अहिले प्रदेश नम्बर दुई कोरोना माहामारीको ‘हटस्पट’ बनिरहेको छ।
विभिन्न स्थानीय प्रशासनले कोरोना नियन्त्रणकै लागि जिल्ला जिल्लामा निषेधाज्ञा जारी गर्दै आएका छन्। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतदेखि मन्त्रीसम्मले कोरोना माहामारी नियन्त्रण तथा रोकथामविरुद्ध लागि परेको बताउँदै आएका छन्।
यो प्रदेशमा १० हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ९६ जनाले ज्यान गुमाइसकेका छन्।
यस्तो अवस्थामा मुख्यमन्त्री राउत, कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश सांसद लगायतले रौतहटमा सर्वसाधारणको ठूलो भीड गराएर भेटघाट कार्यक्रम गरेका छन्।
यसअघि हिरासतमा रहँदा प्रहरीको यातनाका कारण मृत्यु भएका भनिएका विजय रामको परिवारसँग भेटघाटको बहानामा मन्त्रीहरुले झण्डै सयको संख्यामा सर्वसाधारणको भीड गराएका हुन्।
मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले सामाजिक सञ्जालमा राखेका तस्वीरमा न मन्त्रीहरुले नै भौतिक दूरी कायम गरेका छन् न त सर्वसाधारणले।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री यादवलाई यसबारे प्रश्न सोध्दा उनले सर्वसाधारणलाई आफूहरुले नबोलाएको तर कतैबाट जानकारी पाएकाले भीड जम्मा भएको प्रतिक्रिया दिए।
‘मृतक विजय रामलाई न्याय दिलाउन भन्दै हाल रौतहटमा दैनिक आन्दोलन भइरहेको छ’ उनले भने ‘आन्दोलनमा सयौंको संख्यामा सर्वसाधारण सहभागी हुँदै आएका छन् यस्तो संकटको घडीमा भीड़ हुन नदिनकै लागि खतरा मोलेरै सान्त्वना दिन गएका हौँ।’
परिवारसँग भेटघाट गर्न जाँदा आफूहरुले स्वास्थ्य सुरक्षाका लागि आवश्यक सुरक्षा साधनका उपाय अपनाए पनि भौतिक दूरी कायम गर्न नसकेको उनले स्वीकारे।
मन्त्रीहरुले मास्क लगाए पनि भीडमा रहेका कतिपयले मास्क नै लगाएका थिएनन् भने लगाएका कतिपयले नाकमुख नै छोपेका थिएनन्। मन्त्रीहरुले नै सार्वजनिक स्थलमा भेटघाटको नाममा सर्वसाधारणको भीड गराउनुले कोरोना नियन्त्रणको साटो जोखिम बढाएको देखिन्छ।