आल्प्स पर्वत श्रृंखलाको सुन्दर अष्ट्रियाली भूभागमा स्की (हिउँमा खेलिने चिप्लेटी) का लागि उनीहरू विश्वभरबाट जम्मा भएका थिए।
ज्याकोब होमिलर र उनका साथी अमेरिकादेखि उडेर आइपुगेका थिए। लन्डनमा बसोबास गर्दै आएकी अवकाशप्राप्त शिक्षक जेन विट घुमफिरसँगै पारिवारिक जमघटसमेत भ्याउने हिसाबले उपस्थित भएकी थिइन्।
त्यसैगरी ह्याम्बर्गस्थित टेनिस क्लबका तन्नेरी निर्देशिका एनेट गार्टेन आफ्नो जन्मदिन मनाउन भनेर श्रीमान र दुई हुर्केका केटाकेटीसमेत लिएर यसै ठाउँ आइपुगेकी थिइन्।
फेब्रुअरीको अन्त्य र मार्च महिनाको सुरूतिर नजिकैको उत्तरी मुलुक इटालीमा कोरोना संक्रमण फैलिएर हावाकावा मच्चाएको अनि सिमाना काटेर त्यसका प्रभाव अर्को छिमेकी जर्मनीमा पनि प्रवेश गरेको चाल पाउँदा पाउँदै पनि खासै सतर्कता कसैले अपनाएका थिएनन्।
हिउँले ढाकिएका पाखाहरूको सयर गराउने केबलकारमा दिन प्रतिदिन अप्रत्याशित दरले भिड बढिरहेको थियो। साँझपख सेतो पाखाका बारहरूमा धिपधिपे बत्तीमा रमाइरहेका जमघट देख्दादेख्दै पनि अष्ट्रियाली अधिकारीहरूले खासै वास्ता मतलब राखेनन्।
'यस्तो लाग्दै थियो, सारा संसार इसगुलमै भेला भएको छ,' श्रीमती गार्टेन सम्झना गर्छिन्।
त्यसपछि उनीहरू सबै आ-आफ्ना घर फर्किए। फर्कने बेला इसगुल वा यसका आसपासका गाउँबाट भाइरस पनि साथै बोकेर गए। पाँच वटा महादेशका चालीसभन्दा धेरै मुलुकबाट भेला भएका स्की गर्ने हजारौंहरूले संक्रमण ओसारे।
आइसल्यान्डमा भेटिएका धेरैजसो प्रारम्भिक केसहरू इसगुलबाटै संक्रमित पाइएको थियो। मार्च महिनामा नर्वेमा जति पनि कोरोनाका केस भेटिएका थिए, त्यसमध्ये आधाजसो अष्ट्रियामा छुट्टी बिताउन गएका स्की गर्नेबाटै ओसारिएको पाइएको थियो।
विश्वव्यापी पर्यटन मौलाएको बेला खुला सिमानाले जोडिएको र सस्तो विमान टिकट उपलब्ध गराएको इसगुल महामारी फैलाउनेमध्येकै एक यस्तो केन्द्र बनिदियो, जसबाट संक्रमण विस्तारको नौ महिनामा विश्वभर दसौं लाख मानिसले ज्यान गुमाए।
संसारलाई नजिक्याउने गरी दसकौंदेखि विश्वभर व्यापार र पर्यटनका तीव्र गतिविधिले सार्वजनिक स्वास्थ्यका आपसी सम्झौतामा आवद्ध मुलुक पनि उदार भई पाहुना निम्त्याउन महामारीजस्ता बेलामा पनि सिमाना खुल्लै राखिदिन थालेका थिए।
अहिले आएर संसारले बल्ल बुझ्यो, त्यस्ता सम्झौता र नीतिहरू सार्वजनिक स्वास्थ्यका हिसाबलेभन्दा पनि मुलुकबीचका राजनीति र आर्थिक कारणले लागू गरिएका रहेछन्।
जनस्वास्थ्यका रेकर्ड, वैज्ञानिक अध्ययनका टन्नै दस्तावेज र दुई दर्जनभन्दा बढी विज्ञसँग गरिएको अन्तवार्ताले देखाएअनुसार ती खुल्लमखुल्ला पर्यटनमुखी नीतिहरू कहिल्यै पनि विज्ञानसम्मत निगरानीलाई आधार बनाएर तय गरिएका रहेनछन्।
सन् १९९० दशकमा भारतमा प्लेग महामारी फैलिएपछि जुन स्वास्थ्य निर्देशिका जारी गरिएको थियो, त्यो पनि राजनीतिक रहेछ। कोरोनाले प्रभाव देखाउनुअघिसम्म पनि यस किसिमको निगरानी वस्तुतः स्वास्थ्य विज्ञानभन्दा पनि आपसी विश्वासका आधारमा कायम हुँदै आएका रहेछन्।
'पर्यटन र वाणिज्यजस्ता कुरामा निषेधको नीति अपनाउनुभन्दा पनि यसलाई वैश्विक स्वास्थ्य सरोकार राख्नेको धर्मका रूपमा हेरिनु पर्छ,' अन्तर्राष्ट्रिय स्वास्थ्य नीतिका रुपमा वैश्विक नियम तय गर्न सघाउ पुर्याउने एवं जर्जटाउन विश्वविद्यालयमा वैश्विक स्वास्थ्य कानुनका प्राध्यापक लरेन्स ओ गस्टिन भन्छन्, 'यस्तो विचार राख्ने संसारभरका मण्डलीकै म पनि एक सदस्य हुँ।'
यो विश्वासलाई कोरोनाले धक्का दिएको छ। यो महामारीअघि गरिएका केही अध्ययनले भ्रमणमा लगाइने निषेधका कारण सार्स, रुघा महामारी वा इबोलाजस्ता रोग संक्रमणमा केही ढिला भए पनि यसलाई रोक्न भने नसकिएको पत्ता लागेको थियो।
यद्यपि त्यस्ता अधिकांश अध्ययन कसैले व्यक्तिपिच्छे संकलन गरेको तथ्यांकमा भन्दा पनि गणितीय हिसाबले निकालिएको थियो। अहिले पनि कोरोना भाइरसको विश्वव्यापी संक्रमण फैलिरहँदा भ्रमणमा लगाइएको निषेधले के कस्तो प्रभाव पारेको छ भन्ने खुलिसकेको छैन।
'साँचो बोल्नेहरू जसले पनि दिने जवाफ उही हुनेछ, 'हामीलाई थाहा छैन',' विश्व स्वास्थ्य संगठनका पूर्व वरिष्ठ अधिकृत एवं हाल हङकङ विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक केइजी फुकुदा भन्छन्।
संसारले फेरि सामान्य गति समात्ने प्रयत्न गरिरहँदा कतिपय कुराको खुलासा नभइदिँदा झनै अत्यास बढिरहेको छ। महिनौंयता थुप्रै मुलुकले यात्रा निषेधित गर्दै आइरहँदा अधिकांशले कडाइ मात्र अपनाइरहेका छन्। अझ कतिपय त विवादित पनि बनेका छन्। कतिपयले सिमाना बन्द गरेका छन् भने मुलुकभित्रै पनि लकडाउन गरेका छन्।
त्यसैगरी कतिपयले परीक्षण र क्वारेन्टिनजस्ता उपाय अवलम्वन गरेको पाइन्छ। कतिपयले जोखिममा परेका गन्तव्य सूचीलाई नियमित रूपमा नवीकरण गरिरहेका छन् र आफ्ना नागरिकलाई प्रवेशका बेला अरूले जस्तो व्यवहार गरेका छन्, उनीहरूसँग पनि उस्तै व्यवहार गरेको पनि पाइन्छ।
निषेधका गतिविधिले यतिबेला अमेरिकाजस्तो शक्तिशाली मुलुकलाई पनि विनम्र बन्न बाध्य बनाएको छ।यहाँका नागरिकलाई संसारमा पहिलेजस्तो आउनेबित्तिकै सबैले सहजै ढोका खुला गरिरहेका छैनन्। यति हुँदाहुँदै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले एकातिर आफूले जारी गरेको भ्रमण निषेध 'ठूलै कदम' भनेर अर्थ्याउन छाडेका छैनन्। अर्कोतिर विश्व स्वास्थ्य संगठनले विश्वभरका सिमानाका लागि दिएको सुझाव 'भयावह' पनि भनिरहेका छन्।
