रौतहटको गढीमाई नगरपालिका पल्टुवाकी ६५ वर्षीया सुन्नरपतिको बेला बेला होस हराउँछ। होसमा छँदा उनी नातिनीको नाम लिँदै बर्बराउँछिन्।
‘बिहानै उठ्छे। अह्राएको कुनै काम नाइ भन्दिने,’ सुन्नरपति होस खुलेका बेला एकोहोरो बर्बराउँछिन्, ‘बिहानै भैँसी र बाख्रा निकालेर गोठ सफा गरी घाँस काट्न उखु बारीमा गई। मैले त नजान भनेकी थिएँ।’
१० मिनटमै घर आइहाल्छु भनेर गएकी संझा अब कहिल्यै फर्किने छैनन्। सात दिनअघि गत शुक्रबार संझाको शव नजिकैको उखुबारीमा भेटिएको थियो। उनी सानैदेखि मावलीमा बस्दै आएकी थिइन्।
घरको प्रायः सबै काममा सहयोग गर्दै आएकी संझा त्यस दिन बाख्राका लागि घाँस काट्न गएको उनकी माइजुले बताइन्। त्यति बेला अन्दाजी बिहानको ११ बजेको थियो। घरका सबै सदस्य खाना खाएर आराम गरिरहेका थिए।
१२ बजेसम्म नफर्केपछि घर वरिपरि खोजी भयो। त्यो दिन खर काट्न बाग्मती किनार जाने कुरा पनि उनले गरेकी थिइन्। मामामाइजुले ट्याक्टर उतै गएको ठानेर संझा पनि खर काट्न गएजस्तो माने र घर फर्किए।
२ घण्टा उनीहरूले गाउँभरि खोजे। गाउँ जाँदा पो थाहा पाए कि ट्याक्टर त घरमै रहेछ। चालकसँग सोध्न गए। चालकले अरू केटी मान्छे नभएकाले आफूले संझालाई नलगेको बताए। अब भने संझाको परिवारको मनमा चिसो पस्यो।
त्यत्तिकैमा दिउँसोतिर एकजना बालकले आफ्नै घरअघिको उखुबारीमा संझालाई देखेछन्। ती बालकका परिवारले संझाको घरमा खबर गरे।
सबै उखुबारीतिर गए। त्यहाँ जाँदा संझाको शव नग्न अवस्थामा भेटिएको थियो। मुखमा रगत थियो। त्यसपछि प्रहरीलाई बोलाइयो।
घाँटी थिचेकै कारण उनको मुखबाट रगत आएको हुन सक्ने हजुरबुवा वैद्यनाथको अनुमान छ। ‘म बाहिर गएको थिएँ, पछि करिब ६ बजेतिर नातिनीको हत्या भएको जानकारी पाए लगत्तै घर फर्कें, दुई सय मिटरको दुरीमै रहेको खेतमा शव भेटेको थियो रे,’ उनले भने ‘म पुग्दा प्रहरी आईपुगेको थियो तर शव जस्ताको त्यस्तै थियो। नातिनीको जिउमा कपडा थिएन, कसैले घाँटी थिचेर मारेको जस्तै डाम देखेँ र मुखबाट रगत आएको देखेँ।’
अरू धेरै ठाउँमा डामहरू देखे पनि प्रहरी आइपुगेकोले शवको नजिक गएर देख्न नसकेको वैद्यनाथ बताउँछन्। त्यसपछि प्रहरीले मुचुल्का उठाएर शव उठायो।
यता संझाको हत्या भएको एक साता भइसक्दा पनि उनको हत्याको कारण भने खुल्न सकेको छैन। संझाका हजुरबुबा वैद्यानाथ गएको सात दिनदेखि निरन्तर इलाका प्रहरी कार्यालयको चक्कर लगाउँदैछन्। संझाको पोष्टमार्टम रिपोर्ट आएको छैन।
‘निरन्तर प्रहरी कार्यालयमा जाँदैछु, इन्सपेक्टर साबसँग भेटेकै छु,’ उनले भने ‘उहाँहरूले तपाईंहरू नहतारिनुस् हामी हत्यारा खोज्दैछौँ, हत्याको कारण पत्ता लगाउँदैछौँ, भन्नुहुन्छ।’
हत्या आशंकामा प्रहरीले गाउँकै केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। प्रहरीले भने यसबारेमा केही बोलेको छैन। अनुसन्धान भइरहेको मात्रै जानकारी दिएको छ।
बालिकाको पोष्टमार्टम रिपोर्ट सात दिन भइसक्दा समेत आउन सकेको छैन। शव पोष्टमार्टमका लागि वीरगन्ज पठाइएकाले रिपोर्ट आउन समय लाग्ने रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाह बताउँछन्।
‘हामीले फोरेन्सिकका लागि राम्रो होस् भनेरै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा शव पोस्टमार्टमका लागि पठाएका हौँ,’ एसपी शाहले भने ‘अझै पनि नतिजा आएको छैन। उनको हत्या कसले गरेको भन्ने पनि खुलेको छैन।’
संझाको हत्या भएपछि छोरी चेलीलाई घरबाट निस्किन दिन समेत आफूहरूलाई अब डर लाग्न थालेको स्थानीय बताउँछन्।
‘पहिला निस्फिक्री हिँड्न डर लाग्दैनथ्यो संझाको दिन दहाडै हत्या भएपछि छोरीचेली एक्लै हिँड्न चाहिरहेका छैनन्,’ लक्ष्मण रायले भने ‘रातभर निद्रा लाग्दैन कहीँ हाम्रा सन्तान पनि कसैको शिकार त बन्ने होईनन?’
हत्या भएको ३ दिनसम्म गाउँमा शान्ति सुरक्षाका लागि प्रहरी प्रशासन निरन्तर खटेपनि अचेल गाउँ आउन छोडेको बालिकाका हजुरबुबा वैद्यनाथले बताए ।
‘३/४ दिनसम्म त प्रहरी प्रशासन आयो सुरक्षा पनि दियो’ उनी भन्छन् ‘यहाँसम्म कि असई साबले बेला बेला फोन पनि गर्नुहुन्थो अचेल सोधखोज गर्न छोड्नुभएको छ, राति राति सुत्न समेत डर लाग्छ।’