कोरोना महामारीले संसारभरको शैक्षिक क्षेत्र आक्रान्त छ। नेपालमै पनि सबैजसो स्कुल-कलेज बन्द छन्। तर, खोटाङ जिल्लाको सोल्मास्थित शुभद्रा मदन फाउन्डेसनले खोलेको 'जन-जागृति माध्यमिक विद्यालय' मा अवस्था ठीक उल्टो छ।
'अघिपछि बरू पठनपाठनको लक्ष्य ८० देखि ९० प्रतिशत मात्र पूरा हुन्थ्यो,' विद्यालयका संस्थापक एवं सुपरिचित कृषिविज्ञ मदन राई भन्छन्, 'लकडाउन सुरू भएपछि शतप्रतिशत लक्ष्य हासिल हुने गरी हामीकहाँ पढाइ अघि बढिरहेको छ।'
राईका अनुसार सामान्य अवस्थामा उनका शिक्षक र विद्यार्थीहरू बिदामा गइरहन्थे। अहिले घर जान पनि सदरमुकाम दिक्तेलबाट कागज बनाउनुपर्ने झमेलाले प्रायः सबै स्कुलमै छन्। त्यसले आफूहरूका हकमा परिस्थिति उल्टिएको उनी बताउँछन्।
त्यसैले त संसारभरका विद्यार्थी 'अब के होला?' भन्दै घरै बसिरहेका बेला यता भने संस्थापक राईले एक दिन पनि विद्यालय बन्द गरेका छैनन्। बरू चार दिनअघि मात्रै आफ्नो फेसबुकमार्फत् स्कुलमा नयाँ भर्ना सुरू भएको सूचना जारी गरे।
सूचनामा कक्षा ३ देखि १० सम्म विद्यार्थी भर्ना लिइने जानकारी छ। प्रत्येक कक्षानिम्ति छात्र र छात्राको कोटा तोकेरै माग गरिएको छ। एसइई दिएकाहरूलाई शिक्षा संकायमा पढाउने गरी कक्षा ११ मा भर्ना लिइने जानकारी पनि उल्लिखित छ। शिक्षकका हिसाबले तयार पारिने उनीहरूलाई बिएडसम्मको परीक्षा हाल बाहिरको कलेजबाट दिलाउने र स्कुलमा निःशुल्क बसोबास गराइने जानकारी सूचनामा छ।
अन्य विद्यार्थीका हकमा भने खान-बस्न लगायत सबै खर्च गरेर महिनाको छदेखि सात हजार रूपैयाँ पर्ने उल्लेख छ।
भर्नाको सूचनामा उदारताका नमूना पनि देखिन्छन्।
आमाबाबु लगायत अभिभावक नभएकालाई पूर्ण छात्रवृत्तिमा पढाइने भनिएको छ भने आमा मात्र भएका र गरिबले केवल ५० प्रतिशत शुल्क तिरे पुग्छ। त्यसै गरी लोपोन्मुख जातका केटाकेटीले ५० प्रतिशतदेखि पूर्ण छात्रवृत्तिसम्म पाउन सक्ने बन्दोबस्त छ।
स्कुल भ्रमण गर्न खोज्ने अभिभावकलाई केही दिन पाहुना बन्ने निम्तोसहित स्वागत गरिएको छ भने भर्ना लिन चाहने विद्यार्थीको अन्तर्वार्ता मेसेन्जर, भाइबर, ह्वाट्स एपमार्फत् दिन सकिने उल्लेख छ।
'स्कुलमा अहिले ४० जिल्लाका ४४ जातीय पृष्ठभूमिबाट आएका डेढ सय विद्यार्थी छन्,' राईले भने, 'यसपालि भर्ना लिएपछि विद्यार्थी संख्या दुई सय नाघ्नेछ।'
