विभिन्न अनुसन्धानमा गरिएका पछिल्ला विश्लेषणले कोरोना बिरामीले लक्षण देखिनु दुई दिनअघिदेखि र लक्षण देखिएको पाँच दिनसम्म सर्वाधिक संक्रमण फैलाउनसक्ने देखाएको छ।
यसअघि केही अध्ययनले कोरोनाका सिकिस्त वा रोग प्रतिरोधी क्षमता एकदमै कमजोर भएका केही बिरामीले भने २० दिनसम्म पनि अरूलाई सार्न सक्ने क्षमता राख्ने बताएको थियो। अझ कोही कम भाइरस भएका वा सामान्य बिरामीले पनि एक सातासम्म सारिदिनसक्ने देखाएको छ।
यी तथ्यांकको एकीकृत अध्ययनले प्रश्न उठाउँछः संक्रमितलाई जिम्मेवार बनाउन आइसोलेसन अवधि घटाइदिनु बुद्धिमानी होला कि?
वा अर्थतन्त्रमा झन् बढी भार थप्नेगरी अझ धेरै अवधि आइसोलेसन बस्न लगाएर संक्रमणका कुनै पनि सम्भावना थुन्नु उचित रहला?
अहिलेसम्म अमेरिकाको 'सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन'ले प्रस्ताव गरेअनुसार संक्रमितले बिरामी परेका दिनदेखि न्यूनतम दस दिनसम्म आइसोलेसन बस्नुपर्ने हुन्छ।
तर, पछिल्लो विश्लेषणका बारेमा अवगत संघीय पदाधिकारीले दिएको जानकारी अनुसार यो नयाँ कुरा पत्ता लागेपछि त्यसले उक्त केन्द्रको प्रस्ताव पनि प्रभावित पार्ने भएको छ।
ती पदाधिकारीका अनुसार आगामी साताभित्रै 'सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन'ले आइसोलेसनको छोटो अवधिबारे नयाँ मार्गनिर्देशन जारी गर्दैछ।
यसअघि फ्रान्सले गत सेप्टेम्बरमै आइसोलेसन १४ दिनबाट घटाएर सात दिनमा खुम्च्याइसकेको छ। जर्मनीले अझ घटाएर पाँच दिनमा झार्ने तयारी गरिरहेको छ।
कतिपय क्वारेन्टाइन र आइसोलेसनबीच भेद छुट्याउन अलमलिन्छन्। आइसोलेसन भनेको संक्रमित भइसकेपछि बिमारी अवस्थामा अरूलाई नसार्न अलग्ग बस्ने अवधि हो। क्वारेन्टाइन भनेको संक्रमित हुनसक्ने प्रवल सम्भावना बोकेको अवस्था हो।
'आइसोलेसन पाँच दिनमा झार्नुको अर्थ यसलाई हल्का र बढी स्वीकार्य बनाउनु पनि हो। यसले बढीभन्दा बढी संक्रमित तोकिएको मापदण्ड अनुसार अलग्ग बसिदिन सहमत भइदिन्छन्,' स्कटल्याण्डको सेन्ट एण्ड्रयुज विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञ डा. मुगे सेभिक भन्छिन्।
पछिल्लो विश्लेषण गर्ने टोलीको नेतृत्व यिनै डा. मुगेले गरेकी थिइन् जसको रिपोर्ट 'दी लान्सेट माइक्रोब' नामको जर्नलमा पनि प्रकाशित भइसकेको छ।
भर्खरै बेलायतमा गरिएको एक अध्ययनले त्यहाँ दस दिनसम्म आइसोलेसनमा बस्नुपर्ने नियम राखिएकामा पाँच जना लक्षण देखिएकामध्ये केबल एकले मात्र त्यो अवधि पालना गरेको पाइएको थियो।
'हामीले परीक्षण मात्र बढाएर के गर्ने?' डा. मुगे भन्छिन्, 'यदि मानिसहरू आइसोलेसनमा बस्दै बसेनन् भने यो संक्रमण फैलनबाट कसैले रोक्न सक्दैन।'
अमेरिकामा पनि धेरैजसो मानिसले समयमै संक्रमण भए-नभएको परीक्षण गराउनेभन्दा पनि बिरामी महशुस गरेको एक वा दुई दिनपछि मात्र जाँच गराइरहेका पाइन्छन्। अनि रिपोर्ट आउन समय लाग्ने अवस्थामा धेरैजसो मानिसले स्वाब नमूना दिएको दुई वा तीन दिनपछि मात्र संक्रमित भएको वा नभएको जानकारी पाइरहेका छन्। यो भनेको मानिसमा करिब संक्रमण अन्तिम-अन्तिम अवस्थामा पुग्दा मात्र आफू संक्रमित रहेको भेउ पाउनु हो।
