कोरोनाका कारण अस्पताल भर्ना भएका प्रत्येक तीन जनामध्ये एक जनाको मानसिक अवस्थामा केही फरक देखिएको अध्ययनमा पाइएको छ।
उनीहरू स-साना विषयमा भ्रमित हुनेदेखि बेहोसीमा बोल्छन्। कसै-कसैमा त प्रश्न सोध्दा जवाफ नदिने र टोलाएर बस्ने समस्या पनि देखिन थालेको छ।
कोरोना भाइरस संक्रमणले स्नायु प्रणालीमा पार्ने प्रभावलाई लिएर एक अमेरिकी अस्पतालमा गरिएको अध्ययनले यस्तो नतिजा देखाएको हो। 'एनल्स अफ क्लिनिकल एन्ड ट्रान्सलेसन न्यूरोलोजी' मा सोमबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार मानसिक असर बेहोरेका बिरामीको अवस्थामा उपचारपछि पनि खासै सुधार आएको छैन।
'नर्थ वेस्टर्न मेडिसिन हेल्थ सिस्टम' ले अमेरिकाको सिकागो क्षेत्रका दसवटा अस्पतालमा गत मार्च ५ तारिखदेखि अप्रिल ६ तारिखसम्म भर्ना भएका ५ सय ९ जना कोरोना बिरामीमाथि यो परीक्षण गरेको थियो।
कोरोनाले मानसिक समस्या देखिएका यी बिरामीलाई अन्य बिरामीभन्दा तीन गुना बढी समय अस्पतालमै राखिएको थियो। उनीहरूमध्ये केहीलाई अस्पतालबाट बाहिरिएपछि पनि समस्या कायम रहेको डा. इगोर कोर्निकाले बताएका छन्।
डा. इगोर यो अध्ययन प्रतिवेदनका प्रमुख लेखक हुन्। उनी 'नर्थ वेस्टर्न मेडिसिन' का संक्रामक स्नायुरोग तथा स्नायुशास्त्र विभागका प्रमुखसमेत हुन्।
उनका अनुसार यस्ता बिरामीमध्ये ६८ प्रतिशतले खाना पकाउनेदेखि विभिन्न शुल्क तिर्नेजस्ता सामान्य काम पनि गर्न नसकेको पाइएको छ। जबकि, मानसिक अवस्थामा कुनै प्रभाव नपरेका बिरामीमध्ये ८९ प्रतिशतले यस्ता काम बिनासहयोग सजिलै गर्न सकेका छन्।
यस्ता मानसिक प्रभाव परेका बिरामीलाई स्वास्थ्य विज्ञानमा 'इन्सेफलोप्याथी' भनिन्छ। डा. इगोरका अनुसार इन्सेफलोप्याथीको अर्थ दिमागमा केही गडबडी हुनु हो। यसबाट ग्रसित बिरामीको मृत्यु हुन सक्ने सम्भावना पनि कोरोनाका सामान्य बिरामीभन्दा सात गुना बढी देखिएको छ।
'यस्तो समस्या भएका बिरामीले अरूको कुरामा ध्यान नदिने, एकाग्र हुन नसक्ने, एकछिनको निम्ति होस गुमाउने, अस्थिर हुने, मूर्खतापूर्ण व्यवहार गर्नेदेखि अत्यन्तै प्रतिक्रियाविहीन हुने वा एकप्रकारले बेहोसै हुनेजस्तो व्यवहार देखाउँछन्,' डा. इगोर भन्छन्।
'यो समस्याका कारण पहिले आफूले गरिरहेका साधारण काम पनि गर्न नसक्ने अवस्था आउँछ,' उनी भन्छन्, 'यो समस्या उच्च मृत्युदरको कारक पनि बनिरहेको छ।'
