धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि निर्घात कुटपिट भएको छ। विदेह नगरपालिका वडा नम्बर–३ गोबराहीका स्थानीय सवाई दासका परिवारमाथि कुटपिट भएको हो।
उनीहरूलाई स्थानीय हरी कुसियैतका छोराहरू रोशन, बिटु र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपिट गरेको पीडित परिवारको आरोप छ।
सोमबार साँझ आफूहरूले ज्यालादारी गरेको पैसा माग्न गएका बेला सामान्य विवाद हुँदा कुसियैत परिवारले सवाई दासको घरमै गई कुटपिट गरेको पीडित रामशरण दासले जानकारी दिएका छन्।
कुटाइबाट सवाईकी ४५ वर्षीय श्रीमती निलमदेवी दास, उनकी बुहारी, २४ वर्षीय भतिज रामशरण दास र भाइ रामभगत दास घाइते भएका छन्।
निर्घात कुटपिटबाट घाइते निलमदेवीलाई उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना गरिएको छ।
विदेह नगरपालिकाका प्रमुख बेचन दासले सवाईका छोराहरू कुसियैतको घरमा ज्यालादारी गर्दै आएको र ज्यालादारी बापत बाँकी रहेको पैसा माग्न जाँदा कुटपिट भएको जानकारी दिए।
‘कुसियैतले मदिराको व्यापार गर्दै आएका थिए, सो मदिरा पसलसम्म ओसारपसार गर्ने काम सवाईका दुई छोराहरुले गर्दै आएका थिए’ नगरप्रमुख दासले भने ‘आफूहरूले ज्याला गरेको पैसा माग्न गएपछि पीडितको घरमै गएर कुटपिट भएको रहेछ।’
कुटपिट गर्नेमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरी चौकीमा निवेदनसमेत दिएको पीडित परिवारका सदस्य रामशरण दासले बताए। कुटपिट गर्नेलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको पीडितको आरोप छ।
नगरप्रमुख दासले यसबारे प्रहरीलाई समेत जानकारी गराइएको बताए। कुटपिट गर्ने रोशन कुसियैत, बिटु कुसियैत र भतिज दुर्गेश कुसियैत फरार रहेका छन्।
यता दुहबी प्रहरी चौकीका सई हिलम सिंह दनुवारले दुवै पक्षबीच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदा दुबै पक्षका व्यक्ति घाइते भएको बताएका छन्।
कुसियैत परिवार पक्षका पनि तीन जना घाइते भएर अस्पताल भर्ना भएको उनले बताए।