नेपालका अन्य विद्यालयभन्दा फरक आफूहरूले औपचारिक शिक्षा मात्र नभई क्षमतावान नागरिकसमेत तयार पार्ने अठोट बोकेको राई बताउँछन्।
उनका अनुसार यो विद्यालयमा केटाकेटीलाई किताब घोकाउन लगाइँदैन। बरू व्यवहारिक किसिमले सिकाइन्छ। यसरी तयार भएका विद्यार्थी कालान्तरमा जागिरे मानसिकताभन्दा उद्यमशील जनशक्तिका रूपमा अगाडि आउने उनी दाबी गर्छन्।
'मेरो स्कुलमा दस वर्ष बिताउने विद्यार्थीले नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ चार भाषामा कुरा गर्न सक्नेछ,' राई भन्छन्, 'त्यसबाहेक डिग्री बोकेर मात्र होइन, सयभन्दा बढी जीवनउपयोगी सीप सिकेर निस्कन्छ।'
हामीबीच टेलिफोन वार्ता चलिरहेको थियो। म ललितपुर, राई खोटाङमा। तर, उता जुन विद्यालय परिवेशमा बसेर राई मसँग कुराकानी गरिरहेका थिए, त्यो मेरो निम्ति नयाँ थिएन।
आजभन्दा करिब एक दशकअघि म त्यो आकार लिँदै गरेको स्कुल पुगेको थिएँ। त्यति बेला बिपी राजमार्ग निर्माण क्रममा थियो। हामी सुनकोशी तरेर पैदलै रामेछाप, ओखलढुंगा हुँदै खोटाङ पुगेका थियौं। दुई साता लगाएर संखुवासभासम्म पैदलै तय गरेको त्यो यात्रामा खोटाङ पुगेको रात मदन राईले भर्खर जग हाल्दै गरेको त्यही स्कुल हाम्रो बिसौनी बनेको थियो।
त्यो विद्यालयमा नेपालको पहाडी भेगमै उदाहरणीय बन्न सक्ने व्यवस्थित अतिथि-गृह थियो। त्यो अनकन्टार डाँडामा अतिथि-गृहको 'अट्याच बाथरुम' पनि अन्तभन्दा बेग्लै थियो। कमोड प्रयोग गरेपछि 'फ्लस' गर्न नमिल्ने। बरू छेउमा राखिएको भाँडाबाट दुई मुठी भुस कमोडमा हालिदिनुपर्ने।
'यसरी शौचालयमा जम्मा भएको मल हामीले बालीमा प्रयोग गर्ने गरेका छौं,' भोलिपल्ट विद्यालयका शिक्षक सूर्य राईले हामीलाई भनेका थिए, 'कृषिका यी र यस्ता मौलिक तरिका नै हामी यहाँका विद्यार्थीलाई सिकाइरहेका छौं।'
त्यो सपनाजस्तो एक रातको बसाइमा हामीलाई विद्यार्थीले नै सञ्चालन गरेको भान्छा-घरमा खाना खुवाइएको थियो। गीत-संगीतमा पारंगत विद्यार्थीले मध्यरातसम्मै नाचगान प्रस्तुत गरेका थिए।
'त्यो डाँडामा पछि पानीको समस्या भएपछि अहिले अर्को स्थानमा विद्यालय सारेका छौं,' राईले हामी पुगेको स्थान परिवर्तन भएको बताए, 'सर्ने बेलामै अनुमतिप्राप्त सरकारी विद्यालय नै पाएपछि अहिले उबेलाजस्तो बोर्डिङ पनि रहेन।'