यो 'इन्सेफलोप्याथी' के कारणले हुन्छ भन्ने अध्येताहरूले पत्ता लगाउन सकेका छैनन्। विशेषगरी वृद्धावस्थाका बिरामीमा अन्य रोगसँगै यो समस्या पनि देखिन सक्छ। त्यस्तै, शरीर सुन्निने वा रक्तसञ्चारमा विभिन्न प्रभाव पनि देखिन सक्ने डा. इगोर बताउँछन्।
यो भाइरसले सोझै दिमागका कोषमै प्रहार गर्ने प्रमाण भने असाध्यै कम देखिएको छ। धेरैजसो विज्ञका अनुसार स्नायुजन्य असर देखिनुका पछाडि रोग प्रतिरोधी प्रणालीहरू कारक हुन सक्छन्। यस्ता कारणले शरीरका अन्य अंग र प्रायः मष्तिस्कमा प्रभाव पार्ने उनीहरू बताउँछन्।
'यो प्रतिवेदनले संकेत गरेअनुसार इन्सेफलोप्याथी देखिनुले बिरामीको अवस्था दुरुह बन्ने पूर्वसंकेत प्रकट गर्छ,' येल स्कुल अफ मेडिसिनको संक्रामक स्नायुरोग तथा स्नायुशास्त्र विभागकी प्रमुख डा. सेरेना स्पुडिक भन्छिन्।
उनी यो अध्ययनमा सरिक त थिइनन्, तै पनि मानसिक अवस्थामा असर परेका बिरामीले अस्पतालबाट बाहिरिएपछि पनि गम्भीर निगरानी र पुनःउपचार लिनुपर्ने औंल्याउँछिन्।
अध्ययनमा समावेश इन्सेफलोप्याथी भएका एक सय ६२ बिरामी अलि धेरै उमेरका पुरुष थिए। उनीहरूमा कुनै न कुनै किसिमका स्नायु प्रणालीको खराबी, क्यान्सर, रक्तनलीका रोग, मिर्गौलाको पुरानो बिमारी, मधुमेह, उच्च कोलेस्ट्रोल, मुटुको चाल बन्द हुने, उच्च रक्तचाप वा धूमपानका समस्या थिए।
केही विज्ञले बताएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा पनि यस किसिमको मानसिक समस्या आउन सक्ने सम्भावना धेरै थियो। त्यसैले उनलाई वाल्टर रिड सैनिक अस्पतालमा कडा निगरानीमा राखिएको थियो।
शुक्रबार अस्पताल भर्ना भएका ट्रम्पलाई उच्च कोलेस्ट्रोलको समस्या थियो। उनको उमेर पनि धेरै भएकाले खतरा बढ्ने सम्भावना अधिक मानिन्छ। तर, राष्ट्रपतिका चिकित्सकले उनमा स्नायुजन्य कुनै पनि समस्या देखिएको कुरा गरेनन्। ह्वाइट हाउसले त एउटा भिडिओ नै सार्वजनिक गरिदियो, जसमा राष्ट्रपतिले सर्वसाधारणलाई आफू सामान्य अवस्थामा रहेको घोषणा गरेका छन्। ट्रम्प सोमबार बेलुकी नै ह्वाइट हाउस फर्किसकेका छन्।
राष्ट्रपति ट्रम्पको स्थितिबारे वस्तुगत मूल्यांकन हुनुपर्ने डा. इगोरको राय छ।
'यो केसको मोटामोटी अध्ययनका आधारमा कुनै पनि मानिसको ज्यान जोखिममा पर्ने गरी निष्कर्ष निकाल्नु उपयुक्त नहोला,' उनी भन्छन्, 'हामीले हरेक व्यक्तिको स्वास्थ्य रेकर्ड गहिरिएर बुझ्नुपर्छ। कतिपय मामिलामा बिरामीबारे सार्वजनिक नगरिएका तथ्य पनि खोजी हुनुपर्छ।'
