सर्प देखे हामी आतिन्छौं। सर्प देख्नेबित्तिकै मार्नुपर्छ भन्ने धेरैको मनमा आइहाल्छ।
धनुषा मिथिलाबिहारी नगरपालिका-३ मिथिलेश्वर मौवाहीका ३२ वर्षीय देवनारायण मण्डल भने सर्पको संरक्षणमा १० वर्षदेखि अहोरात्र खटिरहेका छन्।
उनी गाउँगाउँ पुगेर सर्प मार्नेलाई त्यसको महत्व सम्झाउँदै हिँड्छन्।
सर्प संरक्षण मात्र नभई धनुषाको धनुषाधाममा रहेको वन संरक्षण गर्ने अभियानमा समेत उनी लागेका छन्।
मण्डलले एक दशकको अवधिमा ३ हजारभन्दा बढी सर्पको उद्धार गरिसकेका छन्। यस अवधिमा उनले कैयौं लोपोन्मुख प्रजातिका सर्पलाई समेत उद्धार गरे।
सूर्यनाग, घोरकरैत भनिने व्यान्डेड करैतलगायत लोपोन्मुख सर्पलाई उद्धार गरी धनुषाधाम वनमा पुर्नवास गराएको मण्डल बताउँछन्।
फोर्सटेन्स क्याट स्नेक, कमन टी स्नेक र वाइन स्नेकको दुईवटा प्रजाति व्राउन र ग्रिन स्नेक (जसलाई तराईमा सुगवा साप भनेर चिनिन्छ) लाई समेत उनले उद्धार गरेका छन्।
कसैको घरमा सर्प छ भन्ने खबर पाउनेबित्तिकै मण्डल तुरून्त आवश्यक स्रोत साधन लिएर त्यहाँ उद्धार गर्न पुग्छन्। उनले हरहमेशा आफ्नो झोलामा सर्प समात्ने हुक (सर्प समात्न प्रयोग हुने स्रोत साधन ) राखेकै हुन्छन्।
सन् २००८ पहिलो पटक भारतको आग्ररास्थित रोनाक्सा नामक स्थानमा एक जनाको घरबाट अजिङगर सर्प समातेका थिए।
त्यतिबेला उनको कार्यालयले सर्पहरूको संरक्षण गर्ने कार्यक्रम राखेको थियो।
आफ्नो कार्यालयमा व्यवस्थापनतर्फ काम गर्दै आएका देव सर्प समात्न जाने अन्य कर्मचारीहरूसँगै हिँड्थे। उनीहरूले सर्प समातेको काइदा मण्डलले पनि सिके।
एकदिन एउटा घरमा अजिङगर सर्प छ भनेर रोनाक्साबाट फोन आयो। त्यो दिन उनी पनि गए। आजचाहिँ म समात्छु भने। सहकर्मीहरूबाट सिकेको कला प्रयोग गरेर पहिलो पटक अजिङगर सर्प उनले पक्रिए।
'त्यो मेरा लागि जिन्दगीकै सबैभन्दा खुसीको क्षण रह्यो,’ उनले सेतोपाटीसँग भने, 'सधैँ सर्पलाई परैबाट देखेको थिएँ। पहिलो पटक अजिङगर नै समात्नु पर्यो। म थाम्नै नसक्ने गरी कामेको थिएँ।'
उनले अजिङगर समात्ने कुनै तयारी थिएन।
‘मेरो काम देखेर यु डिड वेल भन्दै मेरा सहकर्मीले पिठ्यू धापेका थिए,’ उनले भने।
देव अहिले धनुषा, सिराहा, महोत्तरीलगायतका ठाउँमा सर्प समात्न जान्छन्। कुनै-कुनै बेला काठमाडौं वा अन्य कुनै ठाउँमा जाँदा सर्प देखिहाले भने त्यहाँबाट पनि उद्धार गर्न पछि पर्दैनन्। कहिले भने उनी पुग्नुभन्दा अघि नै सर्प भागिसकेका हुन्छन्।
कसैले आफ्नो घरमा सर्प छ भनेर फोन गरे भने उनले सबभन्दा पहिले भन्छन्- सर्पलाई नजिस्क्याउनु बचाएर राख्नु।
‘हाम्रो समाजमा विषालु प्रजातिको सर्प होस् वा गैरविषालु देख्नेबित्तिकै मारिदिने चलन छ। कहिलेकाहीँ त म उद्धार गर्न पुग्न ढिलो भो मान्छेले सर्पलाई मारिसकेका हुन्छन्,’ उनले भने।
विगत १० वर्षदेखि सर्प संरक्षणमै लागेका देव भने त्यसमै सीमित छैनन्।