यद्यपि तथ्यांक र विज्ञानसम्मत निगरानीका आधारमा कतिसम्म यात्रा निषेधित गर्दा अहिलेको अवस्थामा सघाउ पुग्छ र कस्ता निषेध अपनाउनु उचित हुन्छ भनेर अहिले निर्क्यौल गर्नु चाँडो हुनेछ। महामारीको प्रारम्भिक चरणमा खुला सिमानाका पक्षमा वकालत गर्ने विज्ञहरू अहिले आएर मुलुकहरूले यस मामलामा न्यायपूर्ण यात्रा नीति अपनाउनु ठीक रहने भन्न थालेका छन्।
उता विश्व स्वास्थ्य संगठनले भने प्रत्येक मुलुकले आफूले वहन गर्न सक्ने जोखिमका आधारमा क्रमशः सिमाना खुला गर्दै लैजानु उपयुक्त हुने बताइरहेको छ।
'यस विषयका वहसमा पक्कै पनि ठूलो परिवर्तन देखिँदै गइरहेको छ,' यो महामारी बेला यात्रा प्रतिबन्धको प्रभावबारे अध्ययन गरिरहेकी क्यानाडास्थित सिमोन फ्रेजर युनिभर्सिटीकी प्राध्यापिका केली ली भन्छिन्, 'जबकि विश्वले झेलिरहेको परिस्थितिमा कुनै अन्तर आएको छैन।'
विभिन्न कोणबाट हेर्दा स्पष्ट देखिएको कुरा चाहिँ विशेषगरी यात्रा मामिलामा विश्वव्यापी जनस्वास्थ्य नीति आफैंमा अपूर्ण रहेछ। सस्ता दरका विमान सेवाले वैश्विक पर्यटनमा तरंग ल्याएको छ। यो नीति जारी भएको वर्ष अर्थात् सन् २००५ यता, वर्षमा कम्तिमा एकपटक समुद्रपार यात्रा गर्नेको संख्यामा ८० प्रतिशत बढेको देखिन्छ।
यसरी सहज र विस्तारित हुँदै गएका वैश्विक यात्राले ठूलो मात्रामा संक्रमण फैलाएर महामारी बढाउन सघाउ पुर्याएको छ।
उदाहरण, इसगुलमा स्की गर्न गएकाहरू जसले भाइरसलाई सजिलै विश्वव्यापी बनाइदिए। त्यसैगरी फ्रान्सको विशाल चर्चमा भेला भएकाहरू जसले यो रोगलाई अफ्रिका, ल्याटिन अमेरिकादेखि लिएर युरोपकै विभिन्न भेगमा फैलाइदिए।
अष्ट्रियाको यात्रापछि परीक्षण गर्दा होमिलर र उनका कम्तिमा चार साथीमा कोरोना भेटिएको थियो। त्यसैगरी शिक्षक जेन विटलाई भान्छामा काम गर्दागर्दै निस्सासिएको अनुभव भयो र जीवनका लागि संघर्ष गर्नुपर्ने चरणमा पुगिन्। श्रीमती गार्टेनको परिवारै बिरामी भयो जसमध्ये उनका पति त जर्मनी पुगेपछि अस्पतालै भर्ना हुनुपर्यो।
यतिबेला दर्जनौं मुलुकका कम्तिमा एक हजार मानिसले अष्ट्रिया सरकारविरुद्ध मुद्दा दिने विचार बनाइरहेका छन्। बुधबार मात्र भियनाका एक वकिलले चार जना संक्रमित पर्यटकका तर्फबाट मुद्दा हालेका छन्। यसमध्ये दुई जनाको कोरोनाबाट निधन भइसकेको छ। मुद्दामा, सरकारले बेलैमा ती रिसोर्ट बन्द गराउनु पर्ने र पर्यटकलाई परै बस्न लगाउनु पर्नेमा त्यसो नगरेको भन्ने आरोप छ।
'उनीहरूले जानाजान यो लापरवाही गरेका हुन्,' शिक्षक विट भन्छिन्, 'मानिसको स्वास्थ्यभन्दा पनि पैसा ठूलो भइदियो।'
प्लेग र प्रताडनाः
ह्यामवर्गमा हुर्किँदै गर्दा केवल १६ वर्षमै एनेट गार्टेनले उनको परिवारका साथ पहिलोपटक इसगुलस्थित सुन्दर रिसोर्टको यात्रा गरेकी थिइन्। यो सन् १९८० दशकको कुरा हो। त्योताका बढिजसो जर्मनीका मानिस स्की गर्न त्यहाँ पुग्थे। सडकमा गाइका गोबर थुप्रिएका हुन्थे।
'यो एक अत्यन्त साधारण अष्ट्रियन गाउँ थियो,' उनी भन्छिन्।
