प्रदेश २ सरकारले प्रदेशवासीको सहजताका लागि सस्तो दरमा यातायात सेवा संचालन गर्दैछ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निजी बस व्यवसायीहरूले भाडा बढी लिने गरेको भन्दै प्रदेशवासीको यातायात सेवामा सहजता प्रदान गर्नका लागि ५ वटा बस किनेको हो।
गत आर्थिक वर्ष नै किनिएको बस नेपाल भारत सीमा बन्द रहेकाले गत साता मात्रै ल्याइएको हो।
अहिले ती बसहरु धनुषाको ढल्केवरस्थित सिप्रदी ट्रेडिङमा राखिएको छ। बस ल्याइए पनि अहिलेसम्म प्रदेश सरकारलाई हस्तान्तरण हुन नसकेको भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए।
'प्रदेश परिवहन नाम दिइएको सो यातायात सेवा जनकपुरधामबाट सप्तरीको राजविराज, पर्साको वीरगंजसम्म संचालनमा ल्याउने प्रदेश सरकारको योजना रहेको छ। यता प्रदेश सरकारले आफ्नै बस सञ्चालन गर्ने भएपछि यातायात व्यवसायीले यसको विरोध गरेका छन्।
लकडाउनका कारण लामो समय यातायात सेवा प्रभावित भएको अवस्थामा प्रदेश सरकारको यस योजनाले आफूहरुलाई पीडित बनाउन खोजेको भन्दै यातायात व्यवसायीहरुले विरोध गरेका हुन्।
कोरोनाका कारण यातायात व्यवसायी ७ महिनादेखि आर्थिक संकट झेलिरहेको अवस्थामा प्रदेश सरकारले घाउमा मलहम लगगाउनुको साटो झन घाउ पार्ने काम गरेको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले आरोप लगाए।
‘कोरोना त्रासका कारण जनकपुरधामबाट मुश्किलले ४० वटा गाडी संचालन छन्’ उनले भने ‘बस व्यवसायीहरु घाटा सहेर अल्टरनेट रुपमा बस संचालन गर्दै आइरहेका छन्, दिनहुँ घाटामा गइरहेको बस व्यवसायलाई प्रोत्साहन गर्नुको सट्टा कमिसननको चक्करमा प्रदेश सरकारले थप पीडा दिने काम गरेको छ।’
कोरोनाका कारण हाम्रो व्यवसाय नै धरापमा परेको समयमा प्रदेश सरकार कमिसनको चक्करमा लाग्नु चिन्ताको विषय रहेको अर्का व्यवासायी रामजानकी ट्राभल्सका संचालक नरेश साहले बताए।