नेपाल सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरूले संयुक्तरूपमा १८ बुँदे ज्ञापनपत्र बुझाएको थियो।
त्यस समयमा समितिले माग पूरा गर्न २१ दिने अल्टिमेटम दिएको थियो।
तर सरकारले कुनै पहल नगरेको भन्दै समितिले सोमबार विज्ञप्ति जारी गरेको हो।
उक्त विज्ञप्तिमा समितिले आफ्ना माग पूरा गर्न सोमबारदेखि लागू हुने गरी एक हप्ताको समयावधि थप गरेको र पूरा नभएमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
'सरकारले आजसम्म कुनै पहल नगरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'आजदेखि लागू हुने गरी १ हप्ताको समयावधि थप गरेर आवश्यक गृहकार्य गर्न समय उपलब्ध गराइएको छ। अन्यथा, बाध्यताबस हामी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुनेछौं।'
कोरोनाको महामारी फैलिरहेकोबेलामा स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूले जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म पनि नपाएको विज्ञप्तिमा उल्लेख छ।
समितिले आफ्ना मागलाई गम्भीर रूपमा मनन गरी न्यायोचित वातावरण सिर्जना गर्न अपिल गरेको छ।