूले यसको वास्तविक लेखक पनि खोजे। तर, पत्ता लगाउन सकेनन्। यस्ता राइम लोकगीतजस्तै विस्तार भएको पाइन्छ।
कथालाई राइममा परिणत गर्दा निकै मेहनत लाग्छ। सरल रूपमा अर्थ खुलाउने र उच्चारणसमेत सजिलो हुने शब्द चयनमा विशेष ख्याल राख्नुपर्छ। ‘बच्चाहरू कथा सुन्नमा भन्दा राइम गाउनमा रमाउँछन्’ भन्ने बुझेर कथालाई राइम बनाएको उनको भनाइ छ।
विशेष गरी सहरी क्षेत्रमा बालबालिका अंग्रेजी माध्यमका स्कुल जाँदा उनीहरूलाई नेपाली भाषामा समस्या भएको पाइन्छ। यस्तै समस्या सुल्झाउन पुकुलुकुले शब्द उचारण सिकाउन ‘क, ख, ग' र ‘अ, आ, इ’ श्रृंखला सुरू गर्दैछ। यसबाहेक ‘ए, बी, सी’ शृंखला केही समयअगावै सुरू भएको छ। उनीहरू ‘टप टप टोपी’ जस्ता पुराना राइम संग्रह पनि तयार पार्दैछन्।
‘अहिले बच्चाहरू अंग्रेजी र हिन्दी बुझ्छन्, तर त्यही कुरा नेपालीमा बुझ्दैनन्। स्कुलमा अंग्रेजी सिकाइ हुन्छ भने हिन्दी कार्टुन हेर्ने भएपछि हिन्दी भाषा पनि जान्छन्,’ पवित्र भन्छन्, ‘रेड, ग्रिन, ब्लूभन्दा बुझ्छन् तर रातो, हरियो, निलो भन्दा नबुझ्ने भएका छन्। सामानहरू पनि अंग्रेजी भाषामा बुझ्ने नेपालीमा नबुझ्ने भए।’
त्यसैले पनि नेपाली शब्द बालबालिकाले जानून् भन्ने उनीहरूको लक्ष्य छ। अंग्रेजीमा बारहरू भन्न सक्ने तर नेपालीमा नसक्ने देख्दा खिन्न लाग्ने उनीहरू बताउँछन्।
सन्तोष र पवित्र प्रायः आफ्नो अर्को कम्पनीको काममा व्यस्त हुने भएकाले पुकुलुकुलाई मात्र समय दिन भ्याएका छैनन्। तै पनि नयाँ सामग्री बनाउन स्क्रिप्ट तयार रहेको पवित्रले बताए।
‘तीन वर्ष अवधिमा हामीले थुप्रै ट्रायल गर्यौं। बजार बुझ्यौं। अहिले हामी यसको दोस्रो चरणमा छौं भन्दा फरक पर्दैन,’ पवित्र भन्छन्।
पछिल्लो समय युट्युब नै संसार हेर्ने आँखीझ्याल बनेको छ। विभिन्न भाषाका विभिन्न सामग्री यसमा उपलब्ध छन्। नेपाली भाषाका सामग्रीको पनि कमी छैन। हरेक दिन नयाँ नयाँ नेपाली गीत र भिडिओ अपलोड भइरहेका हुन्छन्। तर तिनमा वयस्क उमेर समूहका सामग्री धेरै छन्। बालबालिकाका लागि बनाइएका नेपाली भिडिओहरू भने कमै भेटिन्छन्।
सन्तोष र पवित्रको दाबी छ, ‘पुकुलुकुले थोरै भए पनि त्यो अभाव कम गरेको छ।’