धाडिङमा सवारी दुर्घटना हुँदा बुवा-छोराको मृत्यु भएको छ।
थाक्रे गाउँपालिका-८ चारकिलोको पेट्रोल पम्पनजिकै बिहीबार दिउँसो पौने १ बजे मोटरसाइकल दुर्घटना भएको हो।
धाडिङबाट काठमाडौं आउँदै गरेको बा प्र ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल बसलाई ओभरटेक गर्नेक्रममा ट्रकसँग ठोक्किएको थियो।
ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी निरीक्षक रूपा थापाले जानकारी दिइन्।
मृतकहरू निलकण्ठ नगरपालिका-५ बस्ने ५९ वर्षीय बुवा बलराम अधिकारी र छोरा ३४ वर्षीय डा. सुरेश अधिकारी छन्।
'ट्रकमा ठोक्किन गयो र पछि आगलागी भयो। छोराको आगलागीका कारण मृत्यु भएको देखिन्छ। बुवाको भुइँमा बजारिएर मृत्यु भएको देखिन्छ,'प्रहरी निरीक्षक थापाले भनिन्।
प्रहरीले घटनापछि दुबैलाई काठमाडौंको टिचिङ अस्पताल पुर्याएको थियो। तर चिकित्सकहरूले उनीहरू दुबैलाई मृत घोषणा गरेको थापाले बताइन्।
दुर्घटनामा मृत्यु भएका सुरेश अधिकारी एमबिबिएस डाक्टर हुन्। प्रहरीले घटनास्थलबाट उनको मेडिकल काउन्सिलका कागजपत्र भेटाएको छ।
उनी दुई महिनादेखि धाडिङको सिद्धलेक गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा कार्यरत थिए। सुरेशलाई गाउँपालिकाले तीन महिनाको लागि नियुक्ति दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद सिलवालले जानकारी दिए।
सो अस्पतालमा कार्यरत उनी आफ्ना बुवासहित बिहीबार काठमाडौंको घरमा फर्किन लागेका थिए।
'उहाँहरूको काठमाडौंको कलंकीतिर घर पनि छ। परिवार सबै उतै बस्नुहुन्थ्यो,'संयोजक सिलवालले भने,'भोलि र पर्सि उहाँको अस्पतालमा बिदा थियो। त्यसैले काठमाडौं जाँदै हुनुहुन्थ्यो।'
गाउँपालिकाले कोभिड अस्पतालमा दुई जना स्टाफ नर्स र एक जना डाक्टरलाई नियुक्ति दिएको थियो।
सुरेशका बुवाले धाडिङमा कपडाको व्यापार गर्थे।