'यदि कसैले नमूना दिएकै दिन परिणाम पाउँछ भने पनि त्यतिन्जेलसम्म मानिसमा भएको भाइरसको ९० प्रतिशत प्रभाव हटिसकेको हुन्छ,' हार्वर्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका संक्रामक रोग विशेषज्ञ डा. माइकल मिना भन्छन्, 'यसले पनि संक्रमण फैलने सम्भावना कति व्यापक छ भन्ने देखाउँछ।'
डा. मुगे र उनका साथीको टोलीले कोरोना संक्रमण बेला यो कति तीव्र छ भन्ने अध्ययन गर्नुका साथै त्यो तुलना सार्स र मर्स जस्ता भाइरससँग पनि गरेको थियो।
अध्येताहरूले सन् २००३ देखि सन् २०२०, जुन महिनासम्म गरिएका झन्डै १५ सयवटा अध्ययनलाई आधार बनाएका थिए। त्यसमा हजारौं संक्रमितका सूचना थिए जसमध्ये अधिकांश अस्पतालै भर्ना हुनुपर्नेगरी बिरामी परेका थिए। ती अध्ययनमध्ये नयाँ कोरोना भाइरसका ७९, मर्सका ११ र सार्सका ८ वटा अध्ययनबाट निस्केका निष्कर्षको आधारमा टोलीले तथ्यांक तयार पारेको थियो।
डा. मुगे र उनका सहयोगीले फेला पारेको जानकारीअनुसार कहिल्यै लक्षण नदेखाएका संक्रमितले पनि लक्षण देखाएका बिरामीले जत्तिकै मात्रामा नयाँ कोरोना आफूमा बोकेका थिए। तर, लक्षण नदेखाउने संक्रमितको शरीरबाट चाहिँ असाध्यै छिटो भाइरस प्रभाव हट्ने पाइयो।
कोरोना भएका मानिसले प्रायः संक्रमित भएपछि लक्षण देखिनुभन्दा एक वा दुई दिन अगाडिदेखि लक्षण देखिएपछिको पाँच दिनपछिसम्म असाध्यै बढी संक्रमण बोक्ने निष्कर्षमा विश्लेषक पुगेका थिए। यति हुँदाहुँदै पनि बिरामीले आफूमा भाइरसका आनुवांशिक कण १७ दिनसम्म र कुनै कुनै केसमा त तीन महिनासम्मै पनि आफ्ना नाक वा गलामा बोकेर हिँडिरहने हुनसक्छ।
'केही बिरामीले आफूमा भएको संक्रामक भाइरस नाक वा गलाभन्दा पनि फोक्सोमै बोकेर राखिदिन सक्छन् र त्यसरी फोक्सोमा बोक्नेले लक्षण देखिएको आठ दिनसम्म आफूमा भाइरस टिकाउन सक्छन्,' ब्राउन विश्वविद्यालयमा इमर्जेन्सी फिजिसियन डा. मेगान रान्ने भन्छिन्, 'यस्ता संक्रमितका हकमा भने पत्ता लाग्नसकेको खण्डमा पाँच दिनभन्दा बढी अवधिको आइसोलेसन अनिवार्य हुन्छ।'
डा. मेगानका अनुसार केवल शारीरिक परीक्षणबाट मात्रै कसलाई कोरोना निमोनिया भएको छ र कसलाई भएको छैन भनेर सदैव पत्तालाग्ने अवस्था रहँदैन।
'समस्या नै यही हो,' उनी भन्छिन्, 'बिरामीलाई त झन् थाहा हुने कुरै भएन।'
सामान्यतः तन्नेरी वा कम उमेरकामा भन्दा बुढापाकामा संक्रमण बढी समय रहने देखिन्छ। तै पनि लक्षण देखिएको नौ दिनभन्दा बढी जीवित भाइरस भेटिएको उदाहरण भने विश्लेषणका बेलामा कुनै पनि अध्ययनले देखाएन।
परिणामले देखाएअनुसार त्यो अवधिपछि पनि कोरोना पोजेटिभ भनेर देखाउने नतिजाका पछिल्तिर जीवित भाइरसभन्दा पनि तिनका अनुवांशिक अवशेष कारण हुने गरेको डा. मुगे बताउँछिन्।
