बिहान साढे सात बजेतिरै कोटेश्वर-जडिबुटी पुल अगाडि भीडभाड थियो।
दुर्घटना पो भएको हो कि भनेर बुझ्दा जोर-बिजोर जाँच भइरहेको रहेछ। ड्युटीमा खटिएका दुई ट्राफिक प्रहरीहरूले जोर-बिजोर लागू नगरेकालाई पहिलो प्राथमिकताका साथ जाँच गरिरहेका थिए। सवारी चालकको लाइसेन्स र ब्लुबुक पनि चेक गर्दै रहेछन्।
ल, परेन फसाद!
ती सबै दायरा नमानेर सवारीसाधन चलाइरहेका चालकहरूलाई त साढे सातकै दशा लागेको जस्तो भइरहेको थियो। कस्तो समय पनि ठ्याक्कै मिलेको।
बिजोरको दिन जोर सवारी चलाएको कारण १०-१२ वटा मोटरसाइकल लामवद्ध राखिएका थिए।
सवारी चालकहरू यताउता फोन दबाउँदै, कागजपत्र बटुल्दै हिँडडुल गर्दै थिए। सबैजना हतारमा देखिन्थे तर जाँचमा परेकाले बाध्य भई अड्किएका थिए।
जोरबिजोरको नियम सरकारले जेठदेखि लागू गरेको हो। थोरै सवारी साधन चलाएर कोरोना महामारी नियन्त्रण गर्न सक्ने विकल्प देखेर सरकारले यस्तो नियम ल्याएको थियो।
नियमअनुसार जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोरको सवारीसाधन चलाउन पाउने थियो।
यो नियम केही समय निकै कडासाथ लागू गरियो। सुरूआती दिनमा जोरबिजोरसँगै ठूलो गाडीमा भीड नगरी थोरैमात्र बस्न पाउने नियम थियो। अहिले भने सार्वजनिक सवारीसाधनमा सबै सिटमा बस्न पाउने कुरा सामान्य भइसक्यो। तर जोरबिजोर भने अझै लागूमै छ।
नियमको पालना नगरे दिनभरि सवारीसाधन जफत गरी भर्पाइ तिर्नुपर्छ। अहिलेसम्म यो नियम लागू छ। त्यहाँ फसेकाहरू कोही नियम थाहा नपाएरै त कोही आफ्नै ‘रिस्क’मा थाहा पाएरै फसेका थिए।
त्यहीमध्येका हुन् बालकोटका आशिष राई।
‘बेलुकी साथीकोमा बसेको थिएँ। बिहान ढिला भएर हतार-हतार घर जाँदै थिएँ, चेकिङमा परें,’ उनले भने, ‘ममीलाई लिएर इटहरी फर्किनु छ। सामान प्याकिङ गर्नुपर्ने, घरमा धेरै काम अड्किइसक्यो। समयमै घर पुग्ने मान्छेलाई यसरी बीच बाटोमा जोर-बिजोर भन्दै रोक दिनुभयो।’
बाटोमा उभिएर बसेका प्रायः सबैको आ-आफ्नै मर्का थियो। कोही स्थानीय मासु पसले थिए, कोही तरकारी व्यापारी।
जोरबिजोर जाँच्ने गर्ने क्रममा केहीले लाइसन्स नबोकी हिँडेको नि पाइयो। सबैको चिट काट्दै, नाम दर्ता गर्दै नियन्त्रणमा लिइँदै थियो।
राईको लाइसेन्स थियो तर जोरबिजोरले गर्दा बेलुकीसम्म कुर्नुपर्ने भएछ।
‘जसको बाइक चलाउने दिन पर्यो उसलाई सहज, अरूलाई असहज,’ चिन्तित हुँदै भने, ‘आज बिजोर रहेछ, मेरो बाइक नम्बर जोर। कहिलेकाहीँ चेक हुने सुनेको थिए, आज आफैं परे।’
सामान्यतया बिहान चेकिङ हुँदैन भन्ने लागेर सबेरै काम सक्न लागेका पनि धेरै थिए। ललितपुर हरिसिद्धिबाट च्याउ बेच्न निस्किएका दीप राज त्यही सोचले त फसे। आधा बोरा च्याउ पनि बेच्न नपाउँदै बेला न बेला चेकिङमा परेकोमा दिक्क लागिरहेको उनले बताए।
‘चेकिङमा परेर यही अड्किएको छु। बाइकसँगै आधा बोरा च्याउ यतै राख्नु परेको छ,’ उनले भने, ‘आज बेचेन भने भोलि बिग्रिने चिज हो यो। अब दिउँसो बेच्न बजार पुगें भने आधा दाममा बेच्न बाध्य हुन्छु।’
बिहानैबाट हिँडेका उनी जाँदा चेकिङ परेनन्, फर्कदा परेछन्।
सरकारले उनी जस्ता व्यवसायीलाई परेको समस्या नबुझेकोमा उनको गुनासो थियो।
‘कि त ठप्पै बन्द भएको भए भाडाको गाडीमा राखेर वा अन्य विकल्प खोज्न हुन्थ्यो। कहिले खोल्ने, कहिले रोक्ने गर्दा हामी किसान-व्यापारीलाई मर्का पर्यो,' उनले भने।
भीडका एक युवकले पनि आक्रोश पोखे, ‘म आफन्तलाई पैसा दिन जाँदै थिए। जोर भएको भन्दै रोक्दिनु भयो। उताबाट फोन आइसक्यो। आफूलाई यहाँबाट जान दिएको छैनन्। कुरै सुन्दैनन्।’
सरकारले सर्वसाधारणको पीडा नबुझेको र सबैलाई सहज हुने नियम नआएको भन्दै त्यहाँ फसेकाले आक्रोश व्यक्त गरेका थिए।
आधिकारिक परिचय पत्र लागाएका सवारी धनी, पत्रकार, अस्पतालका गाडीलाई भने सो नियमले बाँधेको छैन। अति आवश्यक परेका साधनलाई पनि सोधपुछ गरेर प्रहरीहरूले पठाइरहेका थिए।
‘हामीले डाक्टर, बैंक कर्मचारी, ओषधि वितरक, नेपाल सरकारी कर्मचारी, कोभिड-१९ सामग्री वितरक लगायत अन्य अत्यावश्यक सेवा दिनेहरूलाई छुट गरेका छौं,’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर यादवले भने।
उनका अनुसार काठमाडौं, ललितपुर, र भक्तपुरबाट दिनभरमा ६-८ सय दुई पांग्रे र ३-४ सय चार पांग्रे सवारी साधन दैनिक नियन्त्रणमा पर्छन्।
अफिस समयमा भने धेरै भीड हुने भएकाले केही खुकुलो हुन्छ।
जिल्ला बाहिर यो प्रणाली खासै लागू नभएता पनि तीन प्रमुख जिल्लामा कडाइका साथ जोर-बिजोर लागू भएको उनले बताए।
‘बीचमा चाडबाडको कारण खुकुलो गरिए पनि अब कडाइ हुन्छ,’ उनले भने, 'नेपाल सरकारको नयाँ पारित नियम र आदेश नआउन्जेल यो नियम लागू रहन्छ। त्यसैले, सबै सवारी चालकलाई सचेत भई हिँड्न आग्रह गर्छु।'