धेरैले सामाजिक सञ्जाल मनोरञ्जनका लागि प्रयोग गर्छन्। फेसबुकका पोस्ट पढ्ने, लाइक र कमेन्ट गरेर रमाइरहेका हुन्छन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० जानकी चोकका १९ वर्षीय किसनकुमार साहका लागि भने फेसबुक एक अभियानको माध्यम बनेको छ।
सरकारले कोरोना महामारीको जोखिम कम गर्न भन्दै चैत ११ देखि देशभर लकडाउन गर्यो। त्यसयता विद्यार्थीहरू घरमै बसेर अनलाइन कक्षा लिन्छन्।
किसन पनि पढ्दापढ्दै दिक्क लाग्दा मोबाइल चलाउँथे। एकदिन उनी बिहान उठेर फेसबुक चलाउँदै थिए।
साथीले राखेको एउटा भिडिओले उनको ध्यान तान्यो।
महोत्तरीको मनरसिस्वा नगरपालिकाका साथीहरूको लाइभ भिडिओ थियो। उनीहरूले विद्यार्थीहरूका लागि निःशुल्क कक्षा सञ्चालन गरिरहेको भन्दै फेसबुकमा लाइभ आएर सल्लाह सुझाव मागिरहेका थिए।
साथीले पोस्ट गरेको भिडिओ हेरेपछि यस्तै केही गर्ने हुटहुटीले उनको पनि मन भरियो। साथीहरूले गरेको कामबाट प्रेरित भएर समाजका लागि केही गर्न उनलाई धेरै बेर लागेन। उनले आफ्ना साथीहरूसँग पनि सल्लाह गरे।
पहिले केही समय त उनी कसरी र कस्ता विद्यार्थीहरूलाई पढाउने भन्नेमै विचार मग्न भए। साँच्चै सहयोग चाहिएकाहरूका लागि काम गरे पो महत्वपूर्ण हुन्छ भन्ने उनलाई लाग्यो।
आफ्ना साथीभाइले पनि मध्यम र उच्च वर्गका भन्दा विपन्नका बच्चाहरूलाई पढाउने सल्लाह दिए।
उनी यस्ता विद्यार्थीको खोजीमा लागे, जसका अभिभावकले आर्थिक अभावका कारण आफ्ना बालबालिकालाई शिक्षा दिन सकेका छैनन्। त्यस्ता विद्यार्थी त वडा नम्बर एकमा रहेको दलितहरूको बस्तीमा ज्यादा थिए।
किसनले त्यही वडा छनौट गरे।
वडा छनौट गरे पनि बालबालिकाका अभिभावकले पत्याएनन्। आफ्ना बालबालिकालाई निःशुल्क रूपमा पढाउँछु भन्न आएको भर्खरैको किशोरको आग्रह किन पत्याउँथे!
‘म आफैं पनि बच्चै देखिन्छु, फेरि आजकल विभिन्न अभियानका लागि मान्छे अघि आउँछन् पछि त्यसैलाई पेशा बनाउँछन्, पैसा असुल्छन्,’ किसनले भने, ‘त्यसैले पनि होला ममाथि कोही कसैले विश्वास गर्नुभएन।'
एकदिन उनले नगरपालिकाका सफाइकर्मी इन्नरजित मेस्तरसँग आफ्नो योजना सुनाए।
ती सरसफाइकर्मीले उनलाई विश्वास गरे।
'तिमी निःशुल्क ट्युसन पढाउँछौ भने मेरा बच्चाहरू पढाऊ भन्नुभयो,' उनले भने, 'मेरो उत्साह बल्ल बढ्यो।'
उनका आमाबुवाले पढ्न लेख्न नजानेका कारण औंठाछाप लगाउनुपर्छ रे। मान्छेहरूले त्यस्तो बेला हेप्दा रहेछन्।
किसनले त्यतिबेला आमाबुवालाई भएको लाज देखेका थिए। बुवाआमालाई जस्तो अबका पिँढीका युवालाई नपरोस् भन्ने उनी चाहन्छन्।
त्यसैले पनि उनलाई लकडाउनको फुर्सदमा बालबालिका पढाउने मन भएको हो।
उनले भने ‘त्यसैले मसँग पढ्न आएका नानीबाबुलाई कमसे कम कखरादेखि जोड-घटाउसम्म सिकाउने योजना बनाएको छु।’