राईले लिने बेला प्राथमिक तह रहेको 'जन-जागृति विद्यालय' अब माध्यमिक भइसकेको छ। यसै वर्ष 'प्लस टु' थप्ने तयारी छ।
संसारभर कोरोना कहर चलिरहेका बेला उनको स्कुललाई कसरी सुरक्षित राखेका रहेछन्? मेरो जिज्ञासा थियो।
'डेढ सय बच्चाहरू सम्हालेर एउटा परिवारैजस्तो गरेर बसेका छौं,' उनले भने, 'स्कुलबाहिर र भित्रको बीचमा त्यति सम्पर्क छैन।'
कोरोना आतंक सुरू हुँदा राईले बाहिरका मानिसलाई ढोकामै प्रवेश निषेध गरिदिएका थिए। अहिले खुकुलो पारेका छन्।
'स्कुल घुम्न वा केटाकेटी भर्नानिम्ति अवलोकन गर्न चाहनेहरूको अहिले लर्को लाग्न थाल्यो,' उनी भन्छन्, 'त्यसैले अहिले रुघा लागे-नलागेको पत्ता लगाएर प्रवेश खुला गरेका छौं।'
राईका अनुसार मास्क लगाउने, दुरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीका जे जति उपाय भनिएका छन्, ती सब दोश्रो कुरा हुन्।
'पहिलो भनेको कोरोनासँग लड्न शरीरलाई तयार बनाउनु हो,' उनी भन्छन्, 'त्यस निम्ति शरीरका सिपाहीरूपी एन्टिबडीलाई तगडा राख्नुपर्छ।'
तातो र पोषिलो खानेकुरा अनि पर्याप्त व्यायामले त्यो अवस्था आउने उनको भनाइ छ।
'यहाँका बच्चालाई पोषिलो खानेकुरा कमी छैन। दिनभर खेतबारीमा काम गर्छन्, प्लास्टिकले बारेर उनीहरूले नै बनाएको स्विमिङ पुलमा पौडन्छन्, उफ्रेर खेल्छन्, पारिलो घाम ताप्छन्, न्यूनतम आठ घन्टा सुत्नैपर्ने अनिवार्य नियम छ। त्यति भएपछि धेरै चिन्ता लिइरहनु पर्दैन,' उनी भन्छन्।
राईको स्कुलमा बितेका पाँच महिनायता जम्मा दुई जनालाई थोरै टाउको दुखेको थियो, साँझपख पानीमा धेरै बेर पौडी खेलेकाले। त्यो पनि निको भइसक्यो।
'पोहोर योभन्दा धेरै बिरामी परेका थिए,' उनी भन्छन्, 'यसपालि हामीले बढी सावधानी अपनाएकाले नियन्त्रित छ।'
यसरी अनौठो किसिमले विद्यालय चलाइरहेका मदन राई को हुन्?
पछिल्लो समय युट्युबमा झुम्मिएका दर्शकले उनलाई 'यौनबारे उन्मुक्त भएर बोल्ने मानिस' का रूपमा चिन्छन्।
युट्युबरलाई जे देखाएर भए पनि उनीहरूको च्यानल हेरिदिने दर्शक बढाउनुपर्ने हुन्छ। यता राईलाई भने मनमा लागेका कुरा बोल्न कुनै दकस छैन।
'यौन खराब कुरा होइन,' ७२ वर्षीय राई हाकाहाकी भन्छन्, 'मसँग त्यही सोध्न आएपछि म पनि उनीहरूलाई सन्तुष्ट हुने गरी जवाफ दिएर पठाइदिन्छु।'