नर्थवेस्टनको अध्ययनले भर्ना भएका कुल बिरामीमध्ये ८२ प्रतिशतमा कुनै न कुनै विन्दुमा स्नायुजन्य समस्या देखिएको बताएको छ। चीन र स्पेनमा गरिएका यस्तै अध्ययनले देखाएभन्दा यो संख्या धेरै ठूलो हो।
'संक्रमणपछि स्नायुजन्य समस्या व्यापक देखिने अवस्थामा यो अत्यन्तै महत्वपूर्ण अध्ययन थियो। तै पनि यस्तो कुरामा धेरै ध्यान दिइएन,' नेसनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल डिसअर्डर्स एन्ड स्ट्रोकको संक्रमण विभाग प्रमुख डा. अभिन्द्र नाथ भन्छन्। डा. अभिन्द्र यो अध्ययनमा संलग्न भने थिएनन्।
स्नायुजन्य लक्षणका हकमा झन्डै ४५ प्रतिशतमा मांसपेसी दुख्ने समस्या देखिएको थियो भने ३८ प्रतिशतलाई टाउको दुखेको थियो। ३० प्रतिशतलाइ रिंगटा लागेको थियो। थोरै प्रतिशतमा भने खाँदा स्वाद नआउने र सुँघ्दा बास्ना नआउने भएको थियो।
कोभिड-१९ भएका तन्नेरी बिरामीहरूमा भने इन्सेफलोप्याथी नभए पनि अन्य स्नायुजन्य समस्याका लक्षण व्यापक देखिएका थिए। अध्ययनअनुसार इन्सेफलोप्याथी भने बूढापाकामा बढी देखिन्थ्यो।
तन्नेरीहरूले आफूलाई स्वासप्रश्वासको मामलामा उत्तिको चिन्ता लिनु नपर्ने ठान्दै मांसपेसी दुख्ने, टाउको दुख्ने वा अन्य समस्यातर्फ बढी केन्द्रित भएका कारण पनि यस्तो परिणाम देखिएको हुनसक्ने अध्येताहरूले अनुमान लगाएका छन्।
एकचौथाइ बिरामीमा स्वासप्रश्वासको गभ्मीर समस्या देखिएका कारण उनीहरूलाई भेन्टिलेटर उपलब्ध गराउनुपरेको थियो। बाँकीका हकमा भने सामान्य ज्वरो मात्र देखिएकाले या त सघन उपचार कक्षमा वा नभए कोभिड वार्डमै राखेर उपचार गरिएको थियो।
अध्ययन बेला अश्वेत वा ल्याटिन अमेरिकी बिरामीहरूलाई अरूभन्दा कमै स्नायुजन्य लक्षण देखिएको थियो।
नर्थवेस्टर्न मेमोरियलमा रहेका बिरामीमा स्नायुजन्य समस्या देखिए पनि इन्सेफलोप्याथी भने कमै मात्रामा देखिएको थियो। उनीहरूको मृत्युदर पनि कम थियो भने अस्पतालबाट फिर्ता भएपछि सामान्य जीवनमै फर्किएका देखिन्थे।
अध्ययनले उपचार मात्र गराउने हिसाबले खुलेका अस्पतालभन्दा अनुसन्धानसमेत गराउने हिसाबले खोलिएका अस्पतालमा भर्ना भएका बिरामीले बढी विशेषज्ञ सेवा पाएको देखाएको थियो।
‘फरक अस्पतालले गर्ने उपचारको फरक सेवा र गुणस्तरका कारण बिरामीहरूले पाउने सेवामा पनि विविधता देखियो, जुन रोचक र ध्यान दिनुपर्ने कुरा हो,’ डा. नाथ भन्छन्, ‘अस्पतालमा भर्ना भएका बिरामीले उनीहरूप्रति उच्च स्तरको सावधानी प्राप्त गर्न सक्नुपर्छ, जुन अधिकांश स्थानमा उपलब्ध नभएको यसले देखाएको छ।’