महोत्तरीको बर्दिवासमा भइरहेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको छ।
मंगलबार दिउँसो प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना घाइते छन्।
बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम घाइते भएको प्रहरीले जानकारी दिएको छ।
कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ। उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।
बर्दिवास नगरपालिका वडा नम्बर १४ को शुभम् वस्तीबाट हराएकी ६ वर्षिया बालिका गुलाव साहको शव सोमबार राति फेला परेको थियो।
उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन्। भिड नियन्त्रण लिन प्रहरीले अश्रुग्याँस र रबरका गोली चलाएको छ।
प्रदर्शनमा उत्रिएकाहरूले महेन्द्र राजमार्ग बन्द गरेका छन्। उनीहरूले सडकमा प्रदर्शन जारी राखेका हुन्। उक्त घटनाका दोषीलाई पक्राउ र कारवाहीको माग उनीहरूले गरेका हुन्।
घटनामा सम्लग्न रहेको आरोपमा प्रदर्शनकारीले गौशाला नगरपालिका वडा नम्बर ५ का अरूणकुमार साहको बर्दिवासस्थित घरमा आगजनी गरेका छन्।
प्रहरीले घटनाका दोषीलाई पक्राउ गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ।