प्रदेश २ मा पहिलो चरणमा २५ हजारभन्दा बढी व्यक्तिले कोरोनाविरूद्धको खोप लगाएका छन्।
भारतले उपलब्ध गराएको कोरोनाविरूद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई लगाउने निर्देशिका जारी गरिए पनि सो निर्देशिकाविपरीत कोरोना खोप लगाइएको छ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका व्यक्ति, फोहोरमैला व्यवस्थापनमा खटिने सफाइकर्मी, खोप केन्द्रमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवक, बृद्धाश्रममा रहेका व्यक्ति हेरचाह गर्ने व्यक्ति, कर्मचारी, जेलमा खटिएका सुरक्षाकर्मी तथा कैदी लगायतलाई खोप लगाउने निर्देशिका बनाइएको थियो।
तर, प्रदेश २ मा सो मापदण्डविपरीत खोप लगाइएको पाइएको हो।
प्रदेश २ मा कतिपय स्वास्थ्यकर्मीहरू कोरोनाविरूद्धको खोप लगाउन नसके पनि व्यापारी, शिक्षक अर्थात् फ्रन्टलाइनमा नरहेका व्यक्तिहरूले लगाएको देखिएको छ।
जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालको खोप केन्द्रमा सुनचाँदी व्यवसायी पवन ठाकुर र बलराम साहले खोप लगाएका छन्। व्यापारीद्वयले खोप लगाएको फोटो नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।
सुनचाँदी व्यवसायी ठाकुरले आफू जानकी वृद्धाश्रमको उपाध्यक्ष रहेको र भिडभाडमा जानुपर्ने भएकाले खोप लगाएको बताए।
बृद्धाश्रमका ११ जनै पदाधिकारीले कोरोनाविरुद्धको खोप लगाएका छन्।
यता, अर्का सुनचाँदी व्यवसायी बलराम साहले जिल्ला स्वास्थ्य कार्यालयको खोप केन्द्रबाट खोप लगाएका छन्।
त्यस्तै, महोत्तरीको बर्दिवास अस्पतालको खोप केन्द्रमा समेत मापदण्डबाहिरका व्यक्तिहरूले खोप लगाएको पाइएको छ।
बर्दिवास अस्पतालको खोप केन्द्रमा श्री त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक धर्मेन्द्र महतोले समेत कोरोना खोप लगाएको तस्बिर सामाजिक सञ्जालमा हालेका छन्।
कतिपय जिल्लामा नेताहरूले समेत खोप लगाएका छन्। प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले निर्देशिका अनुसार नै खोप लगाइयोस् भन्नेमा आफूहरू विश्वस्त रहे पनि कुनै-कुनै स्थानमा मापदण्डबाहिर गएर खोप लगाइएको स्वीकार गरे।
‘स्वास्थ्यकर्मीका लागि ल्याइएको खोप व्यापारी, शिक्षक लगायतका अन्य व्यक्तिहरूले लगाउनु दुःखद् कुरो हो,’ उनले भने, ‘फिल्डमा खटिने कर्मचारीहरूको सबै विवरण लिएर मात्रै खोप लगाउन भने पनि भिडभाडमा त्यस्तो गर्न नसकेकाले पनि यस्तो त्रुटि भएको हुन सक्छ।’
यसअघि प्रदेश २ मा पहिलो खोप कार्यक्रम सुरू हुनै लाग्दा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले निर्देशिकाविपरीत खोप लगाएका थिए।
यसैगरी, प्रदेश २ मा पहिलो चरणको खोप अभियानमा २५ हजार ६ सय ३७ जनाले खोप लगाएका छन्। जुन लक्ष्यभन्दा कम रहेको छ। प्रदेश २मा ३४ हजार ८ सय ७ जनालाई कोभिड शिल्ड खोप लगाउने लक्ष्य लिइएको थियो।
प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले प्रदेशमा लक्ष्य लिइएकोमध्ये ७४ प्रतिशतले मात्रै खोप लगाएको जानकारी दिए।