१९६० दशकमा एक व्यापारिक सोच भएका गाउँलेले घरघरै पुगेर केबलकारका निम्ति चन्दा संकलन गरेर। यो गाउँ रिसोर्टका रूपमा रुपान्तरण भयो। जतिबेला किशोरी गार्टेनले यो ठाउँमा पहिलो पाइला राखेकी थिइन्, त्यतिबेला यो सायदै विश्वभर पर्यटकीय गन्तव्यका रूपमा चिनिन्थ्यो।
१९९० दशकमा बल्ल त्यो सुखद परिणाम यस ठाउँले हासिल गर्न थालेको हो। अनि त्योताकै गार्टेनले बेलायती र भुवादार टोपी लगाएका रुसी पर्यटकलाई पनि देख्न थालेकी थिइन्। साँघुरा गल्लीमा नयाँ होटल देखिन थालेका थिए। साथै एल्टन जोन र बब डिलनजस्ता महान गायकको प्रस्तुति यो ठाउँमा हुने समाचार शिर्षकहरू आउन थालेका थिए।
विश्वव्यापीकरणको त्यो चक्रले इसगुललाई जस्तैगरी सिंगो संसार फेर्दै लगेको थियो। बहुराष्ट्रिय कम्पनीको पहुँच धमाधम बढ्दै गएपछि विश्वव्यापी सेवा विस्तार हुँदै गयो। विश्व व्यापारले मुलुकहरूलाई परस्पर अन्तनिर्भर बनाउँदै लग्यो जसमा जोखिम पनि जोडिएकै थियो।
यस्तै अवस्थामा सन् १९९४ को हिउँदयाममा भारतीय बन्दरगाह सहर सुरतमा प्लेगको संकट देखापर्यो। यसले विश्वभर हल्लीखल्ली मच्चियो र थुप्रै मुलुकले भारतमा यात्रामाथि प्रतिबन्ध लगाउन थाले। पर्यटकले तय गरिसकेको आफ्नो छुट्टीका कार्यक्रम रद्द गरे। वायुसेवाले उडान स्थगित गरे। युनाइटेड अरब इमिरेट्सले भारतीय कार्गोलाई प्रतिबन्धै लगायो भने रुसले जहाजमार्फत् पठाएका भारतीय सामग्री क्वारेन्टिनमा राखेर मात्र प्रवेश दिन थाल्यो।
प्लेग असामान्य समस्या पक्कै थिएन। यो बर्सेनि कतै न कतै देखापरिरहन्छ। अमेरिकामै पनि देखिन्छ। यस्तो अवस्थामा सुरतमा त्यतिबेला देखिएको प्लेगको समस्या सामान्यखाले थियो। केवल ५० भन्दा बढी मानिसको ज्यान त्यसबाट गएको थियो। तर, संसारभर मच्चिएको हल्लाखल्लाले त्यो सहर नै आक्रान्त बनाइदियो र सिंगो भारतकै अर्थतन्त्रमा करिब तीन अर्ब अमेरिकी डलर नोक्सान पारिदियो।
संक्रमणको हल्लाखल्ला असाध्यै चर्को भएपछि त्यतिबेला विश्व स्वास्थ्य संगठनकै वरिष्ठ अधिकारी एवं अमेरिकी संक्रामक रोग विशेषज्ञ डेभिड हेम्यानलाई उनको संस्थाका तर्फबाट 'सुरत काण्ड' जाँचबुझमा संलग्न गराइएको थियो। जबकि भारतीय अधिकारीले नै भरपर्दो तवरले त्यो संक्रमणको रिपोर्ट तयार पार्दै त्यसलाई तत्काल नियन्त्रणमा लिएका थिए। यति हुँदाहुँदै भारत सजाय भोग्न बाध्य भयो जसलाई डेभिड 'अकारण पाएको सजाय' भन्छन्।
यतिबेला अन्तर्राष्ट्रिय स्वास्थ्य नीतिको तर्जुमा नै वाणिज्य अवरोधलाई नियन्त्रणमा लिन गरिएको छ। जबकि त्यो केवल प्लेग, हैजा र पहेँलो ज्वरो गरी तीनटा रोगमा लागू हुन्छ। यो लागू गर्न सम्भव नभएको अवस्थामा विभिन्न मुलुकले अन्य रोग दर्शाएर यात्रामा निषेध लगाउँदै आएका छन्।
