बर्दिवास नगरपालिका वडा नम्बर १४ की फुपू सेलिना खातुनको दिमागमा अहिले पनि हत्या गरिएकी ६ वर्षीया भतिजी गुलाब साह खातुनको खुसीमिश्रित अनुहार ताजै छ। उनलाई अहिले पनि विश्वास छैन, हँसिलो अनुहार र चञ्चले गुलाब हामीबीच छैनन्।
हराएदेखि छरछिमेकी रातदिन उनलाई खोज्न जुटेका थिए।
६ वर्षीया बालिका गत आइतबार मात्रै विद्यालयमा युकेजीमा भर्ना भएकी थिइन्। अब स्कुल जाने भनेर उफ्री-उफ्री उनले आफ्ना घरनजिकका छरछिमेक सबैलाई सुनाएकी थिइन्।
गुलाबका अभिभावकले छोरी भोलिपल्टदेखि विद्यालय जाने भनेर ड्रेसदेखि झोलासम्म तयार पारिसकेका थिए। लकडाउनका कारण बन्द भएर बल्ल खुलेको विद्यालय जान पाउने भएपछि गुलाब कुरा सुनाउनकै लागि नजिकै रहेकी फुपू सेलिना खातुनको घर पुगेकी थिइन्।
‘घर आउनेवित्तिकै मेरो एडमिसन भइसक्यो भन्दै थिइन्,’ फुपू सेलिनाले गहभरि आँशु झार्दै भनिन्, ‘गुलाबको यो खुसी पापीले खोसेर लगे।’
गुलाब अंग्रेजीदेखि मैथिली, नेपाली, हिन्दीसम्म कसैले नसिकाई बोल्थिन्। उनी नर्सरी, एलकेजी सकाएर युकेजीमा पढ्न जान लागेकी थिइन्। बुवा इम्तियाज अली र आमा सविना खातुनले छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना देखेका थिए।
गुलाबको अध्ययनप्रतिको उत्सुकता र लगनशीलता देखेर उनीहरू छोरीलाई समाजमा एउटा उदाहरण बनाउन चाहन्थे। छोरीको हत्यासँगै त्यो सपना अधुरो भयो।
‘उनी बोल्न यति सिपालु थिइन् कि जोकोही उनलाई एक पटक देखेपछि मोहमायामा पर्ने पक्का हुन्थ्यो, अहिले पनि लाग्छ गुलाब कहीँ लुकेर बसेकी छिन्, कि कहीँबाट आइदिने हो कि,’ छिमेकी दुलारी महतोले भनिन्, ‘उनी हराएदेखि हामीमध्ये कोही सुतेका थिएनौं। यहाँसम्म कि कसैले घरमा खाना पनि पकाएका थिएनन्।’
उनका अनुसार गुलाब दिनभरि सबैलाई बोलाइरहन्थिन्। ‘उनले जहिले पनि हामीलाई आन्टी म धेरै पढ्छु र पछि प्रहरी बन्छु र अपराधीलाई मार्छु भनेर भन्थिन्,’ महतोले भनिन्, ‘अपराधीको आँखा उनैमाथि लागेको रहेछ।’
स्कुल जाने निधो भएकाले आमा सविनाले छिट्टै घर आइपुग्नु भनेर भनेको कुरा फुपूलाई सुनाइन् र त्यहाँबाट निस्किइन्।
‘दिउँसो करिब चार बजेको होला मेरो घरबाट फर्किने क्रममा उनी प्रायः छेउमै रहेको त्यो पापी (अरुण)को पसलमा चकलेट किन्न पुगेकी थिइन्,’ फुपू सेलिनाले भनिन्, ‘हामीले सोच्यौं घर गइसकेकी होली। आधा घण्टासम्म पनि घर नपुगेपछि भाउजूले फोन गरेर गुलाबलाई पठाइदिन भनेपछि अघि नै गइसकेको कुरा बताउँदा भतिजी बेपत्ता भएको कुरा थाहा भयो।’
गुलाब हराएपछि सुरूमा आफ्नो घरदेखि लिएर छरछिमेकका घरमा खोजी गरिएको सेलिनाले बताइन्।
‘यतै कतै होलिन्, भेटिइहाल्छिन् भनेर सबैको घरमा खोजी गर्यौं,’ उनले भनिन्, ‘दुई-तीन घण्टा निरन्तर खोजी गर्दा पनि नभेटेपछि त्यही साँझ बुवा इम्तियाजले प्रहरीमा उजुरी गर्नुभयो।’
उनका अनुसार प्रहरीले अन्य छरछिमेकका घरमा खोजी गरे पनि आरोपी अरूणको घरमा भने कसैलाई छिर्न दिएको थिएन।
