भक्तपुरका विकल प्रजापतिको सानैदेखि सपना थियो- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) भेट्ने। उनी सधैं 'मह जोडी भेट्न पाए हुन्थ्यो' भनेर कल्पिन्थे। झन्डै २ दशकदेखि विकलले हुर्काएको रहर गत शनिबार पूरा भयो, मह जोडीलाई आफ्नै घरमा भेटेर।
२६ वर्षीय विकल मूर्ति बनाउँछन्। चित्र कोर्छन्। पेसागत हिसाबमा 'आर्किटेक्ट' भए पनि व्यक्तिगत रूचिका कारण उनी चित्र र मूर्तिकलामा आकर्षित भएका हुन्। कलाकारद्वय मदनकृष्ण र हरिवंशसँग उनको भेट पनि कलाले नै गरायो।
विकलले मह जोडीको 'क्लेआर्ट' अर्थात् माटोका मूर्ति बनाएका छन्। 'मदनबहादुर-हरिबहादुर' टेलिश्रृंखलामा देखिएका पात्रको स्वरूपमा उनले बनाएका मूर्ति हेर्न मदनकृष्ण र हरिवंश दुवै 'सर्प्राइज' दिँदै पुगेका थिए।
कमलविनायकस्थित आफ्नो घरै आएर मदनकृष्ण र हरिवंशले आफ्नो कला अवलोकन गर्दा विकलको बाल्यकालीन सपना त पूरा भयो नै, उनलाई थप ऊर्जा पनि मिलेको छ।
'सायद यो मूर्ति मैले नबनाएको भए उहाँहरूलाई यसरी नजिकबाट भेट्ने थिइनँ। कलाले उहाँहरूसँग भेट गरायो। सानैदेखिको सपना पूरा भएको छ,' विकल भन्छन्, 'प्रतिभाको कदर भएको महशुस गर्दैछु। निकै खुसी लागेको छ।'
विकलका अनुसार उनले दुई महिना लगाएर मूर्ति तयार पारेका हुन्। मूर्तिका फोटो खिचेर मह-सञ्चारमा 'हजुरहरूसँग भेट्ने ठूलो इच्छा छ' भन्दै इमेल गरेका थिए। इमेल पठाएको तीन दिन बितिसकेको थियो, उनी पर्खिरहे।
मह-सञ्चारको इमलेबाट कुनै जवाफ आएन। बरू उनको फोन बज्यो, 'हामी फलानो मिडियाबाट। हजुरसँग कुरा गर्न मिल्छ भने आउँछौं।'
विकलले सहमति जनाए। 'हुन्छ आउनुहोस्,' भन्दै भोलिपल्ट भेट्ने टुंगो लगाए।
भोलिपल्ट विकलको घरमा मिडियाबाट मान्छे पुगे। अन्तर्वार्ता सुरू मात्रै के गरेका थिए, विकलले ढोकामा मदनकृष्ण र हरिवंशलाई साक्षात् देखे। उनी अक्कमक्क परे।
'उहाँहरूलाई देख्दा एकैछिन त केही बोल्नै सकिनँ। के बोल्ने कसरी बोल्ने भयो,' विकलले मह जोडीलाई प्रत्यक्ष आफ्नै घरमा देख्दाको अनुभवमा सुनाए, 'उहाँहरू मलाई सर्प्राइज दिन मिडियाको मान्छेसँग मिलेरै आउनुभएको रहेछ। एकैछिनको अलमलपछि बसेरै कुरा गर्यौं। दुवै जना मेरो कला देखेर खुसी हुनुभयो।'
मह जोडीका हरेक श्रृंखला नछुटाइ हेरेका छन् रे विकलले। हास्य व्यंग्य तरिकामा देशको परिस्थिति बदल्न महको ठूलो हात रहेको उनी विश्वास राख्छन्। मह जोडीलाई उनी आफ्नो 'आइडल' मान्छन्।
विकलले चार वर्षअघि मह जोडीकै 'ग्लु डस्ट स्पिड पेन्टिङ' पनि बनाएका थिए। यो भनेको छोटो समयमा गमको प्रयोगले कसैको आकृति बनाउने। विशेषगरी यस प्रकारको पेन्टिङ स्टेज पेन्टिङका रूपमा प्रख्यात छ।
चार वर्षअघि विकलले त्यो पेन्टिङ मह जोडीसम्म पुर्याउने बाटो खोजेका थिए। त्यसबेला भेट्न पाएनन्।
आफूले मनपराएका कलाकार भेट्न नपाए पनि उनी हरेश खाएनन्। लकडाउनमा उनको रहर फेरि ब्युँतियो र यही बेला महजोडीकै मूर्ति बनाउने सोचे।
यसनिम्ति घर बन्दै गरेका ठाउँ चहारेर कालो र खैरो माटो संकलन गरे। भक्तपुरमा माटो राम्रो हुने र खोज्न पनि उत्ति समस्या नहुने उनी बताउँछन्।