यस्तो अवस्थामा सुरतले कमजोरीलाई उदांगो पारिदिएको थियो। विश्वभर महामारीको घन्टी बजाउने काम राजनीतिक नेताले सम्हाल्दै आइरहेका छन्। अर्थतन्त्र नै संकटमा पार्ने संकेत देखिएको खण्डमा कुनै पनि मुलुकले संक्रमणको जानकारी बाहिर ल्याउँदैनन्।
'यस्ता गतिविधिले हामीलाई अब यो नीतिमै परिवर्तन ल्याउन आवश्यकता औंल्याएको छ,' डा. हेम्यान भन्छन्।
भारतमा प्लेगको विडम्बनालगत्तै विश्व स्वास्थ्य संगठनले यो नीतिमा व्यापक पुनर्विचार थालेको थियो जुन सार्स संकटले विश्वलाई सन् २००३ मा च्याप्दासम्म अघि बढेको थियो। त्यतिबेला महामारीको भयले विश्व स्वास्थ्य संगठनले प्रभावित मुलुकमा यात्रा निषेध सुझाव जारी गर्यो। जुन उसको ५५ वर्षको इतिहासमै सबभन्दा कडा सुझाव थियो।
त्यतिबेला एसियाली मुलुक सबभन्दा प्रभावित थिए। जबकि त्यही कुराका निम्ति टोरन्टो सहरमाथि लगाइएको यात्रा निषेधका कारण विश्व स्वास्थ्य संगठनविरुद्ध सबभन्दा ठूलो प्रतिक्रिया क्यानाडाबाट आइपुग्यो। त्यसपछि संगठनका सदस्य राष्ट्र भेला भएरै संगठनको काम अघि बढाउन हरियो झन्डा देखाउनुपरेको थियो।
यसपटक प्रक्रिया अझ तीव्र भयो। सन् २००५ मा व्यापार तथा यात्राका लागि 'अनावश्यक हस्तक्षेप'का कारण उत्पन्न हुनसक्ने आर्थिक अवस्था र जनस्वास्थ्यका आवश्यकताको सन्तुलन मिलाउन कुटनीतिज्ञहरूले निकै कसरत गर्नुपरेको थियो। जबकि नयाँ नियमले मुलुकहरूलाई उनीहरूका सिमाना बन्द गर्न र व्यापार तथा पारवहन नियन्त्रण गर्न रोकेको थिएन। त्यो अवस्थालाई अन्तिम विकल्पका रुपमा लिइनुपर्ने भने स्पष्ट पारिएको थियो।
यसरी नियम बनाउँदा पनि जनस्वाथ्यका मामिलामा वैज्ञानिक तवरबाट हुने निगरानीलाई भने कहिल्यै आधार बनाइएन। बरू सिमाना बन्द गरिदिँदा औषधि र सहायताकर्मीको ओसारपसार र आवतजावतमा अवरोध हुनसक्ने जस्ता वस्तुगत परिस्थिति समेटिएको थियो। यति हुँदाहुँदै पनि यात्रा निषेधको उपाय अपनाउँदा त्यसले संक्रमण तत्काल फैलनबाट रोक्छ कि रोक्दैन भन्ने अध्ययन कसैले गरेका थिएनन्। यस किसिमको तथ्यांक संकलन गर्ने प्रचलन नभएकाले पनि त्यसो भएको हुनसक्छ।
'हामी आफैं यसबारे जानकार छौं भन्ने भ्रममा त्यसको गणना गरिनुपर्छ भन्ने सोच्दै सोचेनौं,' जर्जटाउनका प्राध्यापक गोस्तीन भन्छन्, 'र, हामीले गर्दा पनि गरेनौं।'
नयाँ नियम सन् २००७ मा प्रभावकारी भएको हो जतिबेला संसार आफैंले त्यसलाई अनावश्यक बनाउँदै लगिरहेको थियो। जेनेभास्थित ग्राजुएट इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड डेभलपमेन्ट स्टडिजकी प्रध्यापक इलोना किकवुस्कका अनुसार विश्व पूर्णतया वाणिज्यतर्फ ढल्किँदै गइरहँदा पर्यटन उद्योग यस्तरी झांगिएर आउँछ भन्ने कसैको अन्दाजै थिएन।
सन् २००० लाग्दा नलाग्दै इसगुलको रात्री जीवनले संसारभर 'दी इबिजा अफ दी आल्प्स'को संज्ञा पाइसकेको थियो। युरोपभरबाट पर्यटक बोकेर आउने बस बिसौनी व्यापक विस्तार भइरहेको थियो। अझ थोरै दरमा उपलब्ध यहाँको हवाइ यात्राले पनि उल्लेखनीय भूमिका खेलिरहेको थियो।
