बाराको परवानीपुर गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुष पेट दुख्ने समस्या भएपछि गाउँकै क्लिनिकबाट पेन किलर किनेर खान्थे।
तर केही दिनअघि समस्या बढ्दै गयो। उनलाई छोराहरूले वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरे। त्यहाँ करिब दुई दिन राखेर स्वास्थ्य जाँच गरियो।
दुई दिनपछि अस्पतालले उनलाई डिस्चार्ज गरी घर पठायो तर त्यसको दुई दिनपछि उनमा फेरि त्यही समस्या देखिन सुरू भयो।
समस्या पहिलेभन्दा बढेको थियो। फेरि उनी वीरगन्जकै अर्को तराई हस्पिटलमा भर्ना भए।
त्यहाँका चिकित्सकहरूले पनि उनको एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान गर्न सुझाए। ती सबै जाँच गरियो।
त्यसमा लगभग २५ देखि ३० हजारसम्म रकम खर्च भएको उनले बताए।
त्यति गर्दा पनि उनमा सुधार नदेखिपछि तराई हस्पिटलले चितवन मेडिकल कलेज रिफर गरिदियो।
उनी त्यहाँ करिब १२ दिनसम्म बसे। त्यसक्रममै उनको उपचारमा खटिएका चिकित्सकले हस्पिटलमै रहेको कोरोना जाँच शिविरमा स्वाब टेष्ट गराउन सुझाव दिए।
पाँच हजार तिरेर उनले त्यहाँ आफ्नो स्वाब दिए। त्यसपछि चिकित्सकले उनलाई औषधी दिएर डिस्चार्ज गरे। उनी गत बिहीबार घर फर्किए।
घर आएको दुई दिनपछि आफ्नो कोरोना जाँचको रिपोर्ट पोजेटिभ आएको उनले थाहा पाए।
आफू संक्रमित भएको जानकारी पाएलगत्तै उनी परिवारलाई सुरक्षित राख्ने उद्देश्यले आइसोलेसन जान खोजे। त्यसका लागि उनले सबैभन्दा पहिले आफ्ना वडाध्यक्षलाई फोन गरे। एम्बुलेन्सको व्यवस्था गरिदिन आग्रह गरे। वडाध्यक्षले एम्बुलेन्स व्यवस्था गर्न सकेनन्।
उनले गाउँपालिका अध्यक्षलाई फोन गरे। उनलाई पनि आफू कोरोना संक्रमित भएको र आइसोलेसनमा पठाइदिन भने।
गाउँपालिका अध्यक्षले पनि उनको समस्याको समाधान दिन सकेनन्। हारगुहार गर्दागर्दै उनी संक्रमित भएको एक दिन बित्यो। वडाध्यक्ष र गाउँपालिका अध्यक्षले वास्ता नगरेपछि अन्तिम विकल्पको रुपमा उनले बाराका प्रमुख जिल्ला अधिकारीलाई फोन गरे।
सिडिओलाई फोन गर्दा उनले झन् रुखो जवाफ पाए।
‘गाउँपालिका अध्यक्ष र वडाध्यक्षले वास्ता नगरेपछि मैले प्रमुख जिल्ला अधिकारीलाई जहाँको आइसोलेसन भए पनि पुर्याइदिन पहल गरिदिन आग्रह गरें,’ उनले भने, ‘सुरुमा उहाँले म तिम्रो ड्राइभर हुँ र भन्ने जवाफ फर्काउनुभयो पछि आफैं उपाय गरेर जानुस् म प्रहरी पठाइदिन्छु भन्दै फोन राखी दिनुभयो ।’
अन्त्यमा उनी जेठो छोरोको सहारा लिँदै वीरगन्जको नेशनल हेल्थ केयरसम्म पुगे।
त्यहाँ पुग्दा अब आइसोलेसनमा भर्ना पाउँछु भन्ने आश लिएका उनलाई त्यहाँ पनि व्यवस्थापन पक्षले लगभग दुई घण्टासम्म गेटबाहिरै कुरायो।
‘एकछिन्-एकछिन् भन्दा भन्दै करिब दुई घण्टासम्म बाहिरै बस्नुपर्यो, म सडक छेउमै सुतें। त्यहीबेला कसैले मेरो फोटो खिचिदिएछ,’ उनले भने, ‘घण्टौंको प्रतिक्षापछि नेशनल हेल्थ केयरको प्रशासनले भन्यो- बिना सिफारिस संक्रमित लिँदैनौं।’
जस्तोसुकै ठाउँमा राखे पनि आफू बस्ने भन्दै आग्रह गरेपछि दांगापुरस्थित आइसोलेसन सेन्टरमा आफूलाई भर्ना गरिएको उनले बताए।
परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले भने विभिन्न स्थानमा दौडधुप गरेका कारण एम्बुलेन्स चालक बिरामी परेकाले संक्रमितलाई ल्याउन नसकेको प्रतिक्रिया दिए।
‘उहाँलाई हाम्रै गाउँपालिकाको एम्बुलेन्समा चितवन पुर्याइएको थियो र ल्याइएको थियो। त्यसपछि एम्बुलेन्स विराटनगर पठाएका थियौँ, यी सबबीच एम्बुलेन्सका चालक नै बिरामी परे, अहिले उनी घरमै आराम गर्दैछन्, हामीसँग विकल्प भए पो हामीले उहाँलाई आइसोलेसन पुर्याउनु,’ उनले भने।
५५ वर्षीय ती पुरुषले आइसोलेसनमा समयमै खाना पाउनुबाहेक केही उपचार नपाएको बताएका छन्।
‘मलाई मधुमेह पनि छ, उपचार गराएदेखि पेटको दुखाइ कम भएपनि स्वास लिन निकै गाह्रो भइरहन्छ,’ उनले भने, ‘यहाँ खटिनुभएको स्वास्थ्यकर्मीले तपाईं राम्रो हस्पिटल जानुपर्ने हो, यस्तो चौरमा रहेको आइसोलेसनमा बस्दा यी समस्याहरू अचानक बढ्दा के गर्नुहुन्छ भन्नुहुन्छ, तैपनि बसिरहेको छु, लिभरको औषधी खाइरहेको छु,’ उनले भने।
पेशाले चालक रहेका उनी करिब ३५ वर्षदेखि वीरगन्जकै एक जना मारवाडीको घरमा गाडी चलाउँदै आएका थिए। लकडाउन भएदेखि उनी पाँच महिनादेखि बेरोजगार भएर घरमै बसिरहेका थिए।