हट्टाकट्टा एक मानिसले ढोकैमा स्वागत गरे।
जिन्स पाइन्ट, टिसर्ट, घाँटीमा सुनको सिक्री देखेपछि पुलिस होलान् भन्ने अनुमान आफैं फेल खायो।
कारागारमा पनि त्यति शानका साथ उभिने को होला त? पछि थाहा भयो उनी जलेश्वर कारागारका चौकीदार रमेश कुमार सिंह रहेछन्।
उनी यो कारागारमा चौकीदार भएको १० महिनामात्रै भयो। जेल परेको भने १० वर्ष! कैदीहरूमध्ये कुनै एक जनालाई चौकीदार बनाइने रहेछ। जसले पूरै कैदी बन्दीको नेतृत्व गर्छन्। कैदीबन्दीको हेरचाह गर्छन्। उनीहरूको आवाज बनेर प्रशासनसँग कुरा गर्छन्। अनि आफैं प्रशासन बनेर कैदीबन्दीको निगरानी पनि गर्छन्।
चौकीदार बन्नका लागि पनि अलग्गै नियम हुन्छन्।
जेलर मकसुदन महासेठका अनुसार चौकीदार बन्न कैद सजाय भएको र ५० प्रतिशत कैद काटिसकेको हुनुपर्छ। चालचलन असल हुनुपर्ने, अरूलाई सम्झाउन सक्ने हुनुपर्ने लगायतका नियम हुन्छन्।
चौकीदारको मातहतमा हुन्छन् नाइके र भाइनाइके।
५ सयभन्दा बढी कैदी बन्दी रहेको जलेश्वर कारागारमा कैदीबन्दीहरू मध्ये २० नाइके र ५० भाइनाइकेहरू समेत छन्।
नाइकेले २० देखि २५ जनाको नेतृत्व गर्नुपर्छ भने भाइ नाइकेले १० जनाको नेतृत्व गर्नुपर्छ।
नेतृत्व गर्ने क्षमता भएकै कारण रमेशलाई यी सबैको नेतृत्व गर्ने चौकीदार बनाइएको जेलर महासेठले बताए।
जेल पर्नुअघि सर्लाहीका रमेश सिंहको ठूलो सपना थियो सेकेन्ड लेफ्टिनेण्ट बन्ने। देशको सुरक्षा गर्ने, नागरिकको रक्षा गर्ने।
अहिले सम्झिँदा उनलाई त्यो सपनाको असाध्यै माया लाग्छ रे।
१० वर्षअघि उनले १२ कक्षाको पढाइ सकाएका थिए। उनी काठमाडौं बसेर पढ्थे। पढाइ पनि सकियो सेनामा जाने तयारी थालेका थिए। अंग्रेजी नयाँ वर्ष पनि लाग्यो। उनका साथीहरूले टाढा कतै गएर पार्टी गर्ने सल्लाह गरे।
१३/१४ साथीहरू मिलेर महोत्तरीको एक होटल पुगे। पार्टी चलिरहेको थियो। त्यही होटलमा पार्टी गर्न गएका अर्को युवाहरूको समूहसँग उनीहरूको वादविवाद भयो।
वादविवाद बढ्दै जाँदा दुवै तर्फबाट हातै हालहाल भयो। रमेशका साथीले बियरको बोतलले अर्को समूहका एक जना युवाको टाउकोमा हानिदिए।
त्यसपछि उनीहरूका सबै साथीहरूले घाइतेको समूहलाई कुटपिट गरे।
टाउकामा गम्भीर चोट लागेका ती युवाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। रमेशलाई हत्याको आरोप लाग्यो। रमेशसहित उनका अन्य १३ साथीहरू पक्राउ परे।
जब पक्राउ परे अनि बल्ल उनलाई होस आएछ। सबभन्दा पहिले त उनले आफ्नो सपना सम्झिए। आर्मीको लेफ्टिनेन्ट हुने सपना।
'सेनाको सेकेण्ड लेफ्टिनेण्ट बन्ने धोको थियो त्यसकै तयारीमा थिएँ,’ चौकीदार रमेशले भने ‘त्यतिकैमा हत्या गरेको आरोप लाग्यो। मेरो सपना त्यतिबेलै तुहियो।’
सपना मात्र तुहिएन उनको त परिवारसँग नाता टुटे झैं भयो।
वर्ष दिनसम्म कोही आएन। जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैद सुनायो।
‘कुन राम्रो काम गरेको थिएँ र, मम/ड्याड मलाई सहानुभूति दिन आउनुहुन्थ्यो?' रमेशले भने ‘उहाँहरूले दिनुभएको संस्कार, खानदानको इज्जतमाथि डोजर चलाइदिएँ मैले।’
घरका कान्छो छोरा उनी पुलपुलिएर हुर्किएका थिए।
जेल परिसकेपछि एक वर्षसम्म परिवारमध्ये कसैको मुख हेर्न पाएका थिएनन्।
पेशीकै क्रममा उनलाई फेरि अदालत लगियो। त्यतिबेला अदालतमा उनका दाइ आएका रहेछन्। त्यो दिन सम्झेर रमेश आज पनि भावुक हुन्छन्।
'दाइ आउनुभएको थियो,’ उनले भने ‘मेरा त आँसु झरिरहे केही बोल्नै आएन।'
जेल परेपछि उनको मनमा धेरै समय लागिरह्यो- नयाँ वर्ष नआएको भए हुन्थ्यो!
