सरकारले सामान्य लक्षण भएका कोरोना संक्रमितलाई पनि सकेसम्म घरमै 'होम आइसोलेसन' मा बस्न भनेको छ।
दिनदिनै बढिरहेको संक्रमणका कारण अस्पतालमा बेड अभाव हुन सक्ने भन्दै सरकारले सामान्य लक्षणसहितका संक्रमितलाई घरमै बस्न भनेको हो।
संक्रमितहरूले घरमा बस्दा स्वास्थ्यकर्मीबाट नियमित परामर्श र निगरानी नभएको गुनासो गरेका छन्। घरमै बसेका संक्रमितलाई सानो केही समस्या भए तुरून्तै अस्पताल जाने कि नजाने भन्ने दोधार हुन्छ।
लक्षणसहितका संक्रमितलाई अस्पताल गइहाल्ने कि घरमै ढुक्क भएर बस्ने थाहा पाउन 'पल्स अक्सिमिटर' सहयोगी बन्न सक्ने चिकित्सकहरूले बताएका छन्। पल्स अक्सिमिटरले हाम्रो रगतमा अक्सिजनको मात्रा नाप्ने काम गर्छ।
कोरोना संक्रमणले अन्तिममा गाह्रो बनाउने भनेको स्वासप्रस्वासमै हो। अहिलेसम्म मृत्यु भएकामध्ये अधिकांशमा यही समस्या देखिएको छ। त्यही भएर संक्रमितले आफ्नो शरीरमा अक्सिजनको मात्रा कति छ भन्ने थाहा पाउनु महत्वपूर्ण हुन्छ।
घरमै बसिरहँदा कतिपयलाई सास फेर्न अलि गाह्रो हुँदा पनि मन आत्तिन सक्छ। त्यस्तो बेलामा पल्स अक्सिमिटरले जाँच गरेर अक्सिजन मात्रा थाहा पाउन सकिन्छ।
टेकु अस्पतालमा संक्रमितको उपचारमा खटिएका डाक्टर अनुप बाँस्तोलाका अनुसार 'रूम एअर' कोठामा बस्दा मानिसको रगतमा अक्सिजनको 'स्याचुरेसन' मात्रा ९४ वा त्योभन्दा माथि हुन्छ। त्यो भन्दा कम भयो भने सास फेर्न असहज हुन थाल्ने उनी बताउँछन्।
'संक्रमितहरूमा निमोनिया देखियो भने फोक्सोले अक्सिजन लिन सक्दैन। जसले गर्दा रगतमा अक्सिजनको मात्रा कमी हुन थाल्छ। त्यस्तो बेला पल्स अक्सिमिटरले जाँच गरेर अक्सिजन मात्रा थाहा पाउन सकिन्छ,' डाक्टर बाँस्तोलाले भने, 'अक्सिजनको मात्रा ९४ भन्दा तल देखायो भने तुरून्त अस्पताल जाने वा चिकित्सकसँग परामर्श लिनुपर्छ।'
उनले पल्स अक्सिमिटरको प्रयोगले लक्षणसहितका संक्रमितहरूले आफ्नो स्वास्थ्य अवस्थालाई निगरानी गर्न सक्ने जनाए।
'घरमै बस्दा लगातार खोकी लाग्यो, ज्वरो देखियो, थकान महशुस भयो, रिंगटा चल्यो भने यो उपकरणले अक्सिजन मात्रा जाँच गर्नुपर्छ र मात्रा कम देखियो भने अस्पताल जानुपर्छ,' उनले भने।
उनले संक्रमितमा यस्ता समस्याहरू प्राय: सुत्ने बेलामा देखिने भन्दै उक्त समयमा बढी चनाखो हुनुपर्ने सुझाए।
'मैले आइसियूमा रहेका संक्रमितहरूमा हेर्दा प्राय: उहाँहरूमा सुत्ने बेला यो समस्या देखिएको छ,' उनले भने।
डाक्टर बाँस्तोलाका अनुसार खोकी र ज्वरो सुरू भएको पाँच दिनमा निमोनिया सुरू हुन्छ। जसले गर्दा रगतमा अक्सिजनको मात्रा पनि कम हुँदै जानसक्छ। यो अवधिमा संक्रमितले बढी सतर्कता अपनाउनु पर्ने उनको सुझाव छ।
दमका बिरामी र दीर्घ रोगीमा भने यसै पनि अक्सिजनको मात्रा कमी हुनसक्ने भन्दै उनीहरूलाई पनि यो उपकरण उपयोगी हुने उनले जनाए।
'दमका बिरामी यसै पनि अक्सिजनको मात्रा कम हुनसक्छ। त्यस्ता संक्रमितहरूले यसबाट आफ्नो स्वास्थ्य निगरानी गर्न सक्नुहुन्छ,' उनले भने।
पल्स अक्सिमिटर बजारमा सहजै पाइन्छ। गुणस्तर हेरे यसको बजार मूल्य १५ सय देखि ४ हजार रुपैयाँसम्म पर्छ।
डाक्टर बाँस्तोलाले यो उपकरण लक्षणविहीन संक्रमितलाई भने आवश्यक नपर्ने बताए।
'लक्षणसहित र दीर्घ रोगी संक्रमितहरूका लागि यो उपयोगी हुन्छ तर लक्षणविहीनले प्रयोग गर्नु पर्दैन। उनीहरूमा यसै पनि कुनै समस्या हुँदैन। उहाँहरू त १० दिनपछि आरामले घरमा बस्न सक्नुहुन्छ,' उनले भने।