प्रहरीले फुपूकै घरबाट बालिका बेपत्ता भएको भन्दै थुनामा राखेर पिट्दा आफैं सबथोक स्वीकार्ने भनेर धम्कीसमेत दिएको थियो।
‘हामी श्रीमान्-श्रीमतीलाई तिमीहरूले नै बच्चीलाई गायब पारेको हो भनेर त्यहीँका एक जना असईले हामीलाई थुनामा राख्ने धम्की दिए,’ सेलिनाले भनिन्, ‘पछि स्थानीयले दबाब दिएपछि आरोपितको घरमा तलासी गरेका थिए।’
गुलाब साह बेपत्ता भएको एक दिनपछि सोमबारबाट अनुसन्धान थालेको प्रहरीले राति करिब १ बजेको समयमा स्थानीय विजय साहको घर पछाडिको झाँडीबाट शव फेला पारेको थियो। प्रहरीले राम्ररी खोजी नगरेकै कारण बालिकाको हत्या भएको स्थानीयले आरोप लगाउँदै आएका छन्।
यता प्रहरीले राति नै आरोपित अरुणलाई उनको गौशाला नगरपालिका-५ स्थित घरबाटै पक्राउ गरेको थियो। पीडित परिवारले दिएको जाहेरी र आरोपितलाई नियन्त्रणमा लिएपछि गौशाला प्रहरी चौकी र बर्दिबास प्रहरी कार्यालय दुबैले संयुक्त रुपमा अनुसन्धान गर्दा अरुणले घटना स्वीकार गरेका छन्। आरोपितले बताए अनुसार नै बालिकाको शव बोरामा बाँधिएको अवस्थामा बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए।
बर्दिबासस्थित पसलमा ‘चकलेट’ किन्न गएकी बालिका गुलाबलाई हत्या गरेर बोरामा बाँधी शव गाडेर आफ्नो गाउँ गौशाला फर्केको प्रहरी निरीक्षक रेग्मीले बताए। बलात्कार भए-नभएको भन्ने जिज्ञासामा वास्तविकता अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए।
यद्यपि, स्थानीयले बलात्कार गरी हत्या गरेको दाबी गरेका छन्।
‘बालिकाको हत्या गरेर फालेको कुरा आरोपितले आफ्नो घर-परिवारलाई बताएका रहेछन्,’ प्रहरी निरिक्षक रेग्मीले भने, ‘उनको पारिवारिक स्रोतबाट नै हत्याको कुरा प्रहरीमा जानकारी आएको छ।
बर्दिवासकी बालिका गुलाब हत्याका आरोपी अरुणकुमार साहको यो पहिलो घटना होइन। यसअघि पनि उनी हत्या आरोपमा धरौटीमा रिहा भइसकेका थिए।
महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले आरोपित अरुण यसअघि पनि हत्या आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएको बताए।
‘लकडाउनको बेला गत २०७७ वैशाख २८ गतेका दिन आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए,’ उनले भने।
अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा चलाइए पनि उनी धरौटीमा रिहा भएका थिए। प्रहरी निरीक्षक रेग्मीका अनुसार दिलीप र अरुण दुवै जना रक्सी खाएको बेला आपसी विवादमा कुटाकुट भएको थियो। कुटाकुटको क्रममा एक-अर्कामाथि ढुंगा प्रहार गर्दा अरुणले हानेको ढुंगाले दिलीपको मृत्यु भएको थियो।
घटनापछि आरोपित अरुणलाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो। तर, जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए। रिहा भए पनि उच्च अदालत जनकपुरमा पुनरावेदन चलिरहेकै बेला अरणबाट बालिकाको हत्या भएको छ।