गत आइतबार दिउँसोसम्म महोत्तरीको बर्दिवास नगरपालिका-१४ का आशुतोष मिश्रका छोरा उनीसँगै थिए। छोरा सानै हुँदा श्रीमतीको मृत्यु भएकाले आशुतोषले आमाबुवा दुबैको जिम्मेवारी निभाएका थिए। १६ वर्ष पुगिसकेका छोरा रोहितलाई केही वर्षपछि प्रहरीको इन्स्पेक्टर बनाउने आशुतोषको सपना थियो।
आइतबार दिउँसो उनको त्यो सपना क्रसर उद्योगले खनेको खाल्डोले डुबाइदियो। ५६ वर्षीय आशुतोषका लागि छोरा अचानक स्मृति बनेका छन्। उनी अहिले छोराको किरिया बसिरहेका छन्।
त्यो दिन पानी परिरहेको थियो। रोहित घरमै बसेर पढिरहेका थिए। दिउँसोतिर उनका दुई जना साथी रवि र निशान्त आए, घुम्न जाउँ भने।
साथीहरूको आग्रहलाई रोहितले नकारेनन्। रविले चलाएको मोटरसाइकलमा बसेर उनीहरू तीन जना घरबाट निस्किए।
घरबाट निस्कनु केहीबेरअघि हजुरआमासँग रोहितले भोक लागेको छ, खाना पस्किनु भनेका थिए। आमा बितेपछि उनी मामाघरकी हजुरआमासँग बस्दै आएका थिए।
हजुरआमा खाना पस्किन भान्छामा गएका बेला साथीले बोलाए, रोहित खानै नखाई घरबाट हिँडे।
‘बाहिरैबाट हल्ला गरेर बाबु निस्कियो। पानी परिरहेको छ नजाऊ भनेका थियौं,’ किरिया बसेका आशुतोषले आशुँ पुछ्दै भने, ‘एकछिन आइहाल्छु भन्दै हिँडिहाल्यो।’
एकछिनमा आइहाल्छु भन्दै हिँडेका रोहित आधा घन्टासम्म आएनन्, बरू उनलाई लिन आएका निशान्तका मामा आशुतोषको घरमा आए।
‘तपाईंसँग काम छ, एकछिन आउनुस् न मसँग’ भन्दै बाइकमा चढ्न भने।
आशुतोषको मन चिssसो भएको भयो तर छोरा ज्यानै गइसकेको होला भन्नेचाहिँ उनले कल्पना गरेका थिएनन्।
‘बाइकमा चढेर लगभग पाँच मिनेट पर गएपछि उनले तपाईंको छोरा क्रसरको खोलामा डुब्यो भने,’ आशुतोषले भने ‘म त छाँगाबाट खसें। म घटनास्थल पुग्न चाहन्थें बाइक पनि घस्रिरहेजस्तो मात्र लाग्यो।’
केहीबेरमा उनी रोहित डुबेको ठाउँमा पुगे। कहाँ छ मेरो छोरो भन्दै खोलामा हाम फाले।
‘पानी मेरो टाउकोभन्दा माथि आइसकेको थियो। खुट्टा तल गाडिँदै थिए,’ आशुतोषले भने,‘भेला भएका मान्छेले मलाई निकाले। छोराका खुट्टा त झन् धेरै तलसम्म गाडिइसकेका रहेछन्।’
रोहित डुबेको त्यो खाल्डो क्रसरले खनेका थिए। कुन क्रसरले खनेको हो भन्ने एकिन छैन। किनकी जिल्लामा रहेका क्रसर उद्योगले अवैध रूपमा जताततै खोला उत्खनन् गरिरहेका छन्।
क्रसरले बनाएको खाल्डोमा परी छोराको मृत्यु भए पनि स्थानीय सरकार र प्रशासनल दोषीलाई कारबाही गर्न कुनै कदम नचालेको आशुतोषको गुनासो छ।
‘वडाध्यक्ष घटनाबारे बुझ्न आएका थिए, तर अहिलेसम्म त्यहाँ क-कसका क्रसरले उत्खनन गरिरहेका थियो, उनीहरूमाथि कारबाही अघि बढ्यो कि बढेन हामीले केही जानकारी पाएका छैनौं,’ आशुतोषले भने।
वडाध्यक्ष भरत हमाल भने क्रसरले खनेको खाल्डोमा परेर रोहितको मृत्यु भए पनि त्यो खाल्डो आफ्ना पालामा नखनिएको बताउँछन्।
‘यो एकदमै दु:खद घटना हो, तर यो उत्खनन हाम्रो पालामा भएको होइन पहिल्यै खनेर लगिएको स्थानमा पानी जमेका छन्,’ वडाध्यक्ष हमालले भने, ‘केही स्थानमा अवैध उत्खनन भइरहँदा हामीले रोक्ने प्रयास गर्यौं। म एक्लैले रोक्न खोजेर नहुने रैछ।’
जिल्ला प्रशासन कार्यालय महोत्तरीले घटनाबारे कुनै उजुरी नपरेकाले कसको क्रसरले खाल्डो खनेको हो भन्ने अनुसन्धान नगरिएको बताएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले पीडित पक्षले अहिलेसम्म कुनै उजुरी नदिएकाले आफूहरूले कुनै कारबाही गर्न नसकेको बताए।
‘कुनकुन क्रसरले त्यहाँबाट गिट्टी बालुवा उत्खनन गरेका छन् भन्ने मलाई थाहा भएन, जबसम्म पीडित परिवारबाट उजुरी पर्दैन हामी केही गर्न सक्दैनौं,’ कटवालले भने, ‘तपाईं क्रसरले खनेको खाल्डोमा डुबेको भनिरहनुभएको छ। हामीले किशोर खोलामा डुबेको भन्ने जानकारी पाएका छौं। छानबिनका लागि प्रहरी खटाएका छौं अरू जानकारी भएन।’
उजुरी नपरे कसैमाथि बिना आधार कारबाही गर्न नसक्ने प्रजिअ कटवालको भनाइ छ।
आशुतोषले भने घरमा आफू र सासुमात्र भएकाले उजुरी दिन जान नसकेको बताएका छन्।
छोराको किरिया सकिएलगत्तै जिल्ला प्रहरीमा उजुरी दिने उनले बताए।
‘किरिया बसेको छु, आज दश दिन भइसक्यो। किरिया सकिएलगत्तै समाजसँग सल्लाह गरेर उजुरी दिनेछौं,’ उनले भने।