संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ।
आइतबार दिउँसो सवा ३ बजे चैनपुर नगरपालिका-४ मैदानेमा गस्तीमा गएको प्रहरीको टोलीमाथि गोली प्रहार गरेको थियो।
जिल्ला प्रहरी कार्यालय, प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज मल्लका अनुसार सुरूमा एपिएफसहित खटिएको प्रहरी टोलीमाथि गोली प्रहार भएको हो।
'एपिएफसहित हाम्रो २०-२५ जनाको टोली नियमित गस्ती गएको थियो,'उनले भने,'गस्ती गएको टोलीमाथि विप्लव समूहले गोली प्रहार गरेर जंगलतिर भागे।'
उनका अनुसार विप्लव समूहका कार्यकर्ताले ४-५ राउन्ड गोली प्रहार गरेका थिए। त्यसबाट कसैलाई क्षति नपुगेको प्रहरीले जनाएको छ।
प्रहरीले पनि जवाफी फाइरिङ गरेको डिएसपी मल्लले बताए।
'हाम्रो टोलीले पनि १५-२० राउन्ड गोली प्रहार गरेको थियो। अहिलेसम्म कोही घाइते भए/नभएको खबर आइसकेको छैन,'उनले भने,'हाम्रो टोली चेकपोष्टहरूमा अहिले खटिएको छ।'