काठमाडौंको वायु प्रदूषण मंगलबार साँझ सोमबारको भन्दा आधा घटेको छ।
सोमबारदेखि मंगलबार अपरान्हसम्म काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) मा मापन गरिन्छ। सोमबारदेखि मंगलबार अपरान्हसम्म काठमाडौंको वायु प्रदूषण तीन सय एक्वुआईमाथि नै थियो।
अपरान्हपछि आकाश खुल्दै गएकाले प्रदूषण कम हुँदे गएको हो।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ थियो।
मंगलबार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायुको एक्वुआई २०२ मा झरेको छ।
एक्वुआई ५० हुनु राम्रो मानिन्छ। ० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।
वातावरण विभागका उपमहानिर्देशक ईन्दुविक्रम जोशीले वायु प्रदूषण विस्तारै कम हुँदै गइरहेको बताए।
‘हिजोभन्दा आज प्रदूषण कम भएको छ। भोलिसम्म यो निकै घट्छ भन्नेमा हाम्रो आशा छ,’ उनले सेतोपाटीसँग भने।
यो पनि पढ्नुस्:
एकैदिनमा कसरी खतराको तह पार गर्यो काठमाडौंको वायु प्रदूषणले?
वायु प्रदूषण ह्वात्तै बढेको काठमाडौंमा जोगिन के गर्ने?