भक्तपुरमा मिनीट्रकबाट झर्ने क्रममा चक्कामा परी एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ ६ बजे चाँगुनारायण नगरपालिका-२ झौखेलबाट ब्यासी जाँदै गरेको मिनीट्रकबाट एक पुरूष झर्ने क्रममा ट्रकको अगाडिको चक्कामा परी मृत्यु भएको हो।
बा २ क ९०९९ नम्बरको मिनीट्रकमै सवार रहेका ४२ वर्षीय सूर्यमान सुवाल झर्ने क्रममा ट्रकको बायाँतर्फको चक्कामा परी घाइते भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले बताए।
सुवाल घाइते भएपछि उनको उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचार गराई पौने ८ बजे धुलिखेल अस्पताल पठाइएको थियो।
त्यस्तै, त्यहाँबाट पनि राति नै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रिफर गरिएको थियो।
सो अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान पौने १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी गिरीले बताए।
सवारी चालक रामेछाप दोरम्बा घर भई चाँगुनारायण-२ झौखेल बस्ने ४५ वर्षीय सन्तवीर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मिनीट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।