मदन राईको परिचय योभन्दा फराकिलो छ।
'मेरो गाउँमा अहिले पनि न बिजुली बल्छ न मोटर जान्छ,' उनी भन्छन्, 'त्यति बेला त झनै अनकन्टार ठाउँमा नौ वर्षको उमेरसम्म मैले कखरा पढ्ने मौका पनि पाएको थिइनँ।'
उनले खोटाङमै एसएलसीसम्म पढे।
'त्यसपछि काठमाडौं पढ्न जाँदा मेरो श्रीसम्पत्ति भनेकै आमाले दिएको आधा तोलाको मारवाडी सुन, डोकोमा चार माना चामल, चार मुठी सिन्की अनि पकाएर खान एउटा सिलावरको भाँडो थियो,' उनी भन्छन्, 'भरियाले जस्तै त्यही डोको बोकेर धरान झरेको थिएँ।'
त्यसरी अन्जान काठमाडौं आइपुगेका राईले भारतबाट कृषिमा स्नातक र बेलायतबाट स्नातकोत्तर गरे। धेरै विषयमा स्नातकोत्तर गरेका उनले फ्रान्स, स्विट्जरल्यान्ड, जापान र इजरायलबाट पनि उच्च शिक्षा लिए। अमेरिकामा पिएचडी गर्दागर्दै राष्ट्रसंघको जागिर पाए।
'पिएचडी भनेको कुनै ठूलो कुरो होइन,' उनी ठट्टामा उडाउँदै भन्छन्, 'त्यो नाथे त जहिले पनि गर्न सकिन्छ।'
बरू राष्ट्रसंघमा १५ वर्ष जागिर खाँदा १२ वटा देशमा काम गर्नुको अनुभव महत्वपूर्ण भएको उनी बताउँछन्।
'विद्यार्थी भएर पढ्दै र जागिरे भएर संसार डुल्दाडुल्दै म ७२ वटा मुलुक पुगेँ,' उनी भन्छन्, 'आफू उच्च ओहोदामा भए पनि ती सबै मुलुकमा नेपालीलाई हेर्ने दृष्टिकोण असाध्यै नाजुक पाएँ।'
यस्तो हुनुको कारण के रहेछ? यो जिज्ञासाले राईभित्र खुल्दुली मच्चियो।
'गरिबी,' उनले भने, 'गरिबीकै कारण हामीलाई सबैतिर हेप्दा रहेछन्।'
अनि नेपाल गरिब कसरी भयो? यो फेरि उनले बुझेनन्।
'मेरो बुझाइमा देश सम्पन्न हुने भनेको पानी र वनस्पतिले हो। त्यसपछि धातुले,' उनी भन्छन्, 'अनि पानी र वनस्पतिमा त हामी बेपत्ता धनी छौं।'
त्यसो भए केले हामीलाई दरिद्र बनायो?
राईलाई लागेछ यो मुलुकको राजनीति ठीक भएन।
भर्खर-भर्खर पढाइ सकेका बेला मुलुकमा पञ्चायती व्यवस्था थियो। त्यो बेला राईले मुस्ताङ जिल्लामा गएर सेवा गरेका थिए।
'मार्फामा स्याउ फलाएर राजा वीरेन्द्रलाई चखाएपछि उनी असाध्यै खुसी भए,' राई सम्झन्छन्, 'मेरो आठ वर्षे कार्यकालमै उनले चारवटा तक्मा दिएका थिए।'
त्यति कम उमेरमै प्रथम श्रेणीको जागिरे भएका राईका निम्ति त्यो ठूलो उपलब्धि थियो। सक्रिय राजतन्त्र बेला कतैबाट पनि राजाको नजिक नरहेका आफूजस्ताका लागि त त्यत्रा तक्मा झनै दुर्लभ भएको उनी बताउँछन्। तै पनि विदेशको अझ ठूलो अवसरले उनले सरकारी जागिर छाडे।
