परमेश्वर तन्डुकारको गितारप्रति विशेष लगाव थियो, सानैदेखि। पुर्ख्यौली पेसा सांगीतिक क्षेत्र भएका उनको सानो छँदा खेलौना नै गितार हुन्थ्यो। हातमा राम्ररी नअडिए पनि यसको संगीत चिनिसकेका थिए।
जम्मा १० वर्षका थिए जब उनले गितार बिक्री तथा मर्मतमा बुवालाई सघाउन थाले। त्यो उमेरमै उनी गितार बजाउन पनि सिपालु थिए। यसका रिदम, कर्ड अरूलाई पनि सिकाउँथे।
अहिले परमेश्वर ५१ वर्ष लागे। झन्डै तीन दशक बढीदेखि उनी व्यवसायिक रूपमा गितार सिकाइ, मर्मत तथा बिक्रीमै आवद्ध छन्। असन न्हैकंतल्लामा विगत २० वर्षदेखि 'डल्फिन म्युजिक सेन्टर' सञ्चालन गरिरहेका परमेश्वर गितारसँगै आधुनिक बाजा जस्तै, हार्मोनियम, ड्रम, किबोर्ड पनि सिकाउँछन्। यी बाजाको बिक्री र मर्मतको सेवा पनि पुर्याउँछन्।
'डल्फिन म्युजिक सेन्टर' सञ्चालनअघि परमेश्वर न्युरोडमा बुवाको पुर्ख्यौली पसल सम्हाल्थे। २०५७ सालदेखि भने एकल रूपमा म्युजिक सेन्टर सञ्चालन गर्दैछन्। आफूलाई लेदर, स्ट्रिङ, ब्लोइङ्ग, एयर, इलेक्ट्रिक लगायत विभिन्न प्रकारका वाद्यवादनको राम्रो ज्ञान भएको उनी बताउँछन्।
'तर अचेल म आधुनिक संगीत मात्रै सिकाउँछु। विशेष गरी गितार। यीबाहेक अन्य संगीत सिकाउन स्रोत पनि छैन,' परमेश्वर भन्छन्, 'धेरैले सिक्न चाहने पनि आधुनिक संगीत हुन्।'
आजका दिनसम्म उनले सयौंलाई यस्ता आधुनिक बाजा सिकाएका छन्।
परमेश्वरले भने हजुरबुवा र बुवाबाट संगीत सिकेका हुन्। यसबाहेक कुनै औपचारिक शिक्षा नलिएको बताउँछन्। दरबार हाइ स्कुलबाट एसएलसी सकेका उनी केही समयपछि, २०३९ सालतिर गितार कोर्सका लागि हङकङ पुगे।
नेपाल फर्केर उनी प्रविणता तह भर्ना भए। २०४४ सालमा शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरे। संगीत (फाइन आर्ट) पढ्न खोजेका थिए तर त्यसबेलाको पढाइ उनलाई चित्त नबुझेपछि व्यवस्थापन नै रोजेको उनी बताउँछन्।
स्नातक सकेर परमेश्वर अरू व्यापार-व्यवसायमा लागेनन्। न कुनै जागिर खोजे। सानैदेखि बुवासँगै पसल सम्हालेका उनी पढाइपछि पूर्ण हिसाबले पसल सञ्चालनमै लागे।
बाजाहरू बिक्री तथा मर्मतका साथै उनी बुवाका विद्यार्थीलाई बुवा नहुँदा सिकाइ दिन्थे। परमेश्वरका दुई दाइ, दुई भाइ र एक बहिनी छन्। पाँचै भाइ संगीत पेसामा आवद्ध छन् भने बहिनी डाक्टर छन्।
'पाँच भाइ मिलेर बुवालाई सघाउँथ्यौं। बाजामा सबैको आ-आफ्नै रूचि थियो,' उनी भन्छन्, 'एउटै पसल, पाँच दाजुभाइ। मनमुटाव हुनु स्वाभाविक थियो। त्यसपछि मैले असनमा यो म्युजिक सेन्टर खोलेँ।'
संगीत क्षेत्रका उनी आफूलाई आधुनिक संगीतको एक पृष्ठभूमि कहलिन रूचाउँछन्। परमेश्वरले २०५४ सालमा गीतका चारवटा क्यासेट निकालेका थिए। तीनटा नेपाली भाषामा र एउटा नेवार भाषामा क्यासेट निकालेका परमेश्वरलाई यसमा सन्तुष्टि मिलेन। अग्रस्थानमा भन्दा पृष्ठभूमिमा रम्ने उनी त्यसयता कहिल्यै गीत रेकर्डिङमा लागेनन्।
बरू २०६१ सालतिर 'डल्फिन एन्ड मिस्टर गितार' नामक किताब बजार भित्र्याए। तीन महिनामै किताब हजारौं संख्यामा बिक्री भएको उनको भनाइ छ। यसअघि, २०४७ सालमा उनले ड्रम कोर्ससम्बन्धी 'पर्फेक्ट ड्रम गाइड' किताब पनि निकालेका थिए। यो किताबले भने उति बजार नलिएको उनी बताउँछन्।
उनका अनुसार नेपालमा गितार तथा आधुनिक संगीतले डेरा जमाएको धेरै भएको छैन। हिप्पीहरूको आगमनसँगै नेपाली बजारमा गितारको हाइहाइ बढ्यो।
