आइतबार बिहान काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशभित्र भेटिएको शवको अझै सनाखत हुन सकेको छैन।
सनाखत नभएपछि अनुसन्धानमा जुटेका प्रहरी अधिकारी पनि अलमलमा परेका छन्।
'अहिलेसम्म शवको सनाखत हुन सकेको छैन,' महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भने, 'मृतक ४०–४५ वर्षका जस्ता देखिन्छन्।'
आइतबार बिहान सुटकेशमा टाउको बिनाको शव भेटिएको थियो भने टाउको र खुट्टा शव भेटिएको २ सय मिटर पर झोलामा फेला परेको थियो।
सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तालिमप्राप्त कुकरको सहयोगमा प्रहरीले टाउको र शव भएको झोला भेट्टाएको थियो।
प्रहरीले स्थानीयहरूसँग घटनाबारे बुझिरहेको छ।
'हामीले शंकास्पद केही व्यक्तिसँग पनि सोधपुछ गरेका छौं,' एसएसपी थापाले भने,' शव भेटिएको वरिपरि सबै सिसिटिभी फुटेज नियालिरहेका छौं।'
प्रहरीले गोंगबु गणेशस्थानलगायतका त्यहाँ भित्रिने सबै स्थानको सिसिटिभी फुटेज सुक्ष्म तरिकाले हेरिरहेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले घटना त्यहीँ आसपास भएको हुन सक्ने भएकाले उक्त क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको बताए।