काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ भिराडिलबाट एक युवकले बल्खु खोलामा हाम फालेका छन्।
आइतबार दिउँसो पौने ४ बजे कीर्तिपुर-नैकाप जोडिने झुलुङ्गे पुलमुनि रहेको भिराडिल पार्कबाट एक युवकले हाम फालेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
परिसरका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार २२ वर्षीय युवकले सो पार्कको रेलिङबाट बल्खु खोलामा हाम फालेका हुन्। उनी चन्द्रागिरि नगरपालिका-१३मा बस्ने युवक हुन्।
युवकले हाम फालेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी प्रभाग, नैकाप तथा महानगरीय प्रहरी वृत्त, कीर्तिपुरबाट टोली खटिएको थियो। स्थानीय तथा प्रहरी मिलेर ती युवकको उद्धार गरिएको छ।
उनको उद्धारपछि कलंकीको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
'अहिले उनी बोल्न सक्ने अवस्थामा छन्, उनको उपचार भइरहेको छ,' एसपी बस्नेतले भने।