किसनले साउनको १ देखि पढाउन सुरू गरेका हुन्। उनले सुरू गरेपछि भने पहिले नमानेकाले पनि बच्चाहरूलाई पढाउन दिए।
यो अवधिमा उनी पढाउने टोलमा कोरोनाको संक्रमण देखिन थालेपछि उनलाई केही दिन पढाइ स्थगित गर्नुपर्यो।
सुरूमा पढाउन नपठाउनेहरूले आएर उनलाई पढाइ पुनः सञ्चालनका लागि आग्रह गर्न थाले।
‘साउन १ देखि कक्षा सञ्चालन गरेको थिएँ,’ उनले भने ‘२२ गतेसम्म लगातार पढाएँ, हामी पढाउने ठाउँमै कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै केही दिन स्थगित गर्नुपर्यो, पछि त विद्यार्थीका अभिभावकहरूले कक्षा पुनः सञ्चालनका लागि दबाब दिन थाले।’
अहिले उनले ४० जना विद्यार्थीलाई पढाइरहेका छन्। दलित र विपन्न परिवारका बालबालिका उनीसँग पढ्न आउँछन्।
किसनले बच्चाहरूलाई किताबका कुरामात्र पढाएका छैनन्। मिथिला आर्ट गराउने, बच्चाहरूको रूची अनुसारका अरू क्रियाकलाप पनि गराउने गर्छन्। किसनको ट्युसन क्लासमा आफ्ना छोराहरू सिकेका कुरा देखेर इन्नरजित मेस्तर अचेल खुसी छन्।
‘लकडाउन भएदेखि विद्यालय पनि बन्द नै थियो, हामी पनि प्रायः घरमा हुन्थेनौं, दिनभरि गुच्चा खेलेर बिताउँथे, अहिले भने घरमा आफैं पढ्छन्, मिथिला आर्ट गर्न सिकाइ दिएकाले यी सब गृहकार्यमा व्यस्तमा हुन्छन्, हामी खुसी,’ किसनसँग ट्यसन पढ्दै आएका ७ वर्षीय निखिल मेस्तरका बुवा इन्नरजित मेस्तरले बताए।
इन्नरजित राष्ट्रिय परीक्षा बोर्ड र स्थानीय एक कार्यालयमा गरी दुई स्थानमा सरसफाइ कर्मचारीका रूपमा काम गर्छन्।
त्यसबापत् आउने २५ हजार रुपैयाँले नै उनी घर चलाउनेदेखि बच्चाको शिक्षादीक्षा दिने काम गर्दै आएका छन्। त्यो कमाइले जसोतसो पुर्याउला भन्ने आशले छोराहरूलाई निजी स्कुलमा भर्ना गरेका छन्।
‘यही पैसाले सबथोक गर्नुपर्छ यस्तोमा छोराहरूलाई राम्रो शिक्षा कसरी दिन सक्छौं र?,’ उनले भने, ‘जसोतसो निजी विद्यालयमा पढाउन त पठाएँ तर किसनले ट्युसन क्लासमा पढाउनेजस्तो पढाइ निजीमा पनि पढाउँदैनन्।'
कोरोनाका कारण निःशुल्क पढाउन सुरू गरेका किसनलाई उनका अरू साथीले पनि साथ दिइरहेका छन्। कक्षा १२ मा पढ्ने राजा शर्मा र विवेक झा ८ कक्षामा पढ्ने धिरज ठाकुर र निराजन यादवले किसनलाई बालबालिका पढाउन सहयोग गरिरहेका छन्। किसन भने महामारीपछि पनि यसलाई निरन्तरता दिने सोचिरहेका छन्।
‘मलाई यो काम बन्द गर्न मन छैन। अरू साथीहरूले पनि सहयोग गर्दै हुनुहुन्छ त्यसैले मैले यसलाई कसरी निरन्तरता दिने होला भनेर सोच्दै छु,’ उनले भने ‘पछि म पढाइकै लागि बाहिर नै गए पनि नानीबाबुहरूको पढाइमा कुनै समस्या नहुने गरी व्यवस्था गर्न पाए हुन्थ्यो।’
किसन अहिले कक्षा १२ मा वाणिज्य संकायमा अध्ययनरत छन्। कोरोनाका कारण स्थगित भएको उनको कक्षा १२ को परीक्षासमेत नजिकिएको छ।
जसकारण उनका अन्य दुई जना साथीहरूले उनलाई विद्यार्थी पढाउन सहयोग गर्दै आएका छन्।