तीन दशक बढी भयो तिलकको सुख-दुःखको साथी नाम्लो भएको। नाम्लोको पातोले उनको थाप्लोको भार बुझेको छ। यसको बरियोले पिठ्युँको दुखाइ भोगेको छ। थाप्लोको भारले उनको कर्म पूरा हुन्छ। पिठ्युँको दुखाइसँगै पेटमा आहारा पर्छ।
तर पाँच महिनायता तिलकको थाप्लोले सोचेजस्तो कर्म पाएको छैन। पिठ्युँको दुखाइ नभएकै कारण पेटमा राम्रो खाना पुगेको छैन। नाम्लोले आराम पाउँदा उनी पनि 'आराम' गर्दैछन्।
न्युरोड क्षेत्र सेरोफेरो, बांगेमुडाका भरिया हुन् ५६ वर्षीय तिलक सुवेदी।
यतिबेला काठमाडौं सुनसान छ। व्यापार-व्यवसाय ठप्प हुँदा ठूल्ठूला व्यापारीलाई मात्र होइन, योसँगै जोडिएका मजदुर समेत मर्कामा परे। बजार बन्द भएलगत्तै भरियाहरू थप समस्यामा परेको सामूहिक बोली तिलक सुनाउँछन्।
'पहिले आठ-नौ सय कमाउन सजिलो थियो। अहिले सय रूपैयाँ कमाउन गाह्रो छ,' तिलक भन्छन्, 'गोदामहरू बन्द छन्। स-साना पसलमा भरियाको उत्ति काम पर्दैन। हामीलाई काम पाउनै मुश्किल छ। हात-मुख जोड्नै धौधौ परिसक्यो।'
मैलो टि-सर्ट, त्यसमाथि जिन्सको ज्याकेट अनि झुत्रे पाइन्ट। गोडामा बलियो चप्पल लगाएका तिलक टन्टलापुर घाम होस् वा बर्खे झरी, सधैं बांगेमुडा चोकमै हुन्छन्। घाम चर्के त्यही पेटीमा निदाउँछन्, पानी परे ओत लाग्छन्। बिहान ७ बजे चिया-नास्ता खाएर उनी चोकमा काम कुर्न पुग्छन्।
काम होस्, नहोस् साँझ ७ बजेसम्म त्यहीँ वरिपरि हुन्छन्। अचेल बजार खुल्ने आशैआशमा दिन कटाउँदैछन्।
तिलकसँग हाम्रो भेट हुँदा मध्य दिन भइसकेको थियो। त्यतिन्जेल उनले दुई भारी बोकेछन्, ४० र ५० रुपैयाँको। उनी भारी र दुरीका हिसाबमा पारिश्रमिक लिन्छन्।
सामान्य अवस्थामा यतिन्जेल हजार-पन्ध्र सय सजिलै कमाउँथे। चोकदेखि भारी बोक्दै न्युरोड पुग्थे। प्रायः असन, विशाल बजार, महाबौद्ध, खिचापोखरी, सुन्धारा, डल्लु, नरदेवी, ठैंटी, क्षेत्रपाटीसम्म भ्याउँछन्। पैसा राम्रो मिले योभन्दा बढी दुरी नाप्छन्।
तिलक धादिङका हुन्। उनी र एक जना साथी मिलेर डल्लुको एउटा पुरानो घरमा कोठा लिएका छन्। महिनाको १५ सय भाडा तिर्छन्।
उनीहरूलाई असहज थिएन। लकडाउनमा भने खाद्यान्न किन्नै मुश्किल भयो। कोठा बहाल तिर्न सकेनन्।
'धन्न घरबेटीले ३ महिनाको बहाल छुट दिए,' उनले केही खुसी मिसाउँदै भने।
तिलकले भारी बोकेको ३५ वर्ष भइसक्यो। लकडाउनका कारण झेलिरहेको अवस्था यसअघि कहिल्यै अनुभव नगरेको बताउँछन्।
२०४६ र २०६२-६३ सालको आन्दोलनमा समेत तिलक सहरमै थिए। त्यसबखत आन्दोलन नजिकबाट नियालेका उनको काम भने रोकिएन। न भोकमरी नै सहनु पर्यो। यसपालि भने 'बिहान खाए बेलुका के, बेलुका खाए बिहान के' दुविधामा बाँचिरहेका छन्।
गाँसकै लागि एक पटक उनी लकडाउनका समय लुकीलुकी भारी बोक्न हिँडेछन्। छोटो दुरी (मख्खन गल्लीमा) नै भए पनि २ सय पारिश्रमिक पाउँदै थिए।
'भारी बोकेर विस्तारै हिँड्दैथेँ, पछाडिबाट पुलिसले लौराले स्वाट्टै हाने,' तिलकले प्रहरीसँगको आमनेसामने सुनाए, 'मैले त केही भनिनँ। साहुको भारी थियो। उनीहरू गएपछि खोल्चे हुँदै भारी पुर्याएँ। कर्म पूरा गरेँ।'
गल्ली-गल्ली लुकेर, लाठी खाँदै उनले सकेसम्म भारी बोके। तै पनि खान पुग्थेन।
साथीभाइबाट एकदिन सुने- सामुदायिक संस्थाहरूबाट बल्खु, कुलेश्वर, क्षेत्रपाटी, रत्नपार्क लगायत ठाउँमा खाना खुवाइन्छ।
झन्डै २ महिना यसरी संस्थाले बाँडेको खाना खान पुगे, भरपेट खाए। उनी लगायत अन्य भरिया खुसी थिए। काम नभए पनि बिहान-बेलुका टन्न खान पाएको छ भन्ने थियो। तर लकडाउन खुलेसँगै संस्थाले खाना खुवाउने जिम्मेवारी पनि टुंग्याए।
अनि फेरि सुरू भयो तिलकको पेट दुखाइ जसको औषधि जुटाउन उनलाई हम्मे परेको छ!
