गोंगबुमा आइतबार भेटिएको शवको सनाखत हुन नसक्दा प्रहरीलाई अनुसन्धानमा सकस भएको छ।
आइतबार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो। पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा पुगेका थिए।
प्रहरीले शवको टाउको डग स्कुलबाट तालिम प्राप्त कुकुरको मद्दतबाट फेला पारेको थियो।
अहिले यस सम्बन्धमा अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा अनुसन्धान भइरहेको छ।
शवको पहिचान नखुल्दा प्रहरीलाई अनुसन्धानको अघि बढाउन सकस भएको छ।
'हिजो दिनभर शवको सनाखत गर्ने कामलाई जोड दियौं तर पनि सनाखत हुन सकेन,' एसपी कार्कीले सेतोपाटीसँग भने,'सनाखतमात्रै भए पनि धेरै प्रतिशतमा हाम्रो काम सकिन्थ्यो।'
उनका अनुसार प्रहरीले गोंगबुका धेरैजसो मानिसलाई सोधपुछ गरिसकेको छ भने सोमबार पनि यो क्रम जारी छ।
'त्यस क्षेत्रका थुप्रै घरमा गएर हामीले सोधपुछ गर्यौं त केही खुल्न सकेको छैन,' उनले भने।
शवलाई अहिले पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ।
'पोष्टमर्टमको रिपोर्ट आएपछि के-कसरी हत्या गरेको थाहा हुन्छ। हत्या नै हो भन्ने देखिन्छ र हेर्दा धारिलो प्रयोग गरिएको छ,' उनले भने।
साथै उनले कोही मान्छे हराइरहेको छ वा ती व्यक्तिसँग चिनजान छ भने प्रहरीलाई सम्पर्क गर्न अपिल गरेका छन्।
'यी व्यक्तिलाई कसैले चिन्छ भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिएमा पनि ठूलो सहयोग हुन्छ। अहिले यी व्यक्ति को हुन् भन्नेमा हामी केन्द्रीत भएका छौं,'उनले भने।