यसैकारण पनि संक्रमित बिरामी सामुदायिक क्लिनिकहरूमा भर्खर भर्ना हुँदा उनीहरूबाट त्यहाँका स्वास्थ्यकर्मीलाई संक्रमण सर्ने असाध्यै बढी जोखिम देखिँदै छ। जबकि बिरामी असाध्यै सिकिस्त अवस्थामा पुगेर आइसियुमा लामो समय भर्ना हुँदा पनि त्यस्ता आइसियुमा काम गर्ने स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको उदाहरण कमै भेटिन्छ।
गत मार्च महिनायता जम्मा पार्दै ल्याइएको तथ्यांकका आधारमा यो विश्लेषण गरिएको हो।
यस्तै आधारलाई टेकेर गत जुलाइमा 'सेन्टर फर डिजिज कन्ट्रोल'ले आइसोलेसन अवधि १० देखि १४ दिन अवधि कायम गरेको थियो। अब भने विज्ञहरूले दस दिनको आइसोलेसन पनि धेरै संक्रमितका हकमा असाध्यै लामो भएको बताएका छन्। त्यति लामो समय आइसोलेसन बसिरहनु आर्थिक कारणले पनि मानिसका लागि असजिलो हुन्छ भने आफूले सन्चो महशुस गरिसकेपछि पनि आइसोलेसन बसिरहनुलाई धेरैले झण्झटका रूपमा पनि लिइदिन सक्छन्।
'बरू त्यो अवधि उपयुक्त ढंगले छोट्याइदिने हो भने संक्रमितलाई पनि सहज रूपले स्वास्थ्य सम्बन्धी मार्गनिर्देशन पालना गरिदिन सघाउ पुग्छ भन्ने मलाई लाग्छ,' जर्जटाउन विश्वविद्यालयको सेन्टर फर ग्लोबल हेल्थ साइन्स एण्ड सेक्युरिटीकी संक्रामक रोग विज्ञ एन्जेला रासमुसेन भन्छिन्, 'यद्यपि यो विश्लेषण गर्ने क्रममा उपलब्ध अध्ययन जीवित भाइरसका बारेमै केन्द्रित थोरै मात्र अनुसन्धानमा आधारित छ।'
केही बुढापाका वा बढी बिरामी परेकामा संक्रमण एक साताभन्दा बढी समय रहन सक्छ। यो सत्य हो। तर, आइसोलेसन अवधि छोट्याउने हो भने धेरै मानिसलाई यसको पालना गर्न प्रोत्साहित गर्नेछ।
'यसले पाँच दिनपछि पनि संक्रमण फैलाइरहन सक्ने थोरै मानिसका जोखिमलाई कायम राखे पनि एकदमै ठूलो हिस्साको संक्रमितलाई भने उनीहरूले फैलाउन सक्ने जोखिमबाट मुक्त पारिदिन सक्छ,' जोन्स हपकिन्स विश्वविद्यालयका महामारीविज्ञ डा. स्टेफेन बराल भन्छन्, 'जसबाट समुदायले तुलनात्मक रुपमा बढी लाभ प्राप्त गर्छ।'
अर्कातर्फ केही चिकित्सक भने यसरी आइसोलेसन पाँच दिनमा सीमित पार्दा त्यसले धेरैमा संक्रमण फैलनबाट रोक्ने कुरा पत्याउन गाह्रो परिरहेको सुनाउँछन्।
'यी तर्क सुन्दा त होला कि जस्तो लाग्ने किसिमका छन्,' युनिभर्सिटी अफ भर्जिनियाको सघन उपचार तथा संक्रामक रोग सम्वन्धि फिजिसियन डा. टाइसन बेल भन्छन्, 'तर, यो तर्कले ठ्याक्कै यसरी प्रभाव देखाउँछ भनेर तोकेरै औंल्याउने ठाउँ म कतै भेटिरहेको छैन।'
डा. मुगे र अन्य पनि धेरै विज्ञले मानिसले आफूमा सामान्य लक्षण देखिनासाथ आइसोलेसनमा बसिदिनु उपयुक्त हुने बताइरहेका छन्। जस्तो कि, पिसिआर रिपोर्ट पनि नपर्खेर घाँटीमा खसखस हुनेबित्तिकै वा टाउको अनि शरीर दुख्नेबित्तिकै आइसोलेसनमा बसिहाल्ने।
तर, यो कुरा व्यवहारमा लागू गर्न कत्तिको सजिलो होला भन्ने कुरामा डा. टाइसन बेल सन्देह प्रकट गर्छन्। उनका अनुसार यी प्रारम्भिक लक्षण कोरोनाकै कारण नभइ सामान्य रुघाखोकीका पनि हुनसक्ने भएकाले मानिसलाई तोकेरै 'यसो गरिहाल' भन्न मुश्किल पर्छ।
डा. मुगेका अनुसार जे-जस्तो कारणले भए पनि सामान्य लक्षण देखिनेबित्तिकै पाँच दिन आइसोलेसनमा बस्न लगाउने र त्यसको लगत्तै पिसिआर जाँच गर्न लगाउने हो भने उति साह्रो समस्या पर्दैन। त्यसबाहेक विकल्पमा तुरुन्तै परीक्षण गर्न सकिने 'एन्टिजेन'लाई पनि प्रयोग गर्न सकिने उनी सुझाउँछिन्।
अन्य विशेषज्ञ पनि घरैमा गर्न सकिने तुरुन्तै परीक्षणका विधि उपयुक्त हुने तर्क गर्छन्।
'मेरो विचारमा यो राम्रो विकल्प हो,' डा. रान्ने भन्छिन्, 'यदि लक्षण देखिन्छ र तपाईंसँग घरैमा गर्न सकिने परीक्षणको सुविधा छ भने घरै बस्नुस्। परीक्षण गर्नुस् र पाँच दिनसम्म आइसोलेसन बस्नुस्।'
यी सब कुराका आधारमा कोरोना भाइरसले मानिसको शरीरमा कति छिटो आफूलाई विस्तार गर्छ र यसको प्रत्युत्तरमा पनि बिरामी र चिकित्सकले कति छिटो नियन्त्रणमा लम्कनु पर्छ भनेर सचेत गराउने डा. बराल बताउँछन्।
कोरोनाले लक्षण देखाएपछि पाँच दिन आफूलाई सक्रिय तुल्याउने गरेकामा मर्स भाइरसले सात देखि १० दिन लगाउँछ भने सार्स भाइरसले १० दिनदेखि १४ दिन लगाउँछ।
'मर्स र सार्सभन्दा बेग्लै नयाँ कोरोना भाइरस एकदमै तीव्र गतिमा विस्तार हुन्छ,' डा. बराल भन्छन्, 'सार्सको तुलनामा यो नियन्त्रण गर्न असाध्यै मुश्किल पर्ने भाइरस हो।'
केही मुलुकले संक्रमितका निम्ति सजिलो पारिदिन पहिल्यै सहज आइसोलेसनका उपाय अपनाइसकेका छन्। कामकाजी मानिसलाई कसरी आर्थिक रूपले सघाउने भनेर भियतनामले आइसोलेसन बस्नेका निम्ति सहयोगको बन्दोबस्त मिलाइसकेको छ।
गत मेमा जापान सरकारले सामान्य लक्षण देखिएका जुनसुकै तन्नेरीलाई परीक्षण नगर्दै चार दिनसम्म घरमा बस्ने सुविधा दिएको हो।
जापानले अहिले बिरामीलाई संक्रमित भएको आशंका लागेमा टेलिफोनका माध्यमबाट उनीहरूका चिकित्सकलाई अवगत गराउँदै परीक्षण बन्दोबस्त मिलाउन अह्राएको छ। कुनै पनि मानिसमा कोरोना पोजेटिभ देखिने बित्तिकै अस्पताल वा होटलमा आइसोलेसनमा राखिन्छ। अमेरिकामा पनि न्यूयोर्क सिटी र भेरमोन्टजस्ता स्थानमा संक्रमितका लागि त्यस्तै आवास बन्दोबस्त मिलाइएको छ।
कतिपय मुलुकले त्यस्तो बन्दोबस्त मिलाउन नसके पनि संक्रमितलाई घरै आइसोलेसनमा राख्ने, मास्क लगाउन लगाउने, झ्याल खुलै राख्ने, भुइँ र सतहहरु लगातार सफा गरिरहने र परिवारका अन्य सदस्यलाई परै राख्ने जस्ता उपाय अपनाएर समाधान खोज्न सकिने र त्यसनिम्ति दस दिने आइसोलेसनभन्दा पाँच दिने आइसोलेसन उपयुक्त हुने पनि डा. बराल बताउँछन्।
'पाँच दिनको आइसोलेसन समस्या सिनित्तै सकिन्छ भनेर म पनि भन्दिनँ,' डा. बराल भन्छन्, 'तर, अघिल्लो पाँच वा सात दिनको अवधिले धेरै ठूलो मात्रामा संक्रमणको खतरा भने टारिदिने क्षमता राख्छ।'
(टोकियोबाट माकिको इनोउको सहयोगमा न्यूयोर्क टाइम्सका लागि अपूर्वा मन्दाभिलीले लेखेको लेखको भावानुवाद)