पाहुना चराहरूको स्वर्ग बनिरहेको कपिलवस्तुको जगदिशपुर ताल ४५ वर्षअघिसम्म गाउँ थियो।
थारु समुदायको बाहुल्यता रहेकोले त्यो गाउँलाई जगदिशपुर थारु गाउँ भनिन्थ्यो। गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो। त्यही तालमा गाउँलेहरू पौडी खेल्ने, भैंसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे। कपिलवस्तु नगरपालिका वडा नं. ९ का अध्यक्ष शिव बहादुर वाग्ले त्यहाँको विगतबारे यसरी बताउँछन्।
कपिलवस्तु जिल्ला धान, दाल र गहुँ उत्पादनको लागि अन्न भण्डार मानिन्थ्यो। प्रशस्त खेतीयोग्य जमिन भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा भने थिएन।
उत्तरी क्षेत्रमा वाणगंगा र कोइली नदीबाट कुलो र नहरमार्फत खेतमा सिँचाइ गरिए पनि दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा थिएन।
त्यही समस्या समाधानको लागि वि.सं. २०३५ सालमा सिँचाइ प्रयोजनको लागि वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले लक्ष्मणघाटमा बाँध बाँधेर जगदिशपुरमा जलाशय निर्माण गर्ने र त्यहीबाट नेपाल र भारतका समेत सयौं हेक्टर जमिन सिँचाइ गर्ने योजना अगाडि सारेको थियो।
त्यही सिँचाइको लागि कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० मा बनाइएको जलाशय अहिले चराहरूको लागि स्वर्ग र आकर्षक पर्यटकीय स्थलको रूपमा जगदिशपुर तालको नामबाट देशभर प्रख्यात छ।
कुल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल नेपालको मानवनिर्मित सबभन्दा ठूलो ताल हो।
यहाँ ४७ लाख घनमिटर पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ। तर अहिले भने कोइली र वाणगंगा नदीको पानीमा बगेर आउने माटोका कारण तालको उत्तरतर्फको क्षेत्र पटान भएको छ।
बेला-बेलामा सरसफाइ गर्ने गरिए पनि पानी र दल-दलमा उम्रिने मिचाहा वनस्पतिको कारण ताल क्षेत्र पनि साँघुरिँदै गएको छ।
डिभिजनल सिँचाइ कार्यालयसँगको साझेदारीमा जलउपभोक्ता संघले व्यवस्थापन गरिरहेको यस तालबाट हजारौं परिवारले सिँचाइमार्फत् प्रत्यक्ष रूपमा लाभ लिएका छन्।
वर्षेनी हजारौं पाहुना चराहरूले ताललाई बासस्थान बनाएका छन्। ताल निर्माणको लागि वि.सं. २०३३ सालमा आफ्नो घरजग्गा दिएर जगदिशपुर नजिकै स्थानान्तरण भएका रामप्रसाद चौधरी ताल निर्माणपछि सिँचाइको लागि मात्र नभई जैविक विविधताको लागि जगदिशपुर देशकै नमूना बनेकोमा खुसी छन्।
‘म त सानै थिए, तालको डिल भत्किएर क्षति हुनसक्छ भनेर त्यहाँको जग्गा दिएर बुवाहरू यता सर्नुभएको रहेछ, अहिले त्यही ठाउँ पर्यटकीय क्षेत्र बनेको देख्दा खुसी लाग्छ,’ उनले भने।
रामप्रसादका हजुरबुवा सीताराम थारु ताल क्षेत्रमा पर्ने जग्गाको मुआब्जा लिएर नजिकैको अर्को गाउँमा स्थानान्तरण भएका थिए।
स्थानीय दुवर थारु पनि तालको लागि आफूहरूको झण्डै ५ विगाह जग्गा अधिग्रहणमा परेको बताउँछन्।
दुवरका बुवा दत्तु थारुले प्रति विगाह ३० हजार रुपैयाँमा सबै जग्गा ताललाई दिएर जगदिशपुर थारु गाउँमा बसोबास गरेका थिए।
सीताराम र दत्तु दुवैको मृत्यु भए पनि उनीहरूका छोरा नातिहरू भने अहिले आफ्नै घरगोठ दिएर बनाइएको तालको संरक्षणमा लागेका छन्।
जलपंक्षीहरूको आगमन बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्वसीमसार क्षेत्रमा सूचीकृत गरिएको थियो।
जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका सचिव सुन्दर पाण्डे सिँचाइको लागि बनाइएको तालमा बिस्तारै हिउँदमा जलपंक्षीहरू आउन थालेपछि यसको संरक्षणको अभियान सुरू गरिएको बताउँछन्।
तालको नजिक रहेको बस्तीका बासिन्दाले नै तालबाट प्रत्यक्ष लाभ लिने र प्रभावित हुने भएकोले तालको संरक्षणको लागि पनि स्थानीयलाई सहभागी बनाउने गरिएको छ।
प्रहरी तथा वनका कर्मचारीसँगै स्थानीय पनि तालका माछा र चराहरूको संरक्षणका लागि तालको निगरानीमा जुट्ने गरेको पाण्डेले बताए।
यो ताललाई नेपाल सरकारले १ सय पर्यटकीय क्षेत्रभित्र समेटेर पर्यटन प्रवर्द्धनका कार्यक्रममा सघाउ पुर्याउँदै आएको छ भने लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशका २० वटा पर्यटकीय क्षेत्रको सूचीभित्र यो ताललाई पनि समेटेको छ।
सोही अनुसार गत वर्ष २ करोड रुपैयाँ विनियोजन गरी भ्यूटावर, पोखरीको वरिपरि पदमार्ग लगायतका संरचना निर्माण भइरहेका छन्।
यो ताल सिँचाइसँगै सिमसार र पर्यटकीय क्षेत्र समेत भएकोले यसको व्यवस्थापनमा पनि सबै क्षेत्रको भूमिका हुनुपर्ने पाण्डे बताउँछन्।
‘रामसार र सिमसार क्षेत्र भएकोले वनको भूमिका देखिन्छ, सिँचाइ प्रयोजनको लागि बनाइएकोले सिँचाइ डिभिजनको कार्यक्षेत्र भित्र पर्छ भने पछिल्लो समय डुंगा सयर गराउने र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने काम भइरहेकोले स्थानीय तहले आफ्नो स्वामित्वभित्र राखेर विकासका काम अगाडि बढाइरहेका छन्,’ उनले भने।
तर यहाँ डुंगा चलाएर पर्यटक ल्याउने भन्दा पनि बर्ड वाचिङ र जैविक विविधताको क्षेत्रबाट यसको विकास गर्नुपर्छ भन्ने आवाज उठ्ने गरेको छ। यहाँ हरेक वर्ष पंक्षीसंरक्षण संघले चराविद् हेमसागर बरालको नेतृत्वमा चराहरूको गणना गर्ने गर्छ। यस वर्ष पनि बरालको नेतृत्वमा गत सातादेखि चराहरूको गणना सुरू गरिएको छ।
बरालका अनुसार यो तालमा बाहिरी मुलुकबाट हरेक वर्ष १५ हजारभन्दा बढी चराहरू आउने गर्छन्।
लोपोन्मुख प्रजातिहरू अन्यत्रका जलाशयमा नदेखिएका चराहरू पनि यहाँ पाइने बराल बताउँछन्।
हरेक वर्ष जाडोयाम सुरू भएसँगै रुस, चीन, मंगोलिया, साइबेरिया, तुर्केमिस्तान र कीर्गिस्तानबाट हजारौं चराहरू त्यहाँको जाडो छल्न यो तालमा आउने गर्दछन्।
गत वर्ष कात्तिकदेखि फागुनसम्मको ५ महिनाको अवधिमा यहाँ २१ हजार चराहरू गणना गरिएको थियो।
यस वर्ष भने पंक्षी संरक्षणको अभियान र निगरानी भइरहेकोले चराहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
