प्रहरीले लुटपाट गरेको आरोपमा दोहोरी साँझका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले काठमाडौंको दरबारमार्गस्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका-१ घर भई काठमाडौं नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र दोहोरीमा ड्राइभर काम गर्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-२ चौतारा घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ छन्।
उनीहरूले गत शनिबार राति १ बजे काठमाडौंको स्युचाटारमा प्रविनकुमार भण्डारीलाई लुटपाट गरेका थिए।
पक्राउ परेकाहरूबाट प्रहरीले लुटपाट भएको सवा ३ तोलाको सुनको सिक्री, दुई तोला सुनको औंठी, साढे एक तोलाको ब्रेसलेट बरामद गरेको छ।
प्रहरीले उनीहरूको बा ३ च ६६४९ नम्बरको मारुती भ्यान कोटेश्वर बालकुमारीस्थित ग्यारेजबाट नियन्त्रणमा लिएको छ।