परमेश्वरका हजुरबुवाले २००८/२०१० सालतिरै गितारबारे अध्ययन गरेका थिए। आधुनिक संगीतका लागि यसको लोकप्रियता बुझेर उनी त्यसपछि यसैमा होमिए। पछि गितारसँगै हार्मोनियम, किबोर्ड, तबला, मादल, बाँसुरी पनि सिके। अनि २०२२ सालमा न्युरोडमा 'द मोर्डन लाइफ म्युजिक इन्स्टिच्युट' सञ्चालनमा ल्याए।
परमेश्वरले सुनेअनुसार त्यसताका गितार सिक्नेको भिड दैनिक दुई सयदेखि तीन सयसम्म हुन्थ्यो। त्यही पसल उनका बुवाले सम्हाले।
अहिले पनि गितार सिक्ने जमातको कमी छैन। परमेश्वरको म्युजिक सेन्टर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला हुन्छ। सामान्य दिनमा परमेश्वर दैनिक ६ देखि ८ 'सिफ्ट' गरी महिनामा ५० जना सम्मलाई गितार सिकाउँथे।
उनका अनुसार हजुरबुवा-बुवाको पालामा ह्वात्तै बढेको गितारको माग र ट्रेन्ड पछि सेलायो। करिब १० वर्षयता भने फेरि मानिसहरू आधुनिक बाजामा आकर्षित देखिन्छन्।
परमेश्वरलाई बुवाको पसलमा सघाउँदा १ सय ७० देखि २ सय रुपैयाँ सम्ममा गितार बेचेको याद छ। तर अहिले यसको मूल्य प्रकार अनुसार ३ हजारदेखि ६० हजारसम्म पर्छ। उनी आफैंले पनि विभिन्न प्रकारका गितार बेच्न राखेका छन्।
तर कोरोना भाइरस महामारी र निषेधाज्ञा, सिल र लकडाउनले उनको व्यापारमा ठूलो असर देखायो। झन्डै चार महिनापछि म्युजिक सेन्टर पुनः सञ्चालनमा ल्याउँदा पनि सिक्न आउनेहरू फाट्टफुट्ट मात्र भए। अहिले त निषेधाज्ञा भइहाल्यो।
'पहिले मलाई भ्याइनभ्याइ हुन्थ्यो। अहिले विद्यार्थी छैनन्। नजिकैबाट दुई-चार जना आउने हुन्। सकेसम्म सामाजिक दुरी कायम गरेर सिकाउँछु,' उनी चिन्तित सुनिन्छन्, 'नयाँ बाजा किन्न र मर्मतमा आउने पनि घटे। लकडाउनपछि पसल खोलेको केही अर्थ भएन। अझै कति समय यस्तै हुने हो कुन्नि!'
परमेश्वरको परिवारको कमाइ स्रोत यही म्युजिक सेन्टर हो। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। पाँच जनाको परिवार वर्षौंदेखि यही पेसाले धान्दै आएका उनी भन्छन्, 'यही मेरो गरी खाने बाटो हो। यही पेसाले परिवार पाल्छु।'
अहिले उनलाई काममा छोराहरूले पनि सघाउँछन्।
संगीत क्षेत्रलाई कर्म ठानेका परमेश्वर अनुभव भएको क्षेत्रमा लागे सफलता र सन्तुष्टि दुवै मिल्ने सम्भावना बढी हुने बताउँछन्। जस्तै परिस्थिति भए पनि उनी यसमै रमेका छन्। उनीसँग सिकेका केही संगीतकारहरू राम्रो स्थानमा पुगेको देख्दा थप खुसी लाग्ने बताउँछन्।
तर नेपाली समाज संगीत क्षेत्रमा निकै संकुचित रहेको उनलाई महशुस हुन्छ। हाम्रो संगीत क्षेत्र अझै पनि शिशु अवस्थामै भएको उनी बताउँछन्, 'विकास हुनेक्रम जारी छ। संगीत क्षेत्रमा निरन्तरता दिन सक्ने मान्छे नै निकै कम छन्।'
यहीकारण संगीत बजार पनि निकै फितलो रहेको उनले सुनाए, 'गितारमा कति वटा तार हुन्छ? भन्दै सोध्नेहरू बढी छन्। पहिलेको तुलनामा संगीतमा ज्ञान बढेको छ तर हामी यसको दायरा बढाउन सकिरहेका छैनौं। यहाँ म्युजिक इन्स्ट्रुमेन्टकै विशेषज्ञता भएको छैन।'
त्यस्तै बाहिरी संस्कृतिको प्रभावले परम्परागत बाजा हराइरहेको परमेश्वरले ख्याल गरेका छन्। धिमे, बिनायो, बाँसुरी लगायत सांस्कृतिक बाजा विस्थापित हुँदै गर्दा आधुनिक बाजा बढी रुचाइँदैछ।
तर परमेश्वर बाजा फेरिँदैमा सबै कुरा फेरिन्छ भन्ने मान्यता राख्दैनन्।
भन्छन्, 'बाजा फेरिए पनि धुन त फेरिँदैन नि। संगीत फेरिँदैन। आधुनिकीकरण एक हिसाबमा राम्रै हो,' गीतकार दुर्गालाल श्रेष्ठको शब्द उद्धृत गर्दै भन्छन्, 'सयथरी बाजा एउटै ताल...।'