जनकपुरमा पत्थरीको अपरेसन गरिएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
चिकित्सको लापरबाहीले उनको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गर्ने प्रयास गरेका छन्।
महोत्तरीको बलवा नगरपालिका- ११ भगवतीपुरकी ३५ वर्षीया रुकमिणी सदाको साउन १९ गते पेट अचानक फुल्यो र दुख्न थाल्यो।
ग्यास्ट्रिकका कारण पेटमा भयो होला भनेर परिवारले उनलाई ६ दिन घरमै राखे।
अवस्था बिग्रिँदै गएपछि उनलाई साउन २५ गते जनकपुरको नवजीवन अस्पतालमा भर्ना गरिएको मृतककी बुहारी शिवसति सदाले बताइन्।
‘अस्पतालमा भर्ना गराएको ४ दिनसम्म चिकित्सकहरुले सामान्य उपचार गरिरहे, पछि शल्यक्रिया गर्नुपर्छ भनेपछि हामी आत्तियौं,’ उनले भनिन्।
चिकित्सकहरुले ६ घन्टा लगाएर उनको शल्यक्रिया गरे।
पछि बाँच्ने अवस्था नदेखेपछि यहाँ यो बिरामीको उपचार सम्भव नरहेको भन्दै बाहिर लैजान भनेको शिवसतिले बताइन्।
‘हामी गरिब छौं, कहाँ बाहिर लाने, फेरि यहाँ शल्यक्रिया भइसकेको छ, बाटोमा केही भइहाल्यो भने के गर्ने? भने पछि चिकित्सकले ६० हजार रुपैयाँ जम्मा गर्नुस्। हामी बचाउने प्रयास गर्छौं भने,’ उनले भनिन् ‘त्यसो भनेको केही घन्टा नबित्दै मेरी सासुको मृत्यु भयो।’
डाक्टरहरूले आफ्नी सासुको आन्द्रा काटिदिएको उनको आरोप छ।
‘अप्रेसन गरेको एक दिनमात्रै भएको थियो, उहाँलाई श्वास लिन गाह्रो भयो। हामीले चिकित्सक बोलाउन गयौं, क्याबिनमा जाँदा तिम्रो बिरामीमात्रै हेर्ने फुर्सद छैन भनेर हप्काए,’ उनले भनिन्, ‘बढी बोलेमा यहाँबाट डिस्चार्ज गरेर भगाइदिने धम्की दिए।’
रूकमिणीको मृत्युपछि उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने माग गर्दै आक्रोसित आफन्तजनले अस्पतालमा तोडफोड गर्ने प्रयास गरेका छन्। त्यस क्रममा बिहीबार राति प्रहरी र मृतकका आफन्तबीच झडपसमेत भएको थियो।
नवजीवन हस्पिटलका इन्चार्ज अखिलेश साहले बिरामीमा पेट दुख्ने, खाएको खाना नपच्ने, बान्ता हुने, पेट फुल्नेजस्ता समस्या देखेपछि सर्जन सञ्जय चौधरीको नेतृत्वमा उपचार भएको बताए। डाक्टर चौधरीले यस्ता केसमा बिरामी आफैं स्वस्थ भएर जानेसमेत सम्भावना रहेको भनेपछि केही दिन औषधी चलाएरै हेरेको साहको भनाइ छ।
त्यसपछि पनि सुधार नदेखिएपछि बिरामीका आफन्तको सहमतिमै शल्यक्रिया गरिएको उनले बताए।
‘शल्यक्रियापछि बिरामीको आँत पल्टिएको, गल ब्लडरमा क्यान्सर लागेकोजस्तो देखिएको थियो,’ उनले भने,‘हामीले बिरामीलाई बचाउने प्रयास गर्यौं, तर सकेनौं।’