पाँचथर जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भदौ १२ गतेबाट सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
कोभिड-१९ को संक्रमण थप फैलिन सक्ने खतरालाई ध्यानमा राखि १८ भदौ मध्यराति १२ बजेसम्म अत्यावश्यकबाहेकका दुई पाङ्ग्रेसहित सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए।
अत्याववश्क सेवा तथा वस्तु ढुवानीमा प्रयोग भएका सवारी साधनहरूले सम्बन्धित व्यक्तिको अलावा अन्य कुनै व्यक्तिलाई अन्तर जिल्ला ल्याउने–लैजाने गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने लगायतका निर्णय बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी तुम्रोकले बताए।
जिल्लामा मंगलबार एकै दिन हालसम्मकै धेरै चार जनामा कोरोना संक्रमण भएसँगै थप कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकामध्ये बुमंगलबार आएको रिपोर्टमा चार जनाको कोरोना पोजेटिभ देखिएको हो। कोरोना पोजेटिभ देखिएकामध्ये तीन जना जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। अर्का एक जना भने वैदेशिक रोजगारबाट फर्किएर फिदिम माविको क्वारेन्टाइनमा बस्दै आएका पुरुष रहेको बताइएको छ।
२४ साउनमा विराटनगरबाट सरुवा भएर आएका एक प्रहरीमा कोरोना संक्रमण भएपछि ५ भदौमा ४६ प्रहरीको स्वाब परिक्षणका लागि संकलन गरिएको थियो। उनीहरुको फिदिममा व्यवस्थापन गरिएको कोभिड उपचार केन्द्रमा राखेर उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले बताए।
पाँचथरमा यतिको संख्यामा कोरोना संक्रमित भेटिएको यो पहिलोपल्ट हो। यसअघि विभिन्न समयमा आठ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमध्ये ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाँकी भने उपचारमै छन्। हालै थपिएका चार जनासँगै जिल्लामा सक्रिय संक्रमितको संख्या सात पुगेको छ।
बुधबारसम्ममा क्वारेन्टाइनमा राखिएकाको संख्या ४९ रहेको छ। जसमध्ये चार महिला र ४५ जना पुरुष रहेका छन्।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बुधबार जारी गरेको नियमित प्रेस नोट अनुसार सदरमुकामस्थित पाँचथर बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा एक महिला र सात पुरुष गरी आठ जना रहेका छन्। फिदिम माविमा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा एक महिला छिन्।
त्यस्तै, फाल्गुनन्द गाउँपालिकास्थित रेडक्रस उपशाखा राँके क्वोन्टाइनमा सबैभन्दा धेरै दुई महिला र ३८ पूरुष गरी ४० जना रहेका छन्। जिल्लामा हालसम्म एक हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण गरिएको छ।