कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट शुक्रबार नेपाल भएको छ।
कुर्था-जनकपुरधाम-जयनगरसम्म गुडाउनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइने भएको हो।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारिएका ती दुबै रेल सेट सक्दो छिटो नेपाल ल्याउने तयारी भइरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। रेलको दुबै सेट तथा चार वटा इन्जिन बिहारको हाजीपुर स्टेशनमा राखिएको मिश्रले बताए।
‘बाधा व्यवधान भएन भने भोलि नै रेलको दुबै सेट र चार वटै इन्जिन ल्याउने प्रक्रिया सुरू गर्ने छौँ,‘ मिश्रले भने। हाजीपुरबाट रेलको सेट नेपालसम्म ल्याउन चारदेखि पाँच घण्टासम्म लाग्ने छ। रेलको सेट एक हप्ताभित्रै नेपाल आइपुग्ने महानिर्देशक मिश्रले बताए।
रेल विभागले कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल गुडाउनका लागि एक अर्बको लागतमा रेलको सेट तथा इन्जिनहरु खरिद गरेको छ। रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो। ती रेल सेटहरुको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको हो।
रेलका सेटहरु नेपाल ल्याउने तयारी गरिए पनि अहिले उद्घाटन गर्ने कुनै योजना नरहेको महानिर्देशक मिश्रले बताए।