'लकडाउन हुँदा खान नपाएर मरिन्छ भन्ने त थिएन। कसैले खाना, कसैले चिउरा, दालमोट, चाउचाउ खुवाउँथे। ठाउँठाउँमा पानी पनि थियो,' उनी दुखेसो पोख्छन्, 'अहिले न लकडाउन छ, न काम। यस्तोमा एक छाक खान गाह्रो छ।'
उनी अचेल १० रुपैयाँको चिउरा अनि दालमोट किनेर खाने बताउँछन्। चिउरा-पानी नै सास अल्झाउने बाटो भएको छ। अनि यति बेला कोरोना भाइरसले भन्दा भोकले मरिएला कि भन्ने पिरले सताएको छ।
तिलक भोकै भए पनि वरिपरिका पसलमा उधारो माग्दैनन्। उनी यो समाजलाई 'बाउले छोरा खाने समाज' भन्छन्। अर्थात् आफ्नै परिवारमा समेत मन नमिल्ने समाजमा बाहिरी मानिससँग अभद्र व्यवहारबाहेक आश गर्ने केही छैन। आफूजस्ता भरिया काम गर्नेलाई समाजले नगन्ने गुनासो उनी पोख्छन्।
'अपशब्द बोल्छन्, तुच्छ सोच बोकेका मानिस देख्दा मन खिन्न हुन्छ,' उनी भन्छन्।
२०३८ सालमा धादिङबाट एसएलसी पास गरेका तिलक गाउँमै पुर्ख्यौली व्यवसाय सम्हाल्दै थिए, खेतीपाती। खेत र पाखोबारी गरेर १२ रोपनी जमिन रहेछ। वस्तु पाल्थे। त्यहीँ कमाइ गर्थे। तर २०४२ सालतिर उनी अरू नै काम गर्ने सोचले काठमाडौं पसे।
'त्यति बेला यही भरिया काम थालियो। खेती लगाउने बेला गाउँ फर्कन पनि सजिलो। यता पनि काम हुने उता पनि भ्याउने भन्ने थियो,' उनी सुनाउँछन्, 'विस्तारै यही कर्म भयो। यसैमा लागि परेँ।'
त्यसबखत उनले एक भारी बोक्दा ५ रुपैयाँ कमाउँथे। सात रूपैयाँमा भरपेट खान्थे। अहिले पनि बलियो एक भारी पाए १५० देखि २०० सम्म पाउँछन्। त्यसैले खान पुग्छ।
उमेर ६० तिर उक्लिँदा पनि उनी अझै ७० किलोसम्म भारी आरामले बोक्छन्। कुनै समय त्यही नाम्लो अनि पिठ्युँले १०० किलो बढी बोक्थे रे।
तिलकले बेलाबेला ज्यामी काम पनि गरे। एकताका ठेला किन्ने सोच पनि पलायो। तर ठेलाभन्दा भरिया सजिलो माने, यसमै टिके।
सामान्य समयका तुलनामा यतिबेला सहरमा भरिया कम छन्। लकडाउनअघि नै धेरै भरिया टाढाका गाउँघर पसे। तिलक यतै बसेका थिए किनकि लकडाउनले यति लामो असर देखाउला भन्ने सोचेकै थिएनन्।
भरिया काम गरेरै श्रीमती र दुई सन्तान हुर्काएका तिलक यतिबेला असन्तुष्ट र अलमलमा छन्। सहरमा बाँच्न कठिन लागेको छ। महिना दिनअघि उनी घर जान नखोजेका होइनन्। नाकामा कडाइका कारण रोकिए। अब अवस्था सामान्य भएसँगै गाउँ फर्केर तरकारी खेती गर्ने सोचमा छन्।
तीन दशक बढी समय भारी बोकेर थाप्लो, काँध, हत्केला खियाएका तिलक भन्छन्, 'अब त भरिया हुन नसकिएला। सधैं दुःख गरेँ, दुःखले सुख कहिल्यै दिएन। मेरो भागमा सुख परेन क्यार। रूँदै जाऊँ भने कहाँ जाऊँ, हामीलाई कल्ले हेर्ने। अरूले हेर्छन् भन्ने आशमा भोको पेट भरिँदैन पनि।'
(जुना श्रेष्ठका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)