जनकपुरधाममा छठको रौनक छ।
कोरोनाभाइरस महामारीका कारण तलाउ तथा नदी किनारामा भेला हुन भने जिल्ला प्रशासन कार्यालयहरूले रोक लगाएका छन्।
नदी तथा तलाउमा गत वर्षहरूमा जस्तो भिड छैन। तर केही ठाउँका तलाउ भने सिंगारिएका छन्।
अधिकांश मानिस घरघरमै छठ मनाउँदैछन्।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म चार दिन छठ मनाइन्छ।
छठमा शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ।
यो महापर्वको पहिलो दिन अर्थात चतुर्थी तिथिको दिन नुहाएर चोखो भई खाने (नहाय खाय), पञ्चमी तिथिका दिन खरना, तेस्रो अर्थात षष्ठी तिथिका दिन अस्ताउँदो र चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत समापन गरिन्छ।
छठमा व्रत बसेमा छाला सम्बन्धी रोग नलाग्ने धार्मिक विश्वास रहेको छ।
यस पर्वमा केरा, स्याउ, उखु, सुन्तला, नरिवल, कागती, ठेकुवा, भुसवा, खाजा, लड्डु, बताशासहितका सामग्री बनाई सूर्य देवतालाई चढाउने गरिन्छ।
माटा र बाँसले बनाइएका चंगेरा, कनसुप्ति, ढकना, सर्वासहितका कलात्मक भाडामा अर्घ राखेर सूर्य देवतालाई अर्पण गर्ने गरिन्छ।