हामीले पार्टी गर्ने नसोचेको भए हुन्थ्यो! सोचेकै भए पनि उतै काठमाडौंमा मनाएको भए हुन्थ्यो! यहीँ आए पनि ती केटाहरूसँग झगडा नगरेको भए हुन्थ्यो!
तर उनीहरूको हातबाट यी सबै कुरा भई नै सकेको थियो।
घटनामा कसैको ज्यान गएको सम्झेर उनी निकै अतालिए।
साथीहरूकै लहैलहैमा लागेर आफूले होस गुमाएको सम्झेर उनलाई पछुतो हुन्छ रे। कतिसम्म भने उनलाई त्यसपछि नयाँ साथी बनाउन डर लाग्छ।
कारागारमा पनि आफू जस्तै मान्छे त हुन्छन्। उनका अनुसार कोही निर्दोष भए पनि जेलमा फस्छन्, कोही परिबन्दमा परेर, कोही रिस थाम्न नसकेर, कति त नियतवस अपराध गरेरै!
उनलाई भने यीमध्ये कसैसँगको मित्रतामा फसिन्छ कि भन्ने सोचेर कहालिन्छन् रे।
त्यही डरले उनी एउटा कारागारमा धेरै वर्ष बस्न सक्दैनन्। अनि आफूलाई अरू जेलमा पठाइदिन अनुरोध गरिरहन्छन्।
अहिलेसम्म उनले ४ वटा कारागार फेरे। घुम्दैफिर्दै दोस्रोपटक जलेश्वर आइपुगेका छन्।
जलेश्वर कारागारबाट नख्खु त्यहाँबाट फेरि सिराहा पुगेका उनलाई अर्को वर्ष झुम्कामा कारागारमा पठाइएको थियो
'अहिले जलेश्वर नै आइपुगेको छु,’ उनले भने ‘संगतले मेरो जीवन बिग्रियो त्यसैले अब म कोही कसैसँग संगत नै गर्न रूचाउन्नँ। एउटै ठाउँ बसे साथी बन्छन् कि भन्ने डर हुन्छ।’
सुरूसुरूका वर्षमा उनलाई जेलको जिन्दगी स्वीकार गर्न निकै गाह्रो भएको थियो।
आफ्नो पश्चतापबाट भागेर त कहीँ पुगिँदैन भन्ने ज्ञान पनि उनले यहीँ पाए। जेल बस्नु प्रायश्चितको सानो मौका हो भन्ठान्न पनि कति समय लागेको थियो।
कारागारमा पढ्न पनि पाइन्छ भन्ने उनले थाहा पाए।
होटल म्यानेजमेन्टको पढाइका लागि फर्म भरे। जेलमै बसेर पढे। अहिले उनले होटल म्यानेजमेन्टमा स्नातक गरेका छन्।
हामीकहाँ जेललाई सुधारगृहको रूपमा लिइन्छ। मान्छेले जीवनमा सानादेखि उमरकैद पाउने सम्मका गल्ती गर्छ। सामान्य गल्तीलाई माफी र अपराधलाई जेल दुवैको एउटै उद्देश्य हो- पश्चताप र सुधार!
उनलाई यो कुरामा विश्वास भएको छ। जेलले पश्चतापको गहिरो अनुभूति दिलाउँछ र प्रायश्चितको मौका!