'राष्ट्रसंघमा पेन्सन पकाएर नेपाल आउँदा यहाँ प्रजातन्त्र आइसकेको थियो,' राई भन्छन्, 'त्यसैले राजनीति गरेर मुलुकको मुहार फेरिदिने अठोट मभित्र पस्यो।'
उनी नेपाली कांग्रेसमा लागे। गिरिजाप्रसाद कोइराला नजिक पुगे।
'मैले कांग्रेसभित्र झनै घिनलाग्दो रूप देखेँ,' उनी भन्छन्, 'एक हिसाबले राजनीतिबाटै वितृष्णा भयो।'
आफूले युरोप, अमेरिका बसेर पढ्दा देखे–बुझेको प्रजातन्त्र र नेपालमा भनिएको प्रजातन्त्रमा आकाश-जमिन अन्तर थियो।
'कांग्रेस हेर्दा कांग्रेस उस्तै, कम्युनिस्ट हेर्दा कम्युनिस्ट उस्तै,' उनी भन्छन्, 'मलाई त बरू यिनीहरूभन्दा राजा नै ठीक थिए कि भन्ने पो लाग्न थाल्यो।'
यसैबीच एकदिन 'लु यसरी हुँदैन' भनेर आफूले पार्टी छाडेको उनले सुनाए।
प्रजातन्त्र पनि अफापसिद्ध हुने यो मुलुकमा समस्याको जरा कहाँनिर छ भनेर झनै तीव्र छटपटी हुन थाल्यो।
'त्यसपछि बल्ल मैले पत्ता लगाएँ,' राई भन्छन्, 'समस्याको जरा रहेछ बिग्रिएका मानिसमा।'
त्यसपछि मानिस किन बिग्रिए भन्ने खोजीमा लागेछन्।
त्यो पनि धेरै दिनसम्म रहस्य बनेन। जुन पानी र वनस्पतिका कारण यो मुलुक सम्पन्न छ भन्ने उनी ठान्थे, त्यही मुलुकका मानिसको दिमागमा एउटै कुरा भरिएको हुँदो रहेछ- पढेपछि हलो जोत्नु पर्दैन।
'हो...त्यहाँ रहेछ समस्या,' उनले थपे, 'आजपर्यन्त त्यही चलिरहेको छ।'
आफूले कृषि विज्ञान पढेको। बेलायतमा पढ्दा माटोको महत्व बुझेको। अनि यहाँ चाहिँ माटोको यत्रो उपेक्षा छ। त्यत्रा संसारभरका प्रमाणपत्र थुपारेपछि आफूले 'हलो नजोती हुँदैन' भन्ने जुन ज्ञान पाए, त्यही कुरा यहाँ उपेक्षित रहेछ।
'संसारमा जति पनि धनी मुलुक छन्, त्यसलाई थोरै राम्रा मानिसले बनाएकै कारण त्यो अवस्थामा पुगेका हुन्,' उनले थपे, 'त्यसैले बिग्रेका मानिस सपार्न सकियो भने सबै कुरा बन्छ भन्ने मलाई लाग्यो र यता पाइला चालेँ।'
कांग्रेसको राजनीति छाडेपछि नै मदन राईले गाउँ आएर साथीभाइ जम्मा गर्न थाले। 'खोटाङ विकास मञ्च' खडा गरे। पाँच-सात वर्षमै १७ हजारभन्दा बढी युवालाई कृषि तालिम दिएर दक्ष बनाए।
'तर काम लागेन,' उनी भन्छन्, 'त्यहाँ पनि फेल खाएँ।'
उनलाई चक्कर लाग्न थालेछ- के कारणले यसरी दक्ष बनाएका युवा काम लागेनन्?