आज पर्यटकले इसगुल पुग्न अष्ट्रिया, जर्मनी, स्वीट्जरल्यान्ड र इटालीका आठवटा आसपासकै विमानस्थल प्रयोग गर्न सक्छन्। जर्मनीको मेमिंगेन विमानस्थल त्यसमध्येकै एक हो जुन कुनै समय सैनिक हवाइमैदान थियो।
सन् २००९ मा जतिबेला आयरल्यान्डको अत्यन्त कम खर्चमा यात्रा गराउने र्यान एयरले यहाँको उडान सुरू गर्यो, यो विमानस्थलको चलहपहलै अर्कै हुन थाल्यो। यतिबेला त्यस्ता थुप्रै कम मूल्यका विमान कम्पनीले उडान भर्ने यो विमानस्थलबाट गत वर्ष मात्रै १७ लाखभन्दा बढी यात्रु ओहोरदोहोर गरेका थिए।
पछिल्लो दशकसम्म पनि म्युनिख र जुरिच भएर आउने विमानले अमेरिका र चीनदेखि पर्यटक ओसार्ने यो त्यही इसगुल हो जहाँ आज बर्सेनि ३६ मुलुकबाट तीन लाखसम्म पर्यटक ओइरिरहेका छन्।
गत जाडो महिनामा इटालीबाट अप्रिय समाचार आइरहेकै भए पनि इसगुलका सबै होटल टनाटन थिए। आफूलाई कार्यालयबाट बिदा गर्ने बेलामा हाकिमले 'फर्किँदा भाइरस नल्याउनू है' भन्दाभन्दै पनि आफूले त्यस कुरामा धन्दै नमानेको श्रीमती गार्टेन सुनाउँछिन्।
'मलाई त बरु हामी सहरको घच्चापच्चीभन्दा पर पहाडतिर जाँदैछौं भन्ने लागिरहेको थियो। जहाँ ताजा हावाले हामीलाई स्वागत गर्दैछ भन्ने मात्र कल्पना गरेका थियौं,' उनी भन्छिन्, 'यस्तो हुन्छ भन्ने त कसलाई थाहा थियो र?'
अचानक भागाभागः
स्की गर्नकै निम्ति इसगुल आउने गरेकी श्रीमती गार्टेन अन्य कुराका निम्ति विरलै बाहिर निस्किन्थिन्। यो विरलै निसक्ने कुरा उनको ५० औं जन्मदिनको रातअघि भयो। उनी श्रीमानका साथ एउटा बार पुगेकी थिइन्।
उनीहरू केही साथीका साथ 'कित्ज्लोक बार'मा पुगे। टनाटन भरिभराउ थियो र संगीतको ध्वनीले सबैलाई हल्लाइरहेको थियो। रक्सीले धुत मानिस स्की गर्ने पहिरन लगाएरै नाचिरहेका थिए भने अनियन्त्रित भिड सम्हाल्न बारका कर्मचारीले दुईपटक त श्रीमती गार्टेनको कानैनेर सिठ्ठी बजाइदिएका थिए।
'त्यो रातको सम्झना मात्र गर्दा पनि मलाई आफू नराम्ररी रुझेको अनुभव हुन्छ,' उनले फेरि सम्झने कोशिस गरिन्।
त्यो रात अर्थात् मार्च महिनाको ५ तारिख इसगुलबाट आएका झन्डै एक दर्जनभन्दा बढी आफ्ना नागरिकमा कोरोना देखिएपछि आइसल्यान्डले त्यहाँको यात्रा नगर्न सावधानी जारी गरेको थियो। त्यसको दुई दिन नबित्दै कित्ज्लोक बारमा काम गर्ने एक जर्मन नागरिकमा कोरोना देखियो जुन इसगुलकै पहिलो कोरोना थियो। यति हुँदाहुँदै पनि स्थानीय अधिकारीले परिस्थिति सम्हाल्नुपर्ने खासै आवश्यकता देखेनन्।
'यसो हेर्दा त्यो बारमा उपस्थितलाई संक्रमण फैलनेसक्ने परिस्थिति देखिन्छ,' भोलिपल्टै राज्यस्तरीय स्वास्थ्य निर्देशकले जारी गरेको विज्ञप्तिमा थियो। त्यो विज्ञप्तिलगत्तै कित्ज्लोक बारमा भाइरस नष्ट गर्ने औषधि छर्किइयो र बार फेरि पहिलेजस्तै खोलियो।
