खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई वर्षअघि उत्पादन भएको जापानी चामल अहिलेसम्म बिक्री गरिरहेको फेला परेको छ।
काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार कम्पनीको गोदाम अनुगमन गर्दा सन् २०१८ मा उत्पादित जापानी चामल भेटिएको हो।
उपभोग्य अवधिसमेत नतोकिएको उक्त चामल कम्पनीले अहिलेसम्म बिक्री गरिरहेको समितिले जनाएको छ।
कुन चामल कहिलेसम्म उपभोग गर्न मिल्छ भन्ने त्यसको प्याकेजिङमा भर पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताएका छन्।
'कति लेयरको प्याकेजिङ गरिएको छ भन्नेले उपभोग्य अवधि तय गर्छ। राम्रोसँग प्याकेजिङ गरिएको छ भने एक वर्षसम्म उपभोग गर्न मिल्छ। नभए तीनदेखि छ महिनाको हुन्छ,' उनले सेतोपाटीसँग भने।
उनको भनाइअनुसार उपभोग्य मिति उल्लेख नभएको दुई वर्ष पुरानो चामल अहिलेसम्म खान ठिक छ कि छैन भन्नेमै शंका उत्पन्न भएको छ। कम्पनीले कहिलेसम्म उपभोग गर्न सकिन्छ भन्ने सूचना बोरामै उल्लेख गर्नुपर्ने सुवेदीले बताए।
महानगरको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले चामलका बोरामध्ये अधिकांशमा कुनै लेबल नभएको बताए।
यसबारे कम्पनीका वरिष्ठ लेखा अधिकृत नरनाथ अधिकारीसँग कुरा गर्दा उनले यो चामल जापानी सरकारले खाद्य सहयोगका रूपमा गत पुसमा उपलब्ध गराएको जानकारी दिए।
कम्पनीका गुणस्तर अधिकृत दीपा लामिछानेले चामलका बोरामा उपभोग्य मितिसहितको लेबल राख्ने प्रक्रियामै रहेको बताइन्।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना यसलाई सरकारी निकायको गम्भीर लापरबाही बताउँछन्।
‘निजी क्षेत्रलाई गुणस्तर भएन भनेर कारबाही गर्ने सरकारले आफू जे पायो त्यही गर्न कहाँ मिल्छ?' उनले प्रश्न गरे।