त्यसको कारण पनि पत्ता लाग्यो। मानिसको किशोरवय कट्दा नकट्दै बानी बिग्रिसकेको हुँदो रहेछ।
'जन्मँदा खाली जन्मेको मानिसलाई अनेक नचाहिँदा कुरा दिमागमा भर्दै हुर्काइसकेका हुन्छौं,' उनी भन्छन्, 'त्यसपछि जे जति सिकाए पनि काम लाग्दैन।'
राई फेरि नयाँ योजना बनाउनतिर लागे।
'अब भने एउटा बोर्डिङ स्कुलजस्तो चलाउने र पाँचदेखि आठ वर्षबीचका केटाकेटीदेखि नै लिन सुरू गर्ने विचार गरेँ,' राईले भने, 'बल्लतल्ल आएर अब भने ठ्याक्कै मैले चिताएकै कुरा भइरहेको छ।'
आफ्नो परियोजनाले बितेका सात वर्षमा नपत्याउँदो ढंगले सफलताको सिँढी उक्लँदै गएको उनी सुनाउँछन्।
सुरूमा त पढाइमा ठ्याम्मै मन नलगाउने केटाकेटी मात्र उनको स्कुल आइपुगे। कतिपय त वर्षौं बोर्डिङमा राख्दा पनि पढ्दै नपढेका। दिक्क लागेपछि बाबुआमाले 'डाँडा' को स्कुल पठाइदिएका।
'तिनीहरु कहाँ नराम्रो केटाकेटी हुनु,' राई भन्छन्, 'किताब घोक्न मन नपराउने मात्रै थिए।'
राईले विद्यार्थीको रूचिअनुसारका काम र प्रविधि अगाडि राखिदिएपछि उनीहरूले नै फटाफट एक–एक थोक समाते। कसैले मेसिन समाते, कसैले पशुपंक्षी, कसैले बिरूवा त कोही माछा भनेपछि हुरुक्कै। कोही लुगा सिलाउन पारंगत कोही भान्छामा मिठो-मिठो पकाउने। अनि कसैलाई गीत-संगीतमा रूचि देखियो।
रुकुमबाट आएका एउटा बालकसँगको त्यस्तै अनुभव रह्यो। उसलाई चार वर्षसम्म बोर्डिङमा राख्दा पनि नपढेपछि बाबुआमाले दिनरातै कुट्दा रहेछन्। पछि राईकहाँ लिएर आए।
आउनेबित्तिकै राईले 'के गर्ने इच्छा छ?' भनेर सोधे।
बालकले भन्यो, 'मेसिन चलाउने इच्छा छ।'
'मकहाँ खेत जोत्ने टिलर मेसिन थियो,' राई भन्छन्, 'उसलाई देखाउनेबित्तिकै आँखा चम्कायो।'
लगत्तै राम्ररी सिकाउन पनि नपाउँदै ती बालकले पारंगतले जस्तै जोत्न थालेको राई सम्झन्छन्।
'पहिलोपटकमै एक गह्रा खेत आधा घन्टामै जोतेर देखाइदियो,' उनले भने, 'बच्चो जन्मेको एउटा थोकका लागि छ, उसलाई अर्कै थोकमा जबर्जस्ती गर्दा यस्तै हुन्छ।'
यसरी टिलर मेसिन चलाउन थालेका ती बालकलाई विस्तारै पढाइतिर लगाउन खोजेको र अचेल ध्यान दिन थालिरहेको राईले बताए।
'विज्ञानको किताब देखाएर न्युटनको चाल नियम घोक्न लगाएर के गर्ने,' राई भन्छन्, 'त्यो टिलर चलाउँदा चलाउँदै त्यही नियम सिकाइदिने हो भने उसले कहिल्यै बिर्सिँदैन।'
ती बालक अहिले राईको स्कुलमै विद्युतीय, मेकानिकल र प्लम्बिङको कामका लागि सबभन्दा उपयोगी बनिसकेका रहेछन्।
यसरी विद्यार्थी तयार गर्दा व्यवहारिक ज्ञान मात्र नभई सरकारले निर्धारण गरेको शैक्षिक पाठ्यक्रम पनि पछ्याएको राई सुनाउँछन्।
सरकारी पाठ्यक्रमलाई आफूहरूले एकरत्ति परिवर्तन नगरेको उनले बताए, 'नेपालको पाठ्यक्रम ठिकठिकै छ। तर सरकारी पाठ्यपुस्तक कामै नलाग्ने छ।'