त्यसको भोलिपल्ट बारका भएभरका वेटरमा कोरोना देखियो। २५ वर्षे प्रबन्धक बर्नहार्ड जांगेर्ल यसलाई दुर्भाग्य भन्छन्। त्यहाँ लापरवाही भएको थियो भन्ने आक्षेप उनी मान्दैनन्।
'त्यो भाइरस इसगुलको थिएन,' आफू पनि संक्रमित भएका जांगेर्ल भन्छन्, 'त्यो कतै अन्तबाट यहाँ ल्याइएको थियो।'
त्यतिन्जेलसम्म युरोपको निर्वाध यात्रा गर्ने पर्यटकको गतिविधि थामिन थालेको थियो। इटालीले आफ्ना सिमाना बन्द गरिदियो। भियनामा भने अष्ट्रियाली नेताले संसारभरका प्रश्नको सामना गर्न थालिसकेका थिए।
'केवल केही साता मात्रअघि हामीले चीनको अवस्था हेरेपछि 'त्यस्तो क्वारेन्टिन त केवल चाइनामा मात्र सम्भव छ' भनेका थियौं,' अष्ट्रियाका स्वास्थ्यमन्त्री रुडोल्फ एन्स्कोबेर भन्छन्, 'अनि त्यही महिना हामीले कल्पना पनि नगरेका निर्णय लिनुपर्यो।'
संक्रमणको समाचारलगत्तै कित्ज्लोक बार त बन्द भयो तर इसगुलका अन्य बार अर्को दिन पनि यथावत खुलेका थिए। जबकि बाँकी सम्पूर्ण युरोपभरबाट चेतावनी आइसकेको थियो।
अन्त्यमा बल्ल राज्यका गभर्नर गुन्टेर प्लाटेरले सम्पूर्ण राज्यमा जाडो महिनाको पर्यटकीय सिजन यसपालि चाँडै अन्त्य हुने घोषणा गरे। नभए थप एक लाख पचास हजार पर्यटक अर्को शनिबार भित्रनेवाला थिए।
'त्यो भनेको अर्को झन्डै डेढ अर्ब युरो हामीले गुमायौं,' प्लाटेर भन्छन्। विश्व स्वास्थ्य संगठन र जर्मनीको रोबर्ट कोच इन्स्टिच्युट जस्ता संस्थाले निकै ढिलो प्रतिक्रिया दिएकाले आफूहरूले राज्यका निम्ति सही निर्देशिका प्राप्त गर्न नसकेको उनी बताउँछन्। त्यो सूचना जारी गर्दा पनि आफूलाई 'धेरै नै चाँडो गरिएछ कि' भन्ने लागेको उनले जानकारी दिए।
अर्कोतर्फ अष्ट्रियन सरकारविरुद्ध परेको मुद्दामा संलग्न भियनाका वकिल पिटर कोल्बा त्यहाँको सरकारले कम्तिमा एक साताअघि बन्द घोषणा गरिसक्नुपर्ने दाबी गर्छन्। उनका अनुसार इसगुलका प्रारम्भिक केही केस देखापर्ने बित्तिकै त्यो कदम चालिसक्नुपर्ने थियो। अधिकारीहरूको पर्यटन उद्योगमूखी सोचले गर्दा खुलै रहेको उनको भनाइ छ।
'जाडो अर्थात् सिजनका बेला इसगुलका प्रत्येक दिन असाध्यै बहुमूल्य हुन्छन्,' वकिल कोल्बा भन्छन्, 'किनभने त्यहाँ पर्यटकबाट धमाधम ठूलो मात्रामा पैसाको वर्षा भइरहेको हुन्छ।'
गभर्नर प्लाटेरले रिसोर्टमा ताला लगाउने निर्णय गर्नेबित्तिकै स्थानीय अधिकारीले त्यहाँ बसेका पर्यटकलाई सुरक्षित बाहिर निकाल्ने योजना बनाउन थालिहाले। विदेशी पर्यटकलाई धमाधम विदाइ गर्ने र अष्ट्रियाका नागरिक अनि सिजनभर आएर काम गर्ने मानिसलाई धमाधम क्वारेन्टिनमा राखिने निधो गरियो। तर, यी सबैथोक सकिनुभन्दा पहिल्यै अष्ट्रियाका राष्ट्रप्रमुखले अपत्यारिलो किसिमबाट टेलिभिजनबाटै लकडाउन घोषणा गरिदिए।
