साँझतिर पाटन दरबार स्क्वायरमा मान्छेको चहलपहल बिहान-दिउँसोभन्दा बढी हुन्छ। दिनभरको थकान मेट्न, साथीसंगी भेट्न, मन्दिर दर्शन गर्न र आरती हेर्न आउनेको घुँइचै लाग्छ। कोही 'मी-टाइम' बिताउन पुग्नेहरू पनि हुन्छन्।
त्यस भिडमा ६८ वर्षीय गोविन्द महर्जन पनि पर्छन्। तर उनको यहाँ आउने उद्देश्य अरूको भन्दा एकदमै बेग्लै छ।
कृष्ण मन्दिर ठ्याक्कै अगाडि दियो बाल्ने स्ट्यान्डले घेरेको सानो चिटिक्क ठाउँमा गहिरो पारेर खोपेका ढुंगाका दुई भाँडा छन्, चारकुने डुँडजस्ता। हामीले देख्दा उनी त्यही भाँडामा जारबाट पानी हाल्दै थिए।
साना केटाकेटी उनलाई घेरा हाल्दै जिज्ञासु प्रश्नहरू गरिरहेका थिए। हामी पनि त्यही घेरामा मिसियौं।
उनलाई त्यस दिन मात्र होइन, अर्को दिन पनि त्यहाँ पानी हालिरहेको भेट्यौं। उनी यहाँ हरेक साँझ आउने रहेछन्। यसरी नै जारबाट पानी खन्याउने रहेछन्। यो पानी उनले कसका लागि राखिदिन्छन्?
हाम्रो पहिलो प्रश्नको जवाफ उनले भन्नुभन्दा पहिले पानी खान आउनेको दृश्यले दियो- परेवालाई।
हो, गोविन्दको यो मिहिनेत पाटन दरबार स्क्वायरका परेवाका लागि रहेछ। बिहान पनि उनलाई पाटन परिसरमै भेट्न सकिन्छ। त्यो भने उनको टहल्ने समय हो।
'बिहान आफ्नो लागि आउँछु, बेलुकी परेवाका लागि,' उनले हाँस्दै सुनाए।
भिडिओः सुसन चौधरी
गोविन्दको बसाइ शंखमूल हो। स्कुटरमा ओहोर-दोहोर गर्दा शंखमूलदेखि पाटनसम्म करिब ५ मिनेटको दुरी उनी पार गर्छन्।
हामीले देख्दा उनी नजिकैको आल्को हिति (ढुंगेधारा) बाट जारमा पानी ओसारिरहेका थिए, काँधमा राखेर। तर यहाँ बाह्रैमास पानी झर्दैन। पानी नहुँदा उनी घरबाटै जारमा पानी ओसार्ने रहेछन्।
त्यसरी पानी ओसार्दा दु:ख हुन्न भन्ने प्रश्नमा उनी सजिलै जवाफ पनि दिन्छन्, 'स्कुटरले त बोक्ने हो, केको दुःख?'
परेवाहरूप्रति उनको मोह र संलग्नता भिन्नै छ। उनीहरूलाई भनेर पानी हाल्दिने, भाँडा सफा गरिदिने, चारा खुवाउने काम उनी गर्छन्।
'परेवाहरू बोल्न सक्दैनन्। भोक लाग्यो, प्यास लाग्यो, शरीर चिलायो भन्दैनन्। हामीले नै बुझ्नुपर्छ,' उनले भने, 'उनीहरूका लागि काम गर्दा आनन्द लाग्छ। यो त मैले मात्र होइन, जो कोहीले गर्न सक्ने काम न हो!'
