ललितपुर दरबार स्क्वायरमा बुधबार बेलुकी दौडादौड पुग्दा प्रदर्शन समाप्त भइसकेको थियो।
कात्तिक नाच डबलीमा औंठाछापका दुईवटा बडेमान पोस्टर र भुइँमा केही लतपतिएका रंग मात्र बाँकी थिए।
सत्याग्रही डा. गोविन्द केसीका औंठालाई यतिबेला विभिन्न तवरले प्रदर्शनमा प्रयोग गरिँदै आएको छ। यहाँ त्यसै औंठाछापको मुन्तिर रातो धर्को पनि थियो।
‘संसारमा एक व्यक्तिको अर्कोसँग कदापि नमिल्ने एउटै मात्र निशानी यही औंठाछाप हो,’ पोस्टर तयार पारेका कलाकार रविन्द्र श्रेष्ठ अर्थ्याउँदै थिए, ‘यो तलको रातो रंग चाहिँ रगतको प्रतीक हो, जसले आममानिसको प्रतिनिधित्व गर्छ।’
औंठाछापलाई सिर्जनात्मक तवरले विभिन्न सांकेतिक अर्थमा प्रस्तुत गर्दै आएका कलाकार श्रेष्ठ मुलुकभित्रका मुद्दाहरूमा मात्र सीमित छैनन्। उनले मोबाइल तेर्स्याउँदै केही समयअघि कालो वर्णका अमेरिकीहरूको समर्थनमा चलेको आन्दोलन ‘ब्ल्याक लाइभ्स म्याटर’ बेला तयार पारिएको अर्को पोस्टर देखाए। औंठाछापकै माध्यमबाट तयार पारिएको त्यो दृश्य अत्यन्त प्रतीकात्मक थियो।
तन्नेरी कलाकार श्रेष्ठका अनुसार डा. केसीले सत्याग्रह सुरू गरेदेखि उनी समीपमा रहँदै आएका छन्।
‘तेह्रौं सत्याग्रह बेला म अबेर रातसम्म पनि उहाँसँगै शिक्षण अस्पतालमा बस्ने गर्थें,’ श्रेष्ठ भन्दै थिए, ‘त्यतिबेलै मैले उहाँसँग मागेको यो औंठाछाप प्रयोग गरेर नेपाल र बाहिरी केही मुलुकमा पनि प्रदर्शनहरू आयोजना गरिसकेको छु।’
कात्तिक नाच डबलीमा प्रदर्शन सकिइसकेको थियो। एक फन्को लगाउँदा कोही भेटिएलान् कि भनेर चक्कर मारेँ। ठ्याक्कै पछाडि देखापरे, घिमिरे युवराज। त्यहीँ छेउछाउ फोटोकवि कुमार आले र संसारभर पुतली उडाउँदै हिँडेका अर्का चर्चित कलात्मक अभियन्ता मिलन राई लगायत थिए।
घिमिरेको शरीर अलि असामान्य देखिन्थ्यो। आँखा गढेका थिए, कालो चियाको कप समातेको हात कामिरहेको थियो।
‘चौबीस घन्टादेखि केही नखाएर मैले यो प्रदर्शनमा आफूलाई उभ्याएको थिएँ,’ उनले भने, ‘हाम्रानिम्ति अनसन बस्ने सत्याग्रहीको भोक महशुस नगर्दा प्रस्तुतिमा इमानदारी नआउला भनेर यो क्याथार्सिस अपनाएको हुँ।’
घिमिरे युवराज अहिलेका चिनारू होइनन्। कुनै समय उनी आफैं पनि संवाददाता थिए। पछि अर्को विधामा लहसिए। कलाकारिताको धुनले उनलाई राष्ट्रिय नाचघर हुँदै गुरूकुलको डाँडामा लग्यो।
समाचार संकलन गर्न हिँडिरहने हाम्रा निम्ति त्यो ताका दुईजना युवराज घिमिरे थिए। एक जना तत्कालीन कान्तिपुरका हाम्रा सम्पादक र अर्का यिनै। त्यो ताकै यिनको नाम ‘युवराज घिमिरे’ बाट ‘घिमिरे युवराज’ बन्न पुग्यो। घ्यूजस्ता मानिस भएकाले उनको नामको संक्षेप ‘घियु’ हामीलाई अझ प्रिय थियो।
उमेरमा थोरै तलमाथि हुनसक्छ। तर, काठमाडौंका सडकले ब्यहोरेका दबाबहरूमा हामी एउटै पुस्ताको चाप बनेर अंकित छौं।