उनले सर्पजस्तै अन्य जीवजन्तुहरूको संरक्षण गर्न मन पराउँछन्। मण्डल गरूड, लाटोकोसेरो, कछुवा, निलगाई, अजगर सर्पलगायतका पशुपंक्षी चराचुरूंगीको उद्धारमा खटिरहेका हुन्छन्।
मण्डलका अनुसार धनुषाधाम जंगलमा २५ देखि ३०को संख्यामा निलगाई छन्। यो विश्वमै लोपोन्मुख प्रजातिको जनावरमध्ये पर्दछ।
सर्पप्रतिको देवको माया र त्यसको संरक्षणमा दिनरात खटेको हेर्दा उनलाई कतिपयले सर्पको साथी भन्ने गरेका छन्।
‘कुनैकुनै बेला विषालु सर्पलाई सहजै समातेर सुरक्षित स्थानमा लैजाँदा त्यहाँका स्थानीयहरू तपाईं त हामीले दुश्मन मानेको जीवलाई समेत साथी बनाउनुहुँदो रहेछ भन्ने गर्दछन्,’ मण्डलले हाँस्दै भने ‘सर्पको असल साथी हुनुहुन्छ तपाई भन्छन् ।’
सर्पलाई मार्ने हाम्रो प्रवृत्ति आफ्नै वडाका मण्डलले संरक्षण गरेको देखेर परिवर्तन गरेको वडाध्यक्ष श्यामबाबु मण्डलले बताए।
‘जहाँ हामीले सर्प मार्ने गरेका थियौँ। अहिले आएर जस्तो सुकै विषालु सर्प भए पनि जोकोहीले देवलाई फोन गरेरै बोलाउँछन् उनी तुरून्त पुग्ने गर्छन्,’ उनले भने ‘बडो गर्वको विषय हो हाम्रो लागि की हाम्रै वडाका एक युवा प्रकृतिको संरक्षणमा जुट्दै त्यसको महत्व बुझाउने काम गरिरहेका छन्।’
प्राकृतिक संरक्षणमा जुटेको मण्डललाई आफूहरू हरबखत सहयोग गर्न तत्पर रहेको उनले बताए।
ठेरास्थित विद्यालयमा पढ्दादेखि नै मण्डललाई जंगलले आकर्षित गर्थ्यो। स्कुल सकिएपछि गाउँनजिकै रहेको धनुषाधाम जंगलमा जान्थे रे।
'जंगलभित्र बस्न घुम्न खुब आनन्द आउँथ्यो,’ उनले भने।
एसएलसी पछि उनी पढ्न भने कमर्स चाहन्थे। आर्थिक अवस्था राम्रो नभएकाले पढाइ छोड्नुपर्यो। र उनी कामको खोजीमा भारतको दिल्ली लागे। त्यहाँ पुगेर इन्कम टेक्स अफिसमा काम गर्ने एक जना वकिलको कार्यालय सहयोगी बने।
पैसा कमाउन थालेपछि उनी दिल्लीकै एक क्याम्पसमा भर्ना भए। आइकम उत्तीर्ण गरेर बिकममा भर्ना भयो।
इन्कम टेक्स र सेल्स टेक्स अफिसमा काम गर्दै जाँदा मण्डलको चिनजान एकजना चार्टर्ड एकाउन्टेन्टसँग भयो।
ती चार्टर्ड एकाउन्टेन्टले दिल्ली क्षेत्रमा वाइल्ड लाइफ एसओएस ‘सेभ आवर सोल’ नामको संस्था चलाउउँथे।
मण्डललाई उनले यस क्षेत्रमा काम गर्नका लागि अफर गरे। बाल्यकाल सपना पूरा हुने सोचेर हुरुक्कै भए।
‘उनको त्यो अफर सुनेर मैले चाहेकै काम पाएको महसुस भयो,’ उनले भने, ’जंगलसँगको नाता फेरि जोडिने भयो भनेर म हुरूक्कै भएँ।’ त्यसपछि उनी उक्त संस्थामै काम गर्न थाले।
सन् २००६ देखि मण्डल आगरामा रहेको उक्त संस्थामा २४ घण्टै काम गर्न थाले।
करिब १ हजार जंगली जनावरको बीचमा बस्ने, खाना खाने, जनावरसँग उनको भावनात्मक साइनो गाँसियो। विस्तारै उनले उनीहरूको हाउभाउ, व्यवहार बुझ्न थाले।
त्यहाँ मुख्य रूपमा भालु, निल गाई, हरिण, बाँदर, लंगुर, खरायो, हाती र विभिन्न प्रजातिका सर्पहरू थिए।