‘कात्तिकदेखि माघसम्म नै विभिन्न मुलुकबाट चराहरू आउने क्रम जारी रहने भएकोले अहिले नै यत्तिकै संख्यामा चराहरू आए भन्न नसकिए पनि १२ देखि १५ हजारको संख्यामा चराहरू आइसकेको हुनुपर्छ,’ पाण्डेले भने।
यहाँ सबभन्दा बढी मरुल चराहरू आउने गर्छन्।
त्यस्तै, हाँस प्रजातिका सुनजुरे, खडखडे, सिलसिले, कालीजुरे र मालक चराहरू पनि रहेका छन्।
त्यस्तै सुइरोपुछ्रे, बेल्चाठुंडे, सिन्दुरे र कैलो टाउके हाँसको लागि यो ताल राम्रो बासस्थान बनेको छ।
तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चखेवा चखेवीको चहलपहलले अहिले तालमा पुग्ने पर्यटकहरूलाई मनोरञ्जन दिने गरेको छ।
पाहुना चराको जलक्रिडा र रोमाञ्चक गतिविधिले पंक्षी प्रेमीलाई मात्र होइन त्यहाँ पुग्ने हरेक पर्यटकलाई मन्त्रमुग्ध बनाएको छ।
रुस, चीन, मंगोलिया, साइबेरियामध्ये एसियाका तुर्केमिनिस्ता र कीर्गिस्तानमा हिउँ परेर तालतलैया तथा पानीको सतह जम्ने भएपछि आहारको खोजी गर्दै चराहरू यहाँ आउने गर्छन्।
फागुन महिनापछि भने यहाँ गर्मी हुन थालेपछि चराहरू फेरि आफ्नै मुलुक फर्किने गर्छन्। ती मुलुकहरूबाट सातदेखि १० दिन लगाएर ४ देखि ५ हजार माइलसम्मको उडान गरी चराहरू यहाँ आउने गर्छन्।
यो तालमा पंक्षी संरक्षण संघले विश्वमै दुर्लभ मानिएका ७ प्रजातिसँगै सिमसारमा आश्रित ६१ प्रजातिका चरा पाइन्छन्। त्यस्तै अन्य ५७ प्रजातिका चरा पनि यो तालमा पाइने गर्छन्।
धेरै प्रजातिका र ठूलो संख्यामा चराहरू आउने भएकोले यो ताल पंक्षीसम्बन्धी अध्ययन गर्ने विद्यार्थी तथा पंक्षीविद्हरूको लागि विश्वविद्यालयको रूपमा स्थापित हुँदै गएको पाण्डेले दाबी गरे।
चराहरू आउने क्रम बढेसँगै अहिले दैनिक दुई तीन सय पर्यटकहरू अवलोकनको लागि पुग्ने गर्छन्।
पर्यटकहरूलाई आकर्षित गर्न विगत दुई तीन वर्षदेखि तालमा डुंगा सञ्चालन गरिएको छ। तर डुंगा सञ्चालनले चराहरूको गतिविधिमा असर नगरोस् र पर्यटकहरूले चराहरूको गतिविधि अवलोकन गर्न पनि सकुन् भन्ने उद्देश्यले तालमा रस्सी लगाएर डुंगा सयरको लागि क्षेत्र विभाजन गरिएको छ।
बिहानको समयमा डुंगा सयर गर्ने क्षेत्रमा चराहरू आउने गरे पनि डुंगा चल्न थालेपछि त्यहाँबाट अन्यत्र जाने गर्छन्।
चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा बासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ।
तालको वरिपरि डिलबाट हिँडडुल गर्न र चराहरू अवलोकन गर्न पाइने भए पनि तालभित्र जान भने रोक लगाइएको छ।
पहिले चराहरूलाई लखेट्ने, मार्ने गरिए पनि अहिले स्थानीयहरू चरा संरक्षणमा लाग्ने गरेका छन्।
ताल र वरपरको जैविक विविधतासँग जोडेर पर्यटन विकास गर्ने र त्यसको माध्यमद्वारा स्थानीयको जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नेतर्फ छलफल भइरहेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह बताउँछन्।