जनकपुरधाम वडा नम्बर ८ मा रहेको श्रीराम हस्पिटलमा उपचारका लागि ल्याइएका एक डेढ महिने शिशुको मृत्युपछि चिकित्सक र परिवारबीच आरोप प्रत्यारोप चलेको छ।
चिकित्सकले औषधिको ओभर डोज दिएकै कारण मृत्यु भएको परिवारको आरोप छ भने परिवारको लापरबाहीका कारण शिशुको ज्यान गएको अस्पतालको दावी छ। यसअघि पनि चिकित्ककाे लापरबाहीकै कारण दुई जनाकाे मृत्यु भएकाे आराेप अस्पताललाई लागेकाे थियाे।
मिथिला विहारी नगरपालिका वडा नम्बर ७ तारापट्टीका उस्मान नदाफका डेढ महिने छोरो फारुकको दुई तीन दिनदेखि अचानक दिसा पिसाब बन्द भएको थियो।
उनलाई बिहीबार बिहानै उपचारका लागि जनकपुर ल्याइयो। तर जनकपुर श्रीराम हस्पिटल प्रालिको गेट अगाडि पुग्ने बित्तिकै बच्चाले दिसा पिसाब गर्यो।
सामान्य अवस्था भएको ठानेर परिवारका केही सदस्यले घर लैजान भने पनि उस्मानको मन मानेन। उनी अस्पतालको गेटमै पुगिसकेकाले एक पटक डाक्टरसँग सल्लाह गरी घर फर्किने निर्णय गरे र छोरोलाई लिएर अस्पताल छिरे। अस्पतालमा डाक्टर कामेन्द्र यादवले शिशुको अवस्था सामान्य रहे पनि १ दिन चिकित्सकको निगरानीमा राख्न सुझाव दिए।
सुझाव अनुरुप उस्मानले बच्चालाई इमरजेन्सीमै भर्ना गरे। ‘दिनभर सामान्य रहेको छोरोलाई राति अचानक श्वासप्रश्वासमा समस्या आयो’ उस्मानले भने ‘त्यसपछि हामीले चिकित्सकलाई बोलायौँ उनीहरुले लेखेअनुसार औषधि ल्याएर नर्सले नाकमा ड्रप हालिन् र स्लाईन चढाइन्, ता पनि बाबुको अवस्था झन् झन् बिग्रदै गयो।’
उस्मान नदाफ र जयमन खातुनका ४ छोरी छन्। छोरोको आशमा रहेको यो दम्पत्ति गर्भपछि चिकित्सककहाँ धाइरहेका थियो। तर सकुशल छोरो जन्मिएपछि परिवारमा आएको उत्साह डेढ महिनामै बिलिन भएको छ।
आफूहरुले यहाँ ठिक नहुने भए डिस्चार्ज गरिदिन भनेपनि चिकित्सकहरुले ठिक हुने बताएको मृतक शिशुकी आमा जयमन खातुनले बताइन्।
‘बच्चा ठिक थिएन भने रिफर गरिदिनुपर्थ्यो, पैसाको लोभमा न रिफर गरे न त उपचार नै, औषधिको ओभर डोज दिएर मेरो बच्चालाई मारिदिए’ उनले आँशु झार्दै भनिन्।
बिहानसम्म सामान्य रहेको शिशुको मृत्यु भएपछि आक्रोशित परिवारजनले उपचारमा संलग्न चिकित्सकलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
चिकित्सककै लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै उपचारमा खटिएका डा. कामेन्द्र यादव र अस्पताल विरुद्ध मृतक बालकका फुपुका भाई भुल्ला नदाफले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका छन्।
अरुले यसरी सन्तान गुमाउनु नपरोस्, ज्यानमारा अस्पताल बन्द गर्नुपर्यो र लापरबाही गर्ने चिकित्सकमाथि कारबाही हुनुपर्यो बालकका बुवा उस्मान नदाफले माग गरे।
यता अस्पताल प्रशासनका प्रमुख अमित कुमारले चिकित्सकको लापरबाही नभई आमाको जिद्दीका कारण बालकको मृत्यु भएको दावी गरेका छन्।
‘शिशुलाई उपचारका लागि भर्ना गरे लगत्तै चिकित्सकहरुले ती बालकको नाकमा राख्नका लागि नोजल ड्रप र प्रिनाकोटको सय एमजी मध्ये १५ एमजी दिनका लागि भने पनि शिशुको अवस्थामा तत्काल सुधार नआएपछि आमा जयमन आफैँले डोजभन्दा बढी थप दुई बुन्द शिशुको नाकमा हालेकी थिइन’ उनले भने।
अमितले थपे ‘चिकित्सकले सक्सन अर्थात श्वास नलीलाई सफा गर्न बाँकी नै रहेका बेला बच्चालाई दूध खुवाएको र दूध पच्न नसकेकै कारण सर्केर बच्चाको तत्कालै मृत्यु भएको हो।