मिथिलाञ्चलको लोकआस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ।
व्रतालुहरूले पर्वको दोस्रो दिन आज बेलुका इष्टदेवलाई पूजा आराधना गरी खरना विधि सम्पन्न गर्ने छन्।
खरनामा माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर बनाइन्छ। यस विधिमा नैवेद्य चढाउने बेलामा जतिवटा अर्घ्यदान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा छ।
यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा पान र सुपारी आदि राखिन्छन्।
नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले देवतालाई प्रणाम गरी प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना विधि भनिन्छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ।
यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने अर्थात नहाय खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुनेछ।
छठका लागि जनकपुरधामसहित तराई मधेशको विभिन्न स्थान तथा गाउँघरमा रहेका पोखरी नदी र जलाशयलाई सरसफाइ गरी सिंगारिन्छ।
जनकपुरधाम उपमहानगरका प्रमुख पोखरी र घाटहरूलाई सजाइएको छ।
भोलि (शुक्रबार) हुने छठ पर्वका लागि जनकरपुरधाममा कोरोना संक्रमणको भय कायमै रहेकोले सावधानी अपनाएरै पूजापाठ गर्ने व्यवस्था मिलाइँदैछ।
कोरोना संक्रमणको त्रास रहे पनि सावधानी अपनाएर यस पटक गंगासागरमा पूजा आयोजन हुने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले जानकारी दिए।
‘स्थानीय प्रशासनको आग्रह र ब्रतालुको आस्था दुवैलाई ध्यानमा राखेर छठ पर्व व्यवस्थापन गर्न स्थानीय पूजा समितिलाई आग्रह गरिएको छ,' उनले भने, 'जनकपुरधामको गंगासागर पोखरीमा छठ पर्वको प्रमुख आकर्षण हुन्छ र यहाँ छठ पर्व मनाउनेहरूको भीड पनि अत्यधिक हुन्छ।'
पोखरीहरू सरसजावटका लागि विभिन्न समिति र क्लबहरू काम गर्दै आएका छन्।
गंगासागर पोखरीमा छठ पर्व मनाउन आउनेहरूको परिवारका एक सदस्य र साथमा छठका लागि अन्य दुई जनालाई मात्र प्रवेशको व्यवस्था मिलाइएको गंगासागर छठ पूजा समितिका संयोजक सोनु निधिले जानकारी दिए।
जनकपुरधामको गंगासागर पोखरीका अतिरिक्त धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवरलाई स्थानीय युवा क्लबहरूले सजाइरहेका छन्।
धनुषसागरमा गणेश युवा कमिटी र राम युवा कमिटी, अंगराज सरमा मिथिला सेवा समाज र जानकी युवा कमिटीले छठ पूजा व्यवस्थापन गरिरहेका छन् ।
यस अघि स्थानीय प्रशासनले छठ पूजा गर्दा सावधानी अपनाएर, सामाजिक दूरी कायम गरेर पोखरी र पानीमा प्रवेश नगरी पर्व मनाउन विज्ञप्तिमार्फत् जानकारी गराइसकेको छ।
स्थानीय प्रशासनले पोखरीमा प्रवेश नगर्न आग्रह गरे पनि पोखरीका डिलहरूलाई छठ पर्वका लागि तयार गरिएको छ भने श्रद्धालुहरू छठ पर्वको अन्तिम तयारीमा लागेका छन्।