पानी हाल्ने काम गोविन्द साँझ ५ देखि ६ बजे बीचमा गर्छन्। घरबाट सोही अनुरूप समय मिलाएर निस्कन्छन्।
पानी राख्नका त्यहाँ बनाइएको ढुंगाको भाँडाभित्र गोविन्द इँट्टा पनि मिलाएर राख्छन्। इँट्टा फोहोर भए ब्रसले घोटेर सफा गर्छन्। यसरी सफा गर्नुपरे ५ जार पानी चाहिन्छ। नभए जम्मा ३ जार पानीले दुई भाँडा भरिने रहेछ।
'यसमा बसेर परेवाहरू नुहाउँछन् पनि,' इँट्टा मिलाउँदै उनले भने, 'दिउँसो घाम र धूलो हुन्छ। यिनीहरू यहाँ बसेर छुप्पलुक्क-छुप्पलुक्क गर्न रमाइलो मान्छन्। पानी पिउने र नुहाउने ठाउँ यही त हो परेवाहरूको।'
उसो त यो पानीले त्यहाँ वरपर घुम्ने कुकुरहरूको पनि तिर्खा मेटाउँछ। परेवाको सेवामा आनन्द मान्ने गोविन्दलाई उनीहरूका लागि पानी भरिदिने काम आदत भएको छ। आफूलाई याद हुँदादेखि अर्थात् सानैदेखि पानी हाल्दै आएको बताउँछन्।
पाटन परिसरमै जन्मे-हुर्केका हुन् उनी। ०४६ सालतिर शंखमूल बसाइ सरेका थिए। अहिले घरमा उनीसँगै श्रीमती र एक जना नाति छन्।
गोविन्द कुनै समय जागिरे थिए। २०३६ सालदेखि नेपाल बैंकमा काम गरेका उनले ३० वर्ष जागिरे जीवन बिताए। ११ वर्षअघि, २०६६ सालमा अवकाश पाएका उनी त्यसपछि अन्य व्यवसायमा लागेनन्। घरमा करेसाबारी छ। त्यहीँ धेरथोर तरकारी लगाउँछन्। बिहान र साँझ समय बित्ने पाटनमै हो।
बिहान ३ बजेतिर उठेर गोविन्द नित्यकर्म सकी चियापान गर्छन्। साढे सात बजेतिर पाटन दरबार परिसर पुग्छन्। कृष्ण मन्दिर दर्शन गर्छन्। दरबार स्क्वायर सेरोफेरोमा ३ देखि ५ घन्टा बिताउँछन्। घर पुग्दा ११-१२ बज्छ। बेलुकी फेरि यहाँ नआई उनको मन मान्दैन।
'यहाँ के गरेर बस्नु हुन्छ नि?'
'यतै वरिपरि डुलेर बस्यो। मान्छेको चहलपहल हेर्यो। मन्दिरहरू दर्शन गर्यो। समय यसै बितिहाल्छ,' उनले भने।
कोरोनाको त्रासले देश महिनौं लकडाउनमा पर्यो। बाहिर मान्छेको चहलपहल फाट्टफुट्ट थियो। त्यस्तो बेला पनि परेवाहरूको चिन्ताले उनलाई खुब खायो। त्यसैकारण उनी कडा लकडाउन तोडेरै पाटन आउन छाडेनन्। दैनिक आएर परेवालाई पानी दिने उनको कामबाट प्रहरीहरू समेत परिचित छन्। त्यसैले लकडाउननमा हिँडडुल गर्न नरोकेको उनले बताए।
'झन् लकडाउनमा परेवालाई चारा खुवाउने कोही थिएनन्। घरबाटै चामल ल्याएर कति छरिदिएँ,' उनले भने, 'पछि केही संस्थाले ४ पाथी मकै र गहुँ मेरै हातमा छाडेर गए। परेवाहरूलाई अलिअलि गर्दै दिनदिनै त्यही दिएँ।'
परेवा भनेपछि केटाकेटीहरू पनि झुम्मिन्छन्। उड्नै लागेका परेवा च्याप्प समात्छन्। अनि आकाशतिर तेर्साउँदै उडाउन खोज्छन्। मानौं, यी परेवा कागजको रकेट हो।
यसो गर्दा परेवालाई गाह्रो हुन्छ। उनीहरूको शरीरलाई कष्ट पनि। केटाकेटीले यसरी परेवा खेलाएको देख्दा नराम्रो लाग्ने गोविन्द दु:खेसो पोख्छन्।
'बच्चाहरू अवोध हुन्छन्, उनीहरूलाई रमाइलो लाग्दो हो। तर परेवाहरूलाई गाह्रो हुन्छ नि। यसरी च्याप्प समाएर हुत्त उडाउँदा कति घाइते पनि हुन्छन्,' उनले भने, 'त्यसैले सकेसम्म बच्चाहरूलाई सम्झाउँछु पनि।'
परेवालाई आफ्ना सन्तानझैं मान्ने उनलाई पाटन परिसरमा गोविन्द भनेर चाहिँ विरलैले चिन्छन्। त्यहाँ उनको पहिचान हो- परेवालाई पानी हालिदिने बा।