हाम्रो पुस्ताले जत्तिको उथलपुथलपूर्ण समय सायदै अरू कसैले भोगे होलान्। ०४७ सालको संविधान कार्यान्वयनदेखि अहिलेको गणतान्त्रिक संविधान कार्यान्वयनका क्षणसम्म।
कुनै समय अस्मिना रञ्जितहरूको आयोजनामा यिनै घिमिरे युवराजहरू ‘विचलित वर्तमान’ शीर्षकमा आन्दोलित थिए। अस्मिनाको अभिव्यक्ति ‘प्रतिस्थापन कला’ र आफूजस्ता रंगमञ्चका कलाकारहरूको ‘पफर्मिङ आर्ट’ बीच बलियो सम्बन्ध रहेको घिमिरे बताउँछन्।
द्वन्द्वकालका यस्ता अनेकन कलात्मक प्रस्तुतिदेखि राजाको शासनविरुद्ध गुरुकुलमा सभा आयोजनापछि निस्केको जुलुस पुरानो बानेश्वर पुगेर धर्ना बस्दाका क्षणसम्म हामी प्रायः सँगसँगै हुन्थ्यौं।
‘हेर्नुस् न, त्यति बेला जो जो मानिस हामीसँग सडकमा थिए, उनीहरू सत्तामा पुगेका छन्,’ कालो चिया सुरुप्प पार्दै घिमिरे भन्दै थिए, ‘अहिले तिनै मानिसको शासन हामीलाई झनै गाह्रो पो पर्न थाल्यो।’
अहिलेका नेताहरूले त्यो बेला केवल मुखबाट ठूल्ठूला कुरा निकालेकाले यो परिस्थिति उत्पन्न भएको बताउने घिमिरेका अनुसार बरू कलाकार बढी इमान्दार छन्, जो मञ्चमा प्रस्तुत हुन पनि परिस्थितिलाई भित्रैदेखि महशुस गरेर आफूलाई तयार पार्छन्।
‘म टन्न खाएर पनि मञ्चमा उभिन सक्थेँ,’ घिमिरेले भने, ‘तर, मलाई मेरो कलामा यी नेताहरूको जस्तो बनावटीपन चाहिएको थिएन। इमानदारी, पवित्रता र आत्मबल चाहिन्थ्यो। त्यसैले भोकै बसेर डा. केसीलाई अनुभव गर्न खोजेँ।’
सत्याग्रही केसी पछिल्लोपटक अनसनमा बसेको लामो अवधि भइसक्दा पनि अहिलेसम्म गरिएको बेवास्ताले घिमिरेलाई असाध्यै पिरोलेको रहेछ। केसीले उठाएको माग आमनेपालीको माग भएको महशुस गरेर प्रारम्भदेखि उनको पक्षमा उभिँदै आएको उनले जानकारी दिए।
‘एउटा व्यक्ति आमनागरिकको स्वास्थ्य हितका लागि त्यत्रो भोको बसिरहेका छन्,’ उनले थपे, ‘त्यस्तो मानिसलाई बीचमा त प्रहरीहरूले अपराधीजस्तो व्यवहार गरेर हुर्मतसमेत लिए।’
गलत कामविरुद्ध आफूहरुले उहिले पनि सिर्जनात्मक रूपमा शान्तिपूर्ण तरिकाले आवाज उठाउँदै आइरहेकोमा अब पनि त्यसको झनै जरुरत परेको ठानेर यो प्रदर्शन आयोजना गरिएको उनले स्पष्ट पारे।
प्रायः कुनै कलाकार, कवि, चित्रकारहरूसँग मिलेर आयोजना गरिने यस्ता प्रदर्शनी यसपालि भने कलाकार रविन्द्र श्रेष्ठसँगको सहकार्यमा गरेको उनले जानकारी दिए।
प्रदर्शनीको शीर्षक थियो- अश्लील सत्ता।
जनस्वास्थ्यका मामलामा लापरबाही अपनाउने र यस्तो बेला पनि भ्रष्टाचारमा मुछिने अनि गोविन्द केसी जस्तालाई भोकै मार्न खोज्ने यो सत्ता ‘अश्लील’ भएको ठहर गरेका रहेछन् घिमिरे युवराजले।
त्यही रनाहामा उनले एउटा कविता लेखेका रहेछन्, जसको शीर्षक ‘अश्लील सत्ता’ नै यो प्रदर्शनको पनि शीर्षक बन्न पुगेको उनले जानकारी दिए।
‘कवितामा अन्तिम लाइन छ जसमा आमनागरिकले सर्वांग भएर शासकका अघिल्तिर उभिँदै प्रश्न गर्न चाहन्छ,’ उनले थपे, ‘अश्लील तिमी हौ कि म?’
घिमिरेका अनुसार त्यो कवितामै केन्द्रित भएर यो ‘पफर्मिङ आर्ट’ प्रस्तुत गरिएको थियो।
कविता तयार भइसकेपछि विशुद्ध नाटककै स्वरूपमा रिहर्सल गरेर देखाउँदा कताकता नाराबाजी जस्तो बन्ला भन्ने घिमिरेलाई लाग्यो। यस्तो स्थितिमा उनले भोकै मञ्चमा उभिने र पृष्ठभूमिमा स्पीकरबाट बजिरहेको कविता वाचनअनुसारै स्वतस्फूर्त आफूमा उत्पन्न ‘मुड’ अभिव्यक्त गर्ने निधोमा पुगे।
यो प्रस्तुति जम्माजम्मी १५ मिनेटको थियो। मञ्चमा घिमिरेबाहेक प्रतीकात्मक रूपमा दुईजना शासक दुईवटा कुर्सीमा बसेको देखाइएको थियो। उनीहरू पदको निम्ति सौदाबाजी गरिरहेका हुन्छन् र कुर्सी फेरिरहेका हुन्छन्। उनीहरूका अगाडि बाह्रवटा आधा खुट्टा छन्। ती खुट्टा डोरीले जोडिएका छन्। ती खुट्टाको डोरी दुई शासकले हातमा थामेका छन्।
‘अहिले जताततै मानिस कतै खान नपाएर त कतै उपचार नपाएर लाम लागिरहेका छन्,’ घिमिरेले सुनाए, ‘त्यसरी लाममा बसेका मानिसलाई कलाकार मित्र राजन काफ्लेको सिर्जनाबाट सिम्बोलका रूपमा प्रस्तुत गरेका हौं।’
त्यो खुट्टाको बीचमा उसैगरी प्रतिकात्मक रूपमा गोविन्द केसीलाई राखिएको थियो।
स्पीकरबाट कविता बजिरहँदा उत्पन्न हुने ‘इमोसन’ र पीडा अभिव्यक्त गर्न घिमिरे रातो, कालो र पहेँलो रंगमा लगातार लतपतिँदै गएका थिए। उनका अनुसार रातोले रगत, कालोले विरोधको संकेत अनि एक किसिमको सपना झल्काउन पहेँलो रंग प्रयोग गरिएको थियो।
यस किसिमको ‘इन्स्टलेसन’ वा ‘पफर्मिंग आर्ट’ आफ्नो बुझाइमा कला क्षेत्रका लागि आधुनिक अभ्यास नै भएको घिमिरे बताउँछन्। नेपालबाहेक डेनमार्कसमेत पुगेर नाटक अध्ययन गरेका घिमिरेका अनुसार युरोपतिर यस्ता अभिव्यक्ति अत्यधिक प्रचलनमा छन्।
‘मुखौटाहरूको प्रदर्शनलाई पनि इन्स्टलेसन आर्ट मान्ने हो भने त्यसमा सांस्कृतिक परम्परा जोडिने आधार खोजी गर्न सकिएला,’ उनी थप प्रस्ट पार्छन्, ‘खासमा यो मानिसको पीडालाई समातेर सामाजिक रूपान्तरणसँग जोडिएको हुन्छ।’
मञ्चमा उभिएर परिस्थितिअनुसारै आफूलाई प्रस्तुत गरिने यो शैली अन्य नाटकहरूजस्तो ‘डिजाइन’ गरेर तयार पारिँदैन। यसरी स्वतस्फूर्त देखाइने भएकाले यो एकपटक मात्र प्रस्तुत हुन्छ।
‘पफर्मिंग आर्ट बढीजसो राजनीतिक नै हुन्छ,’ घिमिरे भन्छन्, ‘अरू नाटकजस्तो विरेचन मात्र नभएर यो प्रत्यक्ष रूपमा मानिसहरूको तत्कालको अभिव्यक्ति हो।’
यसको अर्को विशेषता भनेको मञ्चका कलाकार र दर्शकदीर्घाबीच सिमाना भत्काउनु पनि हो। त्यो भेदले दुवैथरिबीच दुरी बनाइरहने भएकाले यसो गर्नु जरुरी रहेको उनी सुनाउँछन्। अर्थात्, आमदर्शकलाई पनि आफैंभित्र समेट्नु नै यो नाटकको उद्देश्य हो, जसबाट उनीहरूलाई पनि उद्वेलित पार्न यो प्रभावकारी हुन्छ।
यस किसिमको ‘पर्फमिङ आर्ट’ महामारी सुरू भएयता घिमिरेले प्रस्तुत गरेको यो तेस्रो रहेछ।
