शुक्रबार राति काठमाडौंको मनमैंजुस्थित एक खाजा घरमा विवाद हुँदा नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या भयो।
चक्कु प्रहारबाट घाइते उनलाई अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। तामाङको हत्या भएको २४ घण्टा नबित्दै प्रहरीले माछापोखरीस्थित एक गेष्ट हाउसबाट हत्या आरोपी दोर्जे शेर्पालाई पक्राउ गर्यो।
श्रीमती र पूर्वप्रेमिकाको झगडाका कारण लक्ष्मणले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार पक्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र पूर्वप्रेमिकाबीच झगडा भएको र त्यही विवादका क्रममा चक्कु प्रहारबाट उनको ज्यान गएको प्रहरीसमक्ष बताएका छन्।
लक्ष्मण विवाहपछि पनि पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा रहिरहेपछि उनको श्रीमतीले त्यसमा आपत्ति जनाउँदै आइरहेको एसपी कार्कीले बताए।
लक्ष्मणले २ महिनाअघि मात्र विवाह गरेका थिए।
पूर्वप्रेमिकासँग सम्पर्क नगर्न लक्ष्मणलाई श्रीमतीले बारम्बार आग्रह गर्दा पनिे उनले मानेका थिएनन्। त्यसपछि लक्ष्मणकी श्रीमतीले उनको पूर्वप्रेमिकालाई फोन गरी थर्काउँदै आइरहेकी थिइन्।
उनीहरूबीच पछिल्लो समय फोनमा चर्काचर्की परेपछि मनमैंजुस्थित एक खाजा घरमा छलफल गर्न आएका थिए। सोही क्रममा लक्ष्मणकी पूर्वप्रेमिकाले उनको साथी दोर्जेलाई पनि बोलाएकी थिइन्।
छलफल हुँदै गर्दा त्यसले उग्ररूप लिएको र लक्ष्मणले आफूमाथि चक्कु प्रहार गर्दा त्यसलाई समातेर उनैतर्फ फर्काएको दोर्जेले बयान दिएका छन्।