१७ वर्षीया लक्ष्मी (नाम परिवर्तन)विक्षिप्त छन्।
कुनै बेला उनलाई जे सोधिन्छ उनले त्यसको जवाफ राम्ररी फर्काउँछिन्, कुनै बेला भने सक्दिनन्।
उनी बाल्यकालदेखि नै यस्तो हैनन्।
करिब चार वर्ष पहिलेसम्म बलात्कार भएपछि उनको यो हालत भएको हो।
उनी सधैं विद्यालय जाने गर्थिन्। घरको काम पनि सम्हाल्थिन्।
स्कुलबाट घर पर्किनेबित्तिकै उनको काम सुरू हुन्थ्यो-भैंसी, बाख्राको रेखदेख गर्ने।
बुवा-आमा लक्ष्मी घर आएलगत्तै निस्फिक्री हुन्थे। आमा घाँस काट्न चौरीतिर लाग्थिन्, बुवा पसलतिर।
उनका बुवा गाउँमै तारेको माछा बेच्छन्। त्यसबेला घरायसी कामको धेरै जिम्मेवारी आफ्नो काँधमा बोकेकी लक्ष्मी भने अहिले आफैंलाई सम्हाल्न नसक्ने भएकी छन्।
‘त्यतिबेला गाउँकै स्कुलमा ८ कक्षामा पढ्थिन्, पढाइमा पनि राम्रै थियो,’ उनका बुवाले भने, ‘तर अचानक उनी हामीसँग डराउन थालिन्, घरको कुना काप्चामा लुक्थिन्। सुरूमा के भयो हामीले पत्तै पाएनौं।’
छोरीले अस्वाभाविक गतिविधि गर्न थालेपछि धामी-झाँक्रीकहाँ पुर्याए। तर, उनको गतिविधिमा परिवर्तन नआएपछि गाउँकै केही व्यक्तिले छोरीलाई अस्पताल लैजान सुझाए।
‘सुरूमा विराटनगरको नोबेल अस्पताल लगें, त्यहाँ एक सातासम्म मानसिक उपचार गरियो। उनी सामान्य भइसकेपछि पनि केही दिन अस्पतालमै राख्न भने त्यहाँका चितिकत्सकले। तर, पैसा तिर्न सक्ने क्षमता हामीसँग थिएन। औषधी लिएर घर फर्कियौं,’ उनले भने, ‘उपचारपछि पनि छोरी सामान्य नभएपछि गत फागुनमा उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्यौं। त्यहाँका डाक्टरले नै छोरीमाथि बलात्कार भएको जानकारी गराए।’
बलात्कार हुने गरेको परिवारले थाहा पाएपछि भने उनी विस्तारै खुल्दै गइन्।
विभिन्न प्रलोभन देखाई गाउँकै छिमेकी पर्ने दुई दाजुभाइले पटक-पटक बलात्कार गरेको उनले बताइन्।
‘म पसलमा हुन्थे, श्रीमती घाँस-दाउरा गर्न गइहाल्थिन्, घरमा उनी एक्लै हुन्थिन्, गाउँकै राममान र भरतमान श्रेष्ठले उनलाई पैसा, फलफूल दिएर बलात्कार गर्दा रहेछन्,’ उनले भने।
घटना सार्वजनिक भएपछि मिलाउन गाउँमा ‘पञ्चायती’ समेत गरिएको उनले बताए।
गत भदौ १५ गते गाउँमै पञ्चती गरी उनलाई मिल्नका दबाब आएको हो।
‘गाउँमै मिल्नका लागि सबैले दबाब दिइरहेका छन्, कोही पनि हाम्रो पक्षमा छैनन्,’ उनले भने, ‘नमिले गाउँ-समाजबाट बाहिर गरिदिने धम्की आउँछ।’
धनुषाधाम नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष परीक्षण यादवले समेत यस घटनाबारे गाउँमा ‘पञ्चायती’ भएको स्वीकारे।
‘हुन त म पनि त्यो पञ्चयतीमा सहभागी भएको हुँ,’ उनले भने, ‘ती बालिकाको सानैदेखि मानसिक अवस्था ठिक छैन। जग्गाको सामान्य विवादलाई लिएर ती व्यक्तिउपर झुठो आरोप लगाइएको हो।’
उनका अनुसार गत भदौ १५ गते दुबै पक्षबीच छलफल भएको थियो। आफूले गत फागुनमा मात्रै यस घटनाबारे जानकारी पाएको उनले बताए।
छोरीसँग पटक-पटक बलात्कार भएको घटनाबारे उनले जानकारी पाएलगत्तै आफूले उनीहरूविरुद्ध जाहेरी दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको उनले बताए।
‘भदौ २२ गते देखि ४ दिनसम्म जिल्ला प्रहरी कार्यालय धाउँदासमेत आजभोलि गर्दागर्दै जाहेरी दर्ता गरिएन,’ उनले भने, ‘अहिले गाउँमा मलाई बस्न सक्ने अवस्था छैन। जाहेरी दर्ता गराउन गएको जानकारी पाएपछि सबैले घटनालाई गाउँमै मिलाउन दबाब दिइरहेका छन्। म के गरुँ, कता जाउँ थाहा भएन।’
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रलाई जाहेरी किन दर्ता नभएको भन्ने प्रश्न गर्दा उनले घटनाबारे अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय धनुषाधामलाई पत्र काटिएको बताए।
उनका अनुसार घटनाको सत्यतथ्य अनुसन्धान गरी जाहेरी दर्ता गरिने छ। इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक विजय यादवले भने घटनाबारे अनुसन्धान जारी रहेको बताए।
यद्यपि, अहिलेसम्म सो जाहेरी न जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ न त इलाका प्रहरी कार्यालय धनुषाधाममै।
प्रदेश-२ मा धेरैजसो बलात्कारका घटनामा छिमेकी तथा आफन्तकै संलग्नता रहेको प्रदेश २ को प्रहरी कार्यालयको तथ्यांकले देखाउछ। तथ्यांक अनुसार ७५ प्रतिशतभन्दा बढी बलात्कारका घटनामा छिमेकी वा आफन्तको संलग्नता रहँदै आएको छ।