नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागका प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङ मंगलबार बुटवलस्थित एक होटलमा भित्ताभरी ठड्याईएका विभिन्न चित्रहरुबारे बताइरहेका थिए।
हिन्दु र बौद्ध दर्शनमा आधारित विभिन्न देवी देउता र गौतमबुद्धलाई केन्द्रमा राखेर बनाइएका थाङ्का चित्रहरु हेर्दा जति आकर्षक थिए त्यो भन्दा बढी महत्व ती चित्रहरुको रहेको गुरुङ बुझाउँदै थिए।
शास्त्रीय विधिमा केन्द्रित रहेर बनाइने थाङ्का/पौभा कलालाई नेपालको मौलिक र परम्परागत कलाको रुपमा मानिन्छ। काठमाडाैं र भक्तपुरका नेवारी समुदाय र पहाडी क्षेत्रका तामाङ समुदायले थाङ्का चित्रको महत्व बुझेपनि नेपालका अरु समुदाय यसको महत्वबारे कमै जानकार होलान्।
पुर्वीय दर्शनमा आधारित हिन्दु र बुुद्ध दर्शनका देवीदेउता तथा परम्परागत विभिन्न डिजाइनका बुट्टा अंकित मौलिक कला थाङ्काको महत्व बुझाउन बुटवलमा सामुहिक चित्रकला प्रदर्शनी, शिल्पकला यात्रा आयोजना गरिएको थियो।
सोही प्रदर्शनीमा अवलोकनको लागि पुग्ने कलाप्रेमीलाई गुरुङले थाङ्काबारे जानकारी गराइरहेका थिए।
दुई दिनसम्म चलेको चित्रकला प्रदर्शनीमा दुई दर्जन बढी कलाकारले बनाएका बुद्धदर्शन र हिन्दु दर्शन सम्बन्धी देवी देउताका ३५ वटा चित्रहरु राखिएका थिए।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागले देशका ७ वटै प्रदेशका विभिन्न ठाउँमा दुई वर्षदेखि प्रदर्शनी गर्दै आएको छ। यसवर्ष लुम्बिनी प्रदेशको बुटवलपछि गण्डकी प्रदेशको स्याङजामा प्रदर्शनी आयोजना गरिने गुरुङले जानकारी दिए।
प्रतिष्ठानका प्राज्ञ गुरुङले बौद्ध धर्ममा थाङ्काको महत्व धेरै रहेपनि आधुनिकता र डिजिटल प्रविधिको विकासका कारण लोप हुन लागेकोले प्रदर्शनी आयोजना गरिएको बताए।
‘जापान, चीन, कोरिया, अमेरिका लगायत विदेशका संग्रहालयमा सजाएर राखिने थाङ्काको महत्व नेपालमा बुझाउन सकिएको छैन,’ उनले भने ‘काठमाडौं र भक्तपुरका नेवारी समुदाय र मुगु, मुस्ताङका तामाङ समुदायले थाङ्का सजाएर राख्ने गरेपनि अरु क्षेत्रमा यसको महत्व उजागार हुन सकेको छैन।’
आधुनिकता र डिजिटल प्रविधिको पछि लाग्दा नेपाली पहिचानलाई जोगाई राख्ने शिल्पकला नै लोप हुने अवस्थामा पुगेकोमा उनले चिन्ता व्यक्त गरे। ‘नेपाली परम्परा र कला संस्कृति ऐतिहासिक सम्पत्ति हुन्, तिनीहरुको संरक्षणका लागि प्रदर्शनी आयोजना गरिएको हो’ गुरुङले भने।
प्रदर्शनीमा दिवंगत प्रसिद्ध कलाकार आनन्दमुनि शाक्यको अवलोकेश्वर, धनबहादुर चित्रकारको महादेव, माणिकमान चित्रकारको गुह्जेश्वरी, सिद्धिमुनि शाक्यको पदमपानी लोकेश्वर, ज्ञानकर बज्राचार्यको प्रचण्ड भैरव र दीपककुमार जोशीको लक्ष्मी लगायतका कृतिहरु राखिएका थिए।
त्यस्तै कलाकारहरु अमृत डंगोल, उजय बज्राचार्य, दिनेश चरण श्रेष्ठ, कृष्णराम धेमसु, उदय चरण श्रेष्ठ, न्हुछेकाजी बज्राचार्य, पाल्साङ्मो लामा, निमा लामा ग्याम्छो, पूर्ण प्रसाद ह्योजु, जिग्मे तामाङ, सूर्यबहादुर चित्रकार लगायतका कला प्रदर्शनीमा सजिएका थिए।
प्रदर्शनीमा सहभागीहरुले थाङ्का, पौभा कलाका कृतिबारे नेपाली समाजले बुझ्न नसक्दा महत्व घटिरहेको गुनासो गरे। भक्तपुरका रत्नगोपाल सिख्वालले विदेशमा थाङकाको महत्व बुझेपनि नेपाली कला र संस्कृतिबारे नेपालीलाई नै बुझाउन नसकिएको बताए।
सामान्य चित्रहरु दुई तीन घण्टामै बनाउन सकिने भएपनि थाङ्का बनाउन एक वर्षसम्म लाग्ने उनको भनाइ छ। पुर्वीय दर्शनमा आधारित थाङ्का कला नेपालमा ११ औं शताब्दि अघिदेखि नै प्रयोगमा आउने गरेको भएपनि पश्चिमी दर्शनको प्रभाव बढ्दै गर्दा लोप हुँदै गएको छ।
चित्रकला र मुर्तिकलाबारे जानकार यमबहादुर थापाले एउटै थाङ्कालाई एक करोड रुपैयाँसम्म मूल्यमा विक्री हुने गरेपनि त्यसबारे प्रचार हुन नसकेको गुनासो गरे। कतिपय थाङ्कामा सुन, चांदीको लेपन हुने भएकोले शिल्पकला विभागले प्रदर्शनीमा चित्रको फोटो राख्ने गरेको उनले बताए।
नेपाली थाङ्काकलाको प्रमुख बजार चीन भएपनि अमेरिका, यूरोप, क्यानडा, जापान, ताइवान लगायतका देशमा नेपाली चित्रकलाको माग राम्रो रहेको गुरुङ बताउंछन्। उनका अनुसार वार्षिक ५० करोड भन्दा बढी रुपैयाँका नेपाली चित्रकला विदेशमा विक्री हुँदै आएका छन्।