अचानक सबैलाई छाडेर जाने उर्दी सुरू भयो।
लन्डनकी अवकाशप्राप्त शिक्षक विटको सामुन्ने सेन्ट एन्टोन गाउँका पसलमा धमाधम ताल्चा लाग्दै थियो। उनकी छोरी त्यतिबेला पनि स्की गरिरहेकी थिइन्, उता स्कीको लिफ्ट परिचालन गर्ने कर्मचारी कुर्सी छाड्दै–हिँड्दै थिए।
'एक घन्टाभित्र त्यो सडक चकमन्न भएको थियो,' श्रीमती विट भन्छिन्, 'त्यो सम्झँदा पनि डर लाग्छ।'
उपत्यकाका प्रमुख बाटामा कारको थुप्रो लागेको थियो। धमाधम बाहिरिँदै गरेका पर्यटकबाट 'कन्ट्याक्ट ट्रेसिङ' फारम बुझ्न प्रहरीलाई हम्मे परिरहेको थियो। वकिल कोल्बाका अनुसार त्यतिबेला आ-आफ्नो मुलुक फर्कन खोजेका पर्यटकमा अनिश्चितताको त्रास थियो।
कोल्बाका अनुसार इसगुल, सेन्ट एन्टोन र छेउछाउका गरेर कम्तिमा २७ पर्यटकको भाइरस संक्रमणका कारण मृत्यु भएको छ। युरोपभरबाट अष्ट्रियामा आएका ११ हजारभन्दा बढी संक्रमित बनेका थिए। तीमध्ये अधिकांशको संख्या इसगुल र छेउछाउकै रिसोर्टमा संक्रमितको रहेको अष्ट्रियाको सरकारी सञ्चार 'ओआरएफ'को अनुसन्धानले देखाएको छ।
इन्स्ब्रुक मेडिकल युनिभर्सिटीका अध्येताले अप्रिलमा इसगुलका १५ सय वासिन्दामा गरेको परीक्षणमा ४२ प्रतिशतको शरीरमा भाइरस विरुद्धको एन्टीबडी फेला परेको थियो।
अनिश्चित भविष्यः
इसगुल पर्यटन बोर्डका निर्देशक आन्द्रिआस स्टेइबललाई अब फेरि त्यहाँका रिसोर्ट तंग्रिनेमा शंका छ।
होमिलरजस्ता केही पर्यटक फेरि फर्कने प्रतिवद्धता देखाउँछन्।
'हामी फेरि जानुपर्छ,' उनी भन्छन्, 'हामीमध्ये केही त्यहाँ नराम्ररी बिरामी परेको भए पनि त्यो सप्ताह गजबै रमाइलो थियो।'
अहिले पनि संसारभर कोरोना संक्रमण बढ्दो गतिमै विस्तार भइरहेको छ। यस्तो अवस्थामा फेरि यो नोभेम्बर सुरुवातदेखि स स्कीको सिजन सुरुहुँदा के होला भन्ने अहिल्यै भन्न सकिन्न। पर्यटकीय मौसममा बेरोजगार पर्यटन व्यावसायीबारे कम्तिमा अहिले कल्पना गर्न पनि गाह्रो भइरहेको छ।
यति बेला विश्वभरका वैज्ञानिक भ्याक्सिन तयार पार्ने दौडमा छन्। महामारी बेला पर्यटनले पार्ने प्रभाव संसारले बुझेका छन्। यदि यो अवस्था अझै लम्बिँदै जाने हो भने प्रभावकारी उपायनिम्ति कस्तो किसिमको निषेधाज्ञा लगाउने भन्ने निर्क्यौल गर्न पनि मुश्किलै छ। यसै महिना विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डका लागि अर्को समीक्षा सुरू गरेको छ।
पछिल्लो निर्देशिका जारी गर्न सघाउने डा. हेम्यानका अनुसार अबको निर्देशिका पर्यटन र व्यापारका लागि अनुकूल हुने छैन।
'बढी र अझ बढी,' डा. हेम्यान भन्छन्, 'घुमफिर र व्यापारका लागि निषेधाज्ञाका समय अझ लम्बिने अवस्था छ।'
(न्यूयोर्क टाइम्सका लागि सेलाम गेब्रेकिदान, क्याट्रिन बेनहोल्ड, माट अपुजो र डेभिड डी किर्कप्याट्रिकको स्टोरी)