सुरूमा सरकारले लकडाउन गर्नेबित्तिकै काम गर्न नपाएका र भोकै बस्नुपरेका मानिसको पीडालाई लिएर बत्तीसपुतलीमा पहिलो प्रदर्शन गरिएको थियो। घिमिरेका अनुसार त्यो बेला पनि प्रहरीहरू सादा पोशाकमा आएर सबैथोक उठाएर लगेका थिए।
महामारी बेला सरकारले उपचारमा देखाएको उदासिनताले निराश भएपछि दोस्रो प्रदर्शन भने मंगलबजारको कात्तिक डबलीमै गरिएको थियो। त्यति बेला ‘अभिभावकविहीन जनता’ शीर्षकमा प्रस्तुत गरेको जानकारी उनले दिए।
त्यसपछि डा. केसीको अनसनप्रति सरकारी बेवास्तालाई लिएर यो तेस्रो प्रस्तुति गरिएको हो।
‘अहिले विश्वभरि संक्रमणको आतंक बढिरहँदा यसरी सार्वजनिक प्रदर्शन गर्दै हिँड्नु गलत भएन?’ घिमिरेलाई सोधियो।
उनले अन्य समयमा नाटक देखाउँदाजस्तो आम रूपमा प्रचारप्रसार नगरेको र प्रायः स्वाभाविक हिसाबले नै मानिस भेला भइरहने स्थलमा दुरी कायम राखेर यस्तो प्रदर्शन गरिएको स्पष्ट पारे।
‘हामी त अहिले मानिसमा निराशा बढिरहेका बेला यस्ता गतिविधि सुरक्षित तवरले बढाउनैपर्छ भन्ने पक्षमा छौं,’ उनी भन्छन्, ‘रोगले भन्दा निराशा र एकोहोरोपनले मानिस बढी आक्रान्त भइरहेका छन्।’
बाटोमा हिँड्दा हिँड्दै मानिसले अचानक साक्षात्कार गर्ने कलाका विभिन्न गतिविधिले उनीहरूमा आशा जगाउने र त्यस्ता काममा युरोपेली सहरहरू निकै अगाडि रहेको घिमिरे बताउँछन्।
नेपालमा पनि खुला स्थानहरूमा सक्दो बढी कलाका विविध प्रस्तुति राखिनुपर्ने उनको बुझाइ छ।
‘अहिले संकटलाई अघि सारेर मानिसलाई घरघरै थुन्ने र आफ्ना गलत मनोकांक्षा पूरा गर्ने काम सरकारबाट भइरहेको छ,’ घिमिरेले भने, ‘यस्तो बेला त झनै थामिनु हुँदैन।’
सबै जना चुप लागेर बस्यो भने अहिले सबभन्दा खतरामा गोविन्द केसीजस्ता सत्य र न्यायमा लागेका मानिस चेपुवामा पर्ने घिमिरेको ठहर छ।
‘या त केसीका माग जायज छैनन् भनेर खुलेर भन्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘होइन भने ती मागको सुनुवाइ हुनुपर्छ।’
हाम्रो पुस्तामै स्वास्थ्य क्षेत्रको सुधार निम्ति महान सत्याग्रहीका रूपमा डा. केसी देखापरेको घिमिरे बताउँछन्।
‘हाम्रा समाजका विकृति उदांगो पारिदिने यस्ता मानिस स्वास्थ्य मात्र होइन, सबै क्षेत्रमा चाहिएको थियो,’ घिमिरे भन्छन्, ‘तर, एकपछि अर्को सरकार यी भएका एउटै सत्याग्रहीलाई पनि बाटोको काँडा ठान्न थालेका छन्।’
पछिल्लो समय सरकारले काठमाडौं आउनेबित्तिकै गरेको दुर्व्यवहार र अब आएर बेवास्ताले डा. केसीको जीवन नै संकटमा पर्न थालेको छ।
‘यो बेवास्ताकै बीच केसीको ज्यानलाई तलमाथि भइदियो भने हाम्रो पुस्ता नै कलंकित बन्नेछ,’ घिमिरेले आक्रोश पोख्दै भने, ‘नेताहरू ले मार्सी चामलको भोज खाएको तस्बिरलाई आगामी पुस्ताले हाम्रो नासोका रूपमा भेट्नेछन्।’
सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी
यो पनि हेर्नुहोस्: