झापामा एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र उनका भतिजा २८ वर्षीय भयंकर भन्ने भुखन किसान छन्।
उनीहरूमाथि ४२ वर्षीय पुलिस भन्ने पर्शुराम गौतमको हत्या गरेको आरोप छ। प्रहरीका अनुसार भुखन भने मुख्य व्यक्ति हुन्।
गत शुक्रबार बिहान साढे ७ बजे पर्शुरामको शव उनको घर आँगनमा फेला परेको थियो।
उनको शरीर रगतले लतपतिएको र टाउकोमा चोट समेत लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए।
स्थानीयले पर्शुराम मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय, धुलाबारीबाट प्रहरीको टोली खटिएको थियो।
सो टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको थियो।
घटनाको अनुसन्धान गर्न प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर सहितको टोली परिचालन गरेको कार्यालयले जनाएको छ।
डिएसपी थापाका अनुसार अनुसन्धान गर्ने क्रममा किसानद्वय बिहीबार राति पर्शुरामको घरमा रहेको खुलेको थियो।
उनीहरू दुवै जना पर्शुरामको घरमा अबेरसम्म बसेर मादक पदार्थ सेवन गरेको डिएसपी थापाले बताए। तर शुक्रबार बिहान भने उनीहरू दुवै जना फरार थिए।
खोजतलास गर्ने क्रममा प्रहरीले बुधलाल किसानलाई मंगलबार गाउँघरबाट फेला पारी पक्राउ गरेको थियो।
उनीमाथि प्रहरीले सोधपुछ गर्दा आफूले नभई आफ्ना भतिज भुखन किसानले कुटपिट गरी हत्या गरेको आरोप लगाएका थिए।
'म र पर्शुरामले रक्सी खाई बसिरहेका थियौं। त्यसबेला मेरा भतिज भुखन आइपुगेको थियो। भतिज आएपछि पर्शुरामसँग विवाद गर्न थाले,'डिएसपी थापाले बुधलालले दिएको बयान उदृत गर्दै भने,'त्यसपछि भुखनले पर्शुरामलाई कुटपिट गरी चोट पुर्याएर घर फर्किएको थियो।'
भुखन घर फर्किएपछि आफू पनि घर फर्किएको बुधलालले बताएका छन्।
प्रहरीले सोही दिन भतिजा भुखनलाई पनि वडा नम्बर ६ स्थित काकडभिट्टाबाट पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले सोधपुछ गर्दा हत्या गरेको स्वीकारिसकेको डिएसपी थापाले बताए।
'उनीहरूबीच हत्या नै गर्नुपर्ने कुनै ठूलो कारण थिएन। मापसे क्रममा सुरूमा झगडा भयो अनि भतिजले हत्या गरे,'उनले भने,'बुधलालले हत्या नै नगरे पनि सबुत मेटाएका छन्।'
भुखनले हत्या गरी घर फर्किएपछि उनले कपडाहरू बुधलालको घरमा रहेको माछा मार्ने ढोक्सामा हालेका थिए।
बिहानपख उनले फेरि सो ठाउँबाट कसैले भेट्ला भन्दै पानी जमेको पैनीमा फालेका थिए।
माछा मार्ने ढोक्सामा रगत लागेको देखेपछि बुधलालले आगो लगाइदिएका थिए। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ।
घटनास्थलबाट प्रहरीले दुइटा फलामको रिम र भुखनले लगाएका रगत लागेका लुगा पनि बरामद गरेको छ।