‘उनीहरूका बीचमै बसेर काम गर्दा जंगली जनावरको गतिविधिबारे मैले राम्रो ज्ञान हासिल गरे,’ उनले भने।
पशुपंक्षीहरू घाइते हुँदा उनीहरूको उपचार कसरी गर्ने विभिन्न प्रजातिका सर्पहरूलाई कसरी उद्धार गर्ने भन्ने कला उनले त्यहीँबाट सिके।
आगरामा हुँदा प्रत्येक वर्ष २८ दिनको छुट्टी मनाउन उनी आफ्नो गाउँ मिथिलेश्वर मौवाही फर्किन्थे।
सन् २०१२ मा उनी छुट्टीमा घर आएका बेला धनुषाधाम जंगल हेर्न गए।
बाल्यकालमा जस्तो घना जंगल त्यहाँ थिएन। उनलाई पहिलेका याद झल्झली आए।
त्यही वर्षदेखि परदेशमा बसेर प्राकृतिक वस्तु संरक्षण गर्नुभन्दा आफ्नै देशको स-सना जीवजन्तुलाई जोगाइ संरक्षण गर्ने अठोट लिए।
‘भारतको लागि काम गर्नुभन्दा आफ्नै देश, आफ्नै जिल्लाको जंगल र जनावरका लागि काम गर्नुपर्छ भन्ने सोचेरै त्यहाँको सबथोक छोडेर यहीँ आएर बस्ने निधो गरेँ,’ उनले भने।
उक्त समयमा धनुषाकै यदुवंश झा वन मन्त्री र धनुषा सबैलाका वज्रकिशोर यादव वन विभागका महानिर्देशक थिए। मण्डलले ती दुवै जनासँग भेटेर धनुषाधामको जंगलबारे छलफल गरे। मन्त्री पनि धनुषाधाम जंगलको संरक्षण गर्नुपर्छ भन्नेमा सकारात्मक थिए। उनी झन् उत्प्रेरित भए।
पछि जिल्ला वन कार्यालय धनुषालाई उनले धनुषाधाम वनको संरक्षण गर्न सहयोग गरे।
त्यसपछि मण्डलले २०६९ फागुन २० गते वातावरण तथा वन्यजन्तु संरक्षणका लागि मिथिला वाइल्ड लाइफ ट्रस्ट नामक एउटा संस्था जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराए।
वातावरण र वन्यजन्तुसम्बन्धी जनचेतना कार्यक्रम,२४ घन्टा वन्यजन्तु उद्दार र पुनर्वासको कार्यक्रम, धनुषाधाम संरक्षित वनको दिगो विकास लगायतका काम सोही ट्रष्टमार्फत संचालन गर्न थाले।
र अहिले सोही ट्रष्टमार्फत उनले जीवजन्तुको संरक्षणमा खटिँदै आएका छन्।
सर्पले टोकेपछि धामी झाँक्री बोलाई विष हटाउने कुप्रथा तराईमा अझै छ।
त्यस्ता ठाउँहरूमा मण्डल आफैं पुग्ने गर्छन्। र सर्पदंशबाट बच्न सक्ने उपाय सिकाउनुका साथै सर्पको पारिस्थितिक प्रणालीमा रहेको महत्वको विषयमा बताउने गर्छन्।
४ प्रतिशत विषालु सर्पले मात्रै मानिस र अन्य जन्तुलाई टोक्ने गर्छन्। त्यसमध्ये पनि ९७ प्रतिशत विषालु सर्पले मात्रै टोक्ने गरेको तथ्यांक रहेको उनले बताए।
उनका अनुसार सर्पलाई संरक्षण गर्न सकियो भने मानव सभ्यतालाई नै फाइदा पुर्याउँछ।
विषालु सर्पहरूको विष एण्टी स्नेक भेनम, मर्फिनभन्दा पनि कारगर पेन किलर, ब्रेस्ट क्यान्सर लगायतका लागि उपयोगी रहेको उनले बताए।
‘सर्प बसोबास गर्ने क्षेत्रमा २७ प्रतिशतसम्म किराफट्यांग्रा नष्ट गर्ने हुनाले यसले बालिनालीमा किराको प्रकोप कम गर्ने गर्छ, खेतमा मुसा लाग्न दिदैँन,’ उनले भने।
यसरी हेर्दा विषालु सर्पलाई मार्ने नाममा हामीले अन्य सर्पको संख्यामा वृद्धि गर्न सहयोग गर्दै आएको मण्डलको भनाइ छ।