त्यसैले सरकारी पाठ्यक्रम पछ्याए पनि पाठ्यपुस्तक भने आफूहरूले नपढाएको राई बताउँछन्।
'हामी सुरूमा केटाकेटीलाई लेख्न र बोल्न पारंगत बनाउँछौं,' उनी भन्छन्, 'त्यसपछि काम गर्न पठाउँछौं र गरेका काम दैनिक डायरीमा लेख्न लगाउँछौं।'
यसरी लेख्दा विद्यार्थीको बुझाइ स्पष्ट थाहा हुने उनी बताउँछन्।
'अहिलेको शिक्षा प्रणालीले टाउकाले टेकेर हिँड्न सिकाइरहेको छ,' उनी भन्छन्, 'हामीले गर्न खोजेको फरक भनेकै टाउकाले होइन खुट्टाले टेकेर हिँड्न लगाउने हो।'
यसरी पढाएका विद्यार्थी साधारण शिक्षामा त अब्बल हुन्छन् नै, अन्तका विद्यार्थीले नजान्ने अर्थात् व्यवहारिक शिक्षामा झन् कहाँ हो कहाँ पारंगत हुनपुग्ने राईको ठोकुवा छ।
माध्यमिक तहसम्म आफूहरूकै स्कुलमा पढाए पनि त्यसमाथि पढाउन बाहिरका अध्ययन संस्थानसँग समझदारीमा भर्ना गरिदिने गरेको राईले जानकारी दिए। त्यस्ता विद्यार्थी परीक्षा दिन मात्र बाहिर जान्छन्।
'धेरैजसो त मैले नै पढाएर तयार पारिदिन्छु,' राई भन्छन्, 'कोही पनि फेल हुँदैनन्। बरू विशिष्ट श्रेणीमा पास भइरहेका छन्।'
यसरी आफूकहाँबाटै पढाइ सुरू गरेर स्नातकोत्तरसम्म पढेका विद्यार्थी टन्नै भइसकेको उनी बताउँछन्। भविष्यमा आफ्ना विद्यार्थी ७७ वटै जिल्लामा फैलिऊन् भन्ने सोच उनले लिएका छन्।
'तीन वर्षभित्र काठमाडौं र चितवनमा समेत हाम्रो स्कुल खुल्नेछ,' उनले भने, 'सिरहाका लागि पनि काम अघि बढिरहेको छ।'
राईको विद्यालयमा प्रायः समाजबाट उपेक्षा भोगेका र गरिब पृष्ठभूमिका विद्यार्थी आइरहेका छन्। आफूले खोल्न खोजेको स्कुलमा सुरूमा यस्तै विद्यार्थी मात्र आउँछन् भन्ने पहिल्यै थाहा पाएको उनी बताउँछन्।
जो भए पनि स्कुलमा आउनेबित्तिकै प्रत्येक बच्चालाई राई भन्छन्- आजदेखि तिमीहरू मेरा नातिनातिना भयौ। तिमीहरूले आजैदेखि आफूलाई धनी र जान्ने बाजेको नातिनातिना भन्ठान। थाहा पाईपाई बिराउने काम नगर्नू र कहिल्यै कसैसँग नडराउनू।'
'मैले आड-भरोसा दिएपछि उनीहरूको आत्मविश्वासै अर्को हुन्छ,' राईले सुनाए, 'व्यवहारमै पनि यी मेरा नातिनातिनाजस्तै छन्।'
आफूलाई स्कुल चलाएर व्यापार गर्नेभन्दा यो देशको जरामै लागेको रोग निको पार्नुपर्ने भएकाले कुन बच्चा कस्तो पृष्ठभूमिको भन्नेमा उत्तिको मतलब नरहेको उनको भनाइ छ।
स्कुल खोल्ने बेला राईलाई धेरैले 'तिमीकहाँ पैसा बुझाएर पढाउन कसैले आफ्नो बच्चा ल्याउँदैनन्' भनेका थिए।
'तर, म यो स्कुललाई त्यो उचाइमा पुर्याएरै छाड्छु,' ७२ वर्षीय उमेरमा पनि दृढ विश्वास प्रकट गर्दै राईले भने, 'जहाँ भोलि मुलुककै सर्वाधिक धनीमानीले 'डोनेसन' दिएर आफ्ना केटाकेटी भर्ना गर्न ल्याउने छन्।'
सबै तस्बिर सौजन्यः मदन राई
(गिरीश गिरीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुस्)