कत्रो र कस्तो पात्र बनाउने भन्नेमा निकै घोत्लिए। 'मदनबहादुर-हरिबहादुर' कै छविले उनलाई तान्यो र स्केच उतारे। अनि माटो चलाउँदै त्यसमा आकृति दिन थाले।
उनले मूर्ति बनाउँदा विशेषगरी 'एनाटोमी' मा जोड दिएको बताउँछन्। मूर्तिमा एनाटोमी भन्नाले कुनै जीव वा त्यसको शारीरिक भाग जस्ताको त्यस्तै बनाउने कला भन्ने बुझिन्छ। यसरी उनले पहिले मदनकृष्ण अनि हरिबहादुरको मूर्ति तयार पारे।
विकललाई एनाटोमीमा काम गर्नभन्दा माटो सुकाउन समय लागेको बताउँछन्।
'माटोको मूर्ति भित्रैबाट सुकाउनु पर्छ। फेरि घाममा सिधै होइन, छोपेर सुकाउनु पर्छ,' उनी भन्छन्, 'तयार भएको मूर्ति झन्डै २५ दिन सुकाएँ। त्यसपछि रङ भर्न थालेँ।'
यो पूरै प्रक्रियाको भिडिओ उनले आफ्नो युट्युब च्यानलमा हालेका छन्।
उसो त आर्किटेक्ट विकललाई माटोसँग खेल्ने रहर यसै पलाएको होइन। उनी जन्मेकै यही पेसा गर्ने परिवारमा हुन्।
'म ६ वर्षको हुँदादेखि नै आफ्ना हजुरबुवा र बुवाले माटाका भाँडा बनाएका हेरेर बस्थेँ रे,' उनले सुनाए, 'म पनि माटोलाई विभिन्न आकार दिन्थेँ। मैले सुरूमा बनाएको भाँडा कप हो। पछिपछि सली, पालाचा, पेवाचाहरू बनाउन सिकेँ।'
अहिले उनको परिवारले यो पेसा छाडेको दस वर्ष भयो। तर विकलको माटो खेलाउने रहर मेटिएको छैन।
माटोसँग जस्तै चित्रसँग पनि विकलको नाता सानैदेखि हो।
'स्कुलमा आर्ट कक्षामा पनि सबैले मेरो चित्र राम्रो मान्नुहुन्थ्यो,' सानैदेखि हौसला मिलेका उनी भन्छन्, 'कुनै पनि चित्र बनाउन थालेँ भने गुरुहरूले प्रोत्साहन दिनुहुन्थ्यो। परिवारले पनि चाहिने सामान सबै ल्याइदिनुहुन्थ्यो।'
नयाँ डिजाइन बनाउने र चित्र कोर्ने रूचिकै कारण उनले प्लस-टुपछि आर्किटेक्ट इञ्जिनियरिङ अध्ययन गरे। डेढ वर्षअघि भक्तपुरकै ख्वप कलेजबाट आर्किटेक्ट पास गरेएपछि 'फ्रिल्यान्स' काम गर्दै थिए। लकडाउनले काम रोकियो र यही मौकामा आफ्नो 'प्यासन' पछ्याएको उनी बताउँछन्।
उनका अनुसार व्यवसायिक हिसाबमा यस प्रकारको मूर्ति तयार हुन ४० देखि ४५ हजार रूपैयाँ लाग्छ। आफ्नो पारिश्रमिक घटाएर उनले यो मूर्ति १५ हजारमा तयार भएको बताए। मह जोडी बनाउनुअघि विकलले आफ्नी आमाको मूर्ति बनाएका थिए।
उनलाई एकै किसिमभन्दा भिन्न-भिन्न विधाका कलामा रूचि भएको बताउँछन्। स्केचदेखि ल्यान्डस्केप र तेल पेन्टिङसम्म भ्याउँछन्। यीबाहेक अहिले मूर्तिकला र 'ग्लु डस्ट स्पिड पेन्टिङ'मा बढी सक्रिय छन्।
उनको सपना पनि छ, 'ग्लु डस्ट स्पिड पेन्टिङ' गरेरै संसारका विभिन्न ठाउँ डुल्ने।
लकडाउन नभइदिएको भए उनी बंगलादेश, हङकङ र भारत पुगिसकेका हुन्थे। उनलाई 'ग्लु डस्ट स्पिड पेन्टिङ' प्रदर्शनको प्रस्ताव आएको थियो।
'अब कहिले हुन्छ, अहिलेसम्म खबर आएको छैन। अवस्था सामान्य भएपछि कार्यक्रम हुन्छ होला,' उनी आशावादी सुनिन्छन्।
हालसालै विकलले कुलमान घिसिङको 'ग्लु डस्ट स्पिड पेन्टिङ' बनाएर उनलाई दिएका छन्।
पेसागत हिसाबमा आर्किटेक्ट विकल आफ्नो 'प्यासन'लाई सँगै अघि बढाउने बताउँछन्।
आफ्नो कला र प्रतिभाकै कारण विश्व भ्रमण गर्ने योजना रहेको उनी भन्छन्, 'मेरो पढाइ मसँगै हुन्छ। तर मेरो प्यासनले देखेको सपना पूरा हुन्छ भन